२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेका छन्। उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएका हुन्।

यहाँ हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र यहाँ धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएका हुन्।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सम्वाददाताहरुसँग उनले सो कुरा बताएका हुन्। उनले भनेका छन्, 'इथियोपियामा हिंसा बढी भयो। यहाँ हिंसा तथा विध्वंस गरेर कसैले पनि केही प्राप्त गर्न सक्दैनन् र यो बाटोबाट कसैको समस्या पनि समाधान हुँदैन। अब हिंसा रोक्नुपर्छ र शान्तिपूर्ण माध्यमबाट अघि बढ्नुपर्छ।'

संयुक्त राष्ट्रसङ्घले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताएका थिए। उनले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको पनि बताए।

उनले इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई आग्रह पनि गरे। उनले सम्वाददाताहरुसँगको कुराकानीका क्रममा भने,  'संयुक्त राष्ट्रसङ्घले अफ्रिकी युनियनलाई जे जस्तो आवश्यक पर्छ त्यो सहयोग गर्न तयार छ, यो समस्याको शान्तिपूर्ण तरिकाबाट वार्ता गरेर समाधान खोजोस्।'

त्यहाँ हिंसाका कारण कैयौँ मानिसको ज्यान गएको छ भने भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ। इथियोपियाको टिगरे क्षेत्रमा जारी रहेको हिंसाकाकारण अहिले पनि कम्तीमा १३ मिलियन नागरिकलाई मानवीय सहयताको खाँचो रहेको छ।

प्रकाशित: १ कार्तिक २०७९ ०८:२८ मंगलबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस इथियोपियामा हिंसा