३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

भारत पनि अहिले फेस सेभिङ चाहन्छ

सामयिक नेपाली राजनीतिबारे हालसालै 'लस्ट इन ट्रान्जिसन' नामक पुस्तक सार्वजनिक गरेका राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले विश्वका धेरै देशको संघीय मोडल अध्ययन गरेका छन् । नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका गौतमले नयाँ संविधान घोषणासँगै नेपालमा उत्पन्न प्रादेशिक विवाद, भारतको नाकाबन्दी र मधेस आन्दोलनबाट उत्पन्न मानवीय संकटमा अन्तर्राष्ट्रिय समुदायका भूमिकाबारे उनी के भन्छन् ? नागरिक दैनिकका लागि विश्वास बराल, महावीर पौडेल र मणि दाहालले मंगलबार साँझ उनीसँग गरेको कुराकानी:


संविधानमा गरिएको मधेसको सीमांकनविरुद्ध अहिले भइरहेको आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

पछिल्ला केही वर्षयता मैले रिपब्लिका दैनिकमा निरन्तर लेख्दै आएका संघीयतासम्बन्धी लेख यहाँ स्मरण गराउन चाहन्छु । नेपालमा संघीयता सहज रुपमा अघि बढ्दैन कि भन्ने त्रास थियो । पछिल्ला घटनाले मेरो त्यही दाबीलाई सही साबित गरेको छ । संघीयता विवादले पहिलो संविधानसभा भंग गरायो र दोस्रोलाई पनि नराम्रोसँग प्रभावित गरेको छ । नेपालका केही क्षेत्रमा संघीयताका कारण अशान्ति छ र सबै समस्याको कारण बन्न पुगेको छ । व्यक्तिगत रुपमा संघीयतामा मेरो समर्थन पनि छैन र विरोध पनि छैन ।

नेपालले संघीयता नभईकन पनि राम्रो गर्न सक्ने भनाइ हो तपाईंको ?

प्रजातन्त्र, मानवअधिकार र बहुलताको जस्तो संघीयताको विश्वव्यापी प्रारुप नै छैन । प्रजातन्त्र, मानवअधिकार र बहुलताका विश्वव्यापी मापदण्ड छन् । यो राजनीतिक छनोटको विषय हो । तपाईं संघीयताको समर्थन वा विरोध गर्न सक्नु हुन्छ । संघीय देश हुँदा प्रगतिशील वा कम प्रगतिशील हुने भन्ने होइन । नेपालमा संघीयताको विषयमा चर्चा गर्दा धेरै नै अतिरञ्जना गरिएको देखिन्छ ।

पहिचान, क्षेत्रीय वा जातीय आधारमा संघीयता हुनुपर्ने ठान्ने समूहहरुले नै संघीयताको चर्को वकालत गरेका थिए । शीतयुद्ध युगको समाप्तिपछि धेरै देशले पहिचानमा आधारित संघीयता रोजे । उनीहरुले केन्द्रीकृत शासनका समस्यालाई यसले समाधान गर्ने ठानेका थिए । तर तथ्यहरु हेर्ने हो भने पहिचानका आधारमा संघीयता निर्माण गरेका देशहरुले विकासका क्षेत्रमा मिश्रित वा पूर्णता नकारात्मक परिणाम पाएका छन् । केहीले मात्रै सफलता प्राप्त गरेका छन् । तत्कालिन सोभियत संघ अन्तर्गतका देश, युगोस्लाभिया, स्लोभानिया र क्रोएसियाले राम्रो गरेका छन् । अन्यमा भने नराम्रोसँग असफल भएका छन् । यसमा बोस्निया सबैभन्दा नराम्रो उदाहरण हो । त्यहाँ तीनवटा राष्ट्रपति छन् । उनीहरुमध्ये को पहिलो भन्ने विषयमा संघर्ष छ । उनीहरुको शक्तिको बाँडफाँट, राष्ट्र संघ र युरोपेली संघमा बढी शक्ति कसले प्रयोग गर्ने विषयमा विवाद छ । एक समयमा बोस्नियामा देशको कुल बजेटको ८० प्रतिशत खर्च प्रशासन चलाउनै हुने गरेको थियो । संघमा जाँदा उनीहरुले सर्ब प्रहरी र बोनिस्याली प्रहरी गरी फरक इकाइ सिर्जना गरेका थिए । त्यस्तै प्रशासनकीय इकाइ बनाइएको थियो । त्यस्ता उदाहरण नाइजेरिया र इथोपियामा समेत थियो । नेपालमा पनि पहिचानमा आधारित संघीयता समाधान नभई समस्याको एउटा पाटो बन्ने अवस्था आउन सक्छ ।

मधेसी मोर्चाले भनेजस्तो गरी प्रदेशको सीमांकन गर्ने हो भन्ने नेपालमा पनि त्यस्तै प्रकारको जोखिम आउँछ त ?

सुशासन, कानुनी राज, मानवअधिकार र आर्थिक समृद्धि हुँदा एकात्मक वा संघीय जुनसुकै प्रणालीले राम्रोसँग काम गर्न सक्छ । त्यसैले देश संघीय वा एकात्मक भन्ने मेरालागि कुनै पनि विषय होइन । जसले छुट्टै मधेस प्रदेश माग गरेको भन्छ । उनीहरुले भन्ने गरेका छन्– सिद्धान्ततः पहाडी बाहुनक्षत्री सम्भ्रान्तको बोलवाला हटाउन यो चाहिएको हो । उनीहरु यो कुरामा सफल पनि हुन सक्छन् । तर पहाडी सम्भ्रान्तको स्थान मधेसी सम्भ्रान्तले प्रतिस्थापन गर्ने डर छ । यसमा आम मधेसी विजयी हुने सम्भावना अति नै कम छ । प्रारम्भिक संकेतहरु पनि सकारात्मक छैनन् । जसले पहिचानका आधारमा संघीयताका माग उठाएका छन्, उनीहरुका आँखा शीर्ष पदहरुमा रहेको छ । उनीहरुको चासो मन्त्री, न्यायाधीश, सांसद, राजदूतहरु कति बढी आफ्नो समुदायको बनाउने भन्ने मात्रै छ । त्यसले आम मधेसीको जीवनमा कुनै फरक पार्ने छैन ।

मधेसमा चाहिएको ५० हजार मधेसी प्राथमिक विद्यालयका शिक्षक हुन्, ४० हजार मधेसी नर्स, सुढेनी र स्वास्थ्य कार्यकर्ता हुन् । हाम्रो ध्यान तल्लो तहबाट निर्माण गर्ने हुनुपर्छ । हामीले स्थानीय निकायको निर्वाचन गर्नुपर्छ जसले ग्रास रुटका जनताको आवाज सुनोस् । मधेसी पार्टीहरुले यसलाई मुख्य एजेन्डा बनाएको मैले देखेको छैन । कुनै जातीय समुदायको मन्त्री हुँदैमा त्यसले यथार्थमा ताŒिवक अन्तर आउँछ भन्ने लाग्दैन । बाबुराम भट्टराई नेतृत्वको सरकारमा बहुमत मन्त्रीहरु मधेसी नेता थिए । त्यसले आम मधेसीको जीवनमा के फरक बनायो त ?

केहीले मधेस आन्दोलनलाई विखण्डनसँग जोडेर हेर्ने गरेका छन् । त्यसमा यथार्थ देख्नुहुन्छ ?

स्पष्टसँग भन्दा मलाई यो तर्कले तान्न सकेको छैन । तर मधेसको अहिलेको अवस्थाले श्रीलंकामा भएको जस्तो अवस्था पु¥याउँछ कि भन्ने चिन्ता हो । आम मधेसी मोडरेट र यथार्थपरक छन् । तर अतिवादीहरुले उग्र नारा लगाउने गरेका छन् । उनीहरुले मधेसमा नरसंहार भयो, जातिवादी भयो भन्ने गरेका छन् । त्यो धेरै नै अतिरञ्जन हो । यस्तो अतिरञ्जन लामो समयसम्म गयो भने सिके राउत र अन्यले फाइदा लिन सक्छन् । यस्तो अतिरञ्जनाहरुको समयमै प्रतिवाद हुनुपर्छ ।

जनजाति र मधेसीमाथि विगतमा भेदभाव भएको सही हो तर नयाँ संविधानले रंग र जातका आधारमा कुनै प्रकारको भेदभाव गरेको छैन । संविधानविरुद्ध ठूलो नै अतिरञ्जन खडा गरिएको छ । अतिरञ्जनामा आधारमा जनताको भावनालाई बढाउने कुरा धेरै नै खतरनाक हो । त्यसैले संविधानबारे शान्त रुपमा छलफल आवश्यक छ । हामीले भविष्यको सम्भावनालाई हेर्नुपर्छ । विगतको कुरालाई हेर्ने र बदलापूर्ण हुनु हुँदैन ।

तर आन्दोलनकारी शक्तिले राज्यको सीमांकन पहिचानमा महत्वपूर्ण हुने बताएका छन् ?

पहिचान २१ औं शताब्दीको महŒवपूर्ण विषय होइन । हामी जुनसुकै जातिको भए पनि सबै जना हाम्रो सन्ततिको समृद्ध भविष्यका लागि राम्रो शिक्षा, स्वास्थ्य सेवा चाहन्छौं । उनीहरु एउटा सानो जातीय समूहको नेता हुन् भन्ने चाहन्नौं । उनीहरु विश्वका नागरिक हुन् भन्ने चाहन्छौं । यो विश्वव्यापीकरण हुँदै गएको संसारमा जातीय र पहिचानको विषय स्थायी हुँदैन । समृद्धि नै हाम्रा छोराछोरी र नातिनातिनाको पहिचान हो । मधेसको मात्रै प्रदेशले यो कुराको सुनिश्चित गर्छ भने ठिक छ तर यस्तो होलाजस्तो लाग्दैन । यो यथार्थपरक हुनुपर्छ । मधेस, पहाड र मधेस अन्तरनिर्भर र अन्तरसम्बन्ध छ । पहाडले मधेसको कृषिको सम्भाव्यताबाट फाइदा लिनुपर्छ, मधेसले पहाडको जलविद्युत सम्भाव्यताबाट फाइदा लिनुपर्छ र तीनवटै क्षेत्र हिमालका पर्यटनबाट फाइदा लिनुपर्छ । पहाड, हिमाल र मधेसबाट सहकार्यबाट जनताको खुसी, समृद्धिलाई कसरी धेरै बनाउने, वातावरण संरक्षण गर्ने कुरामा ध्यान दिनुपर्छ । यो विषय मधेसमा एक वा दुई प्रदेश कति हुने भन्दा धेरै नै महत्वपूर्ण हो । अहिलेको अवस्थामा प्रदेश सीमांकन जसरी भए पनि आगामी २० वर्षमा अहिलेको सीमांकन परिवर्तन पूर्णता हुन्छ भन्नेमा बाजी राख्छु किनभने त्यो बेलासम्म हामी परिपक्व भइसकेका हुनेछौं र हाम्रो अत्यधिक प्रगति कसरी हुन्छ भन्ने कुरा हेर्छौं । भावना निकै उच्च भएकाले अहिले कुनै पनि विषयमा सघन छलफल हुन सक्दैन । भावना निकै बढी भएको समयमा राम्रो निर्णय हुँदैन । हामी भावनामा धेरै बहकिएकाले धेरै गल्ती गर्नेछौं । हिंसा र द्वन्द्व कम गर्न अहिलेको अवस्थामा हामीले सहमति गर्न आवश्यक छ । यसले कसरी काम गर्छ, केही वर्ष अहिलेको अभ्यास हुन दिऊँ । भावनालाई मत्थर हुन दिऊँ । मानिसहरुले यथार्थपरक रुपमा सोच्न थाल्छन्, केही वर्षभित्रै अहिलेको संघीय ढाँचामा पुनर्विचार गर्न थाल्छन् ।

भारतले गरेको नाकाबन्द र नेपालको संविधान निर्माण प्रक्रियामा भारतको हस्तक्षेपलाई कसरी लिनुभएको छ ?

यो निश्चित रुपमा नाकाबन्दी नै हो तर यो काम भारतको ठूलो डिजाइनअनुसारका नेपालविरुद्ध नाकाबन्दीको अस्त्रको रुपमा गरेको हो भन्ने षडयन्त्रको सिद्धान्तमा विश्वास गर्दिनँ । भारतले हामीबाट के चाहेको छ भन्ने कुरा हामी सबैलाई छर्लंग छ । यो गोप्य छैन । भारतको नेपालमा तीन विषयमा स्वार्थ छ । पहिलो, उनीहरुको सुरक्षा प्रभावित हुने भएकाले नेपालमा राजनीतिक स्थायित्व चाहन्छन् । दोस्रो, उनीहरुको नेपालको जलस्रोतमाथि स्वार्थ छ । भारतलाई समेत फाइदा पुग्ने गरी अन्तरनिर्भर हुने गरी विकास गरिनुपर्छ । म यसमा पनि कुनै प्रकारको षडयन्त्र देख्दिनँ । आफ्नो स्वार्थ संरक्षणका लागि स्मार्ट र राम्रो सहमति गर्न आवश्य छ । अन्तिम, उनीहरुको सुरक्षाको स्वार्थ छ । नेपालले यस विषयमा पनि खुला रुपमा छलफल गर्नुपर्छ ।

नेपालले यो चासोमाथि कुनै प्रकारको समस्या सिर्जना गरेको छैन । वास्तवमा नयाँ संविधान निर्माणले देशमा स्थिरता र विकासका नयाँ अध्याय सुरु हुने हो नि ?

नेपालको संविधानबारे भारतमा गलत व्याख्या भएको देखिन्छ । भारत, मधेसी मोर्चा र सरकार कसैले पनि नाकाबन्दी आजको दिनसम्म रहन्छ भन्ने सोचेका थिएनन् । हामी एउटा गतिरोधको अवस्थामा छौं । समस्या चर्किएको छ, सबै आफ्नो अडानमा छन् र बैठानका लागि समस्या छ । सबै अहिले आफ्नो अडानबाट पछि हट्न चाहेका छन् । भारतले पनि यो परिस्थिति यतिको बिग्रेला भन्ने अपेक्षा नगरेको हुन सक्छ । आआफ्नो अडानमा कायम रहेकाले अहिलेको भद्रगोलबाट पछि हट्न सबैलाई 'फेस सेभिङ' चाहिएको छ । मलाई अहिलेसम्म भारतले लेखाजोखा गरेर नेपालमा समस्या सिर्जना गरेको जस्तो लाग्दैन । भारत विश्वको नेता हुने चाहना राख्छ, चीन, अफ्रिका र ल्याटिन अमेरिकासँग लगानीमा प्रतिस्पर्धा चाहन्छ । उनीहरुसँग नेपालविरुद्ध षडयन्त्र गर्ने समय छैन । यो नाकाबन्दी र हस्तक्षेप शृंखलाबद्ध गलत अनुमान र नेपालको संविधानबारे गलत व्याख्यासहितको अतिरञ्जनाको परिणाम हो ।

व्यक्तिगत रुपमा संविधानलाई कसरी मूल्याकंन गर्नुभएको छ ?

एउटा विषयमा मात्रै मेरो विमति छ । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिला र नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषको बारेमा रहेको व्यवस्थामा असमानता छ । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता प्राप्त गरिहाल्छिन् भने नेपाली महिलासँग बिहे गर्ने पुरुषले एउटा निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । नागरिकताको यो व्यवस्था विभेदकारी हो । निष्पक्ष रुपमा छलफल गर्दा हाम्रो संविधानमा अरु कुनै पनि व्यवस्था विभेदकारी छैन । वास्तवमा हाम्रो संविधान भारत र अन्य देशको भन्दा निकै प्रगतिशील छ । मधेसविरुद्ध विभेद छ भनेर भारतले गलत रुपमा व्याख्या भएको छ । संविधानले पहाडका बाहुन÷क्षत्री मात्रैलाई स्वार्थरक्षा गरेको छ । मधेसीलाई सिमान्तीकृततर्फ ढल्कन्छ भन्ने व्याख्या भएको छ । यसमा नेपालमै काम गरिसकेका भारतका कूटनीतिज्ञहरुसमेत गलत व्याख्याको जालमा फसेका छन् । मलाई आश्चर्यमा पारेको छ ।

नाकाबन्दीका कारण नेपालले मानवीय संकट समाना गरिरहेको छ । यसबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियालाई कसरी हेर्नुभएको छ ?

अन्तर्राष्ट्रिय समुदायले विज्ञप्ति निकाल्ने र चासो व्यक्त गर्ने भन्दा बढी नै गर्नुपथ्र्यो तर भारत विश्वको उदाउँदो शक्ति र ठूलो बजार भएका कारण त्यस्तो हुन सकेन । विश्वका विभिन्न देश भारतसँग सम्बन्ध बनाउन चाहन्छन् । नेपालका लागि भारतसँग उनीहरु आफ्नो सम्बन्ध बिगार्न चाहँदैनन् । उनीहरु भारतसँग राम्रो सम्बन्ध राख्न चाहन्छन् । त्यही कारण अन्तर्राष्ट्रिय समुदायले भारतविरुद्ध कडा शब्द प्रयोग नगरेका हुन् । अन्तर्राष्ट्रिय समुदायलाई नेपालको महिला र पुरुषको नागरिकतामा रहेको असमान व्यवस्थासँग खुसी छैनन् । हाम्रो सविधानमा त्यो व्यवस्था हुँदैनथ्यो भने अन्तर्राष्ट्रिय समुदायले नेपाललाई दह्रोसँग सहयोग गर्थे ।

त्यसो भन्दैमा अन्तर्राष्ट्रिय समुदायले नबोलेको भने होइन । राष्ट्रसंघीय निकायले कडा विज्ञप्ति जारी गरेका छन् । बान की मुनले नेपालको पारवहन र व्यापारको अधिकार र समुद्रसम्म पहुँचलाई सम्मान हुनुपर्ने स्पष्ट जोड दिएका छन् । उनीहरुले त्यहाँ भारत नभने पनि त्यो सन्देश स्पष्ट छ । अन्तर्राष्ट्रिय समुदायले विज्ञप्तिबाट भारतमा कुनै प्रभाव नपरेको भने, त्यो यथार्थ हो । भारतले नेपाली जनता, राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय निकायको आपत्तिमा धेरै ध्यान दिएको छैन । तर भारतमा आन्तरिक रुपमा उठेको आवाजप्रति भारतले ध्यान नदिइहन सक्दैन । भारतीय राजनीतिज्ञले नेपाल मामिलामा उनीहरुको व्यवहारको कुरा उठाउन थालेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुको कुरा नसुनी सुखै छैन । किनभने अर्को निर्वाचनमा त्यसको प्रभाव पर्ने सम्भावना हुन्छ । भारत पनि नेपालसँगको अहिलेको अडानबाट तल झर्ने कुनै प्रकारको भ¥याङ खोजिरहेको जस्तो मलाई लाग्छ । हामीले मधेसी मोर्चासँग कुनै प्रकारको सम्झौता गर्न सके नाकाबन्दी हट्नेछ । भारतले त्यस्तो अवसर खोजेको छ ।

नेपाल सरकारले वर्तमान संकटलाई अन्तर्राष्ट्रियकरण गर्न असफल भएको हो ?

यो आंशिक सत्य हो । नेपालको संकट कुनै पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा शीर्षक बन्न सकेको छैन । यो संकटको बिबिसी र सिएनएनजस्ता सञ्चार माध्यममा हेडलाइन बन्यो भन्ने यसको विश्वव्यापी ध्यानाकर्षण हुन्छ ।

सरकार किन असफल भयोजस्तो लाग्छ ?

नेपालमा सरकार निकै असफल भयो र हामीले सामना गरिरहेको समस्याको हामीले जरा पहिल्याउने कोसिस गर्नुपर्छ । 'लस्ट इन ट्रान्जिसन' मा मैले यही विषय ल्याउने कोसिस गरेको छु । नेपाल अन्तर्राष्ट्रिय मञ्चमा किन असफल भयो ? संकटको समयमा पनि हामीले विश्वको ध्यान किन खिच्न सकेनौं ? कसरी अहिलेको अवस्था आयो ? यस्तो प्रश्नको उत्तर मैले दिएको छ । यसको शीर्षकले नै भन्छ, एकपछि अर्को संक्रमणमा हामी हराउँदै गएका छौं । यो प्रक्रियामा हामीले हाम्रो प्रजातान्त्रिक र सरकारी संस्थालाई बाबजुद बनाउन असफल भयौं । हामीकहाँ प्रजातन्त्र औपचारिक मात्र भयो, परिपक्व र सक्रिय प्रजातन्त्र चाहेका हौं । डेढ दशकदेखि हाम्रोमा स्थानीय चुनाव हुन सकेको छैन । हाम्रा सबै संस्था कमजोर बनेका छन् । यस्तो अवस्थामा केले पु¥यायो ? हाम्रोमा अहिले सिन्डिकेट र कार्टेलहरुको शासन छ । यो वर्ष हामीले भौगर्भिक भुइँचालो देख्यौं तर हिंसालाई संस्थागत गर्ने माओवादीका मानवनिर्मित भुइँचालो एक दशकसम्म झेल्यौं । त्यसैले हामीले नेपाललाई माओवादी विद्रोह र भूकम्पको क्षतिबाट पुनर्निर्माण गर्न आवश्यक छ ।

प्रकाशित: १ पुस २०७२ २१:०५ बुधबार