२५ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘खुट्टा कमाए परिणाम भयावह हुन सक्छ’

महासचिव एन्टोनियो गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन रोक्न वैज्ञानिक तथा सर्वसाधारणको माग र विश्वका विभिन्न देशका सरकारको कामबीच डरलाग्दो खाडल रहेको बताएका छन्। विश्वमा तापमान वृद्धिका लागि जिम्मेवार मानिएको हरितगृह ग्यासको उत्सर्जनलाई यही दशकमा ४५ प्रतिशतले घटाउनुपर्नेमा यो १४ प्रतिशतले बढ्न सक्ने देखिएको उनले बताए।  

‘वैज्ञानिक र सर्वसाधारणले जलवायु परिवर्तनलाई सम्बोधन गर्न गरेका माग–पहलकदमी र वास्तविकताबीच खतरनाक खाडल देखिएको छ,’ अस्ट्रियामा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा गुटेरेसले भने। उनले जलवायु परिवर्तनका असर कम गर्न विश्वका कतिपय देशका सरकारले खुट्टा कमाउँदाको परिणाम भयावह हुन सक्ने बताए।  

युक्रेन–रुस युद्धले खनिज इन्धनको माग दुईगुना बढेको चर्चा गर्दै उनले यसले विश्वको तापमानलाई झन् बढाएको बताए। ‘खनिज इन्धन उत्खनन र उत्पादनमा गरिएको नयाँ लगानी झन् दुःखदायी छ। यसले प्रदूषण र जलवायु संकटलाई झन् भयानक पार्नेछ,’ क्यालिफोर्नियाका पूर्वगभर्नर अर्नाेल्ड स्वार्जनेगरले सुरु गरेको अस्ट्रियन वर्ल्ड समिटलाई दिएको एक भिडियो सन्देशमा गुटेरेसले भनेका छन्।  

उनले सन् २०४० सम्म कोइलाको प्रयोग बन्द गर्न र सौर्य तथा वायु शक्ति जस्ता नविकरणीय उर्जाले खनिज इन्धनलाई विस्थापन गर्न विश्वका देशहरूलाई आह्वान गरेका छन्। ‘नविकरणीय ऊर्जा एक्काइसौं शताब्दीको शान्ति योजना हो,’ उनले भने।  

वातावरणीय प्रदूषणविरुद्ध अभियान चलाउदै आएका पूर्वगभर्नर स्वार्जनेगरले युक्रेन–रुस युद्धले विश्वलाई खनिज इन्धनको प्रयोग बन्द गर्न थप कारण दिएको चर्चा गरे। युरोपले ऊर्जा खरिदका लागि रुसलाई यो वर्षको सुरुका दुई महिनामा अर्बौं अमेरिकी डलर तिरेको तथ्यांकले देखाएको बताउँदै उनले भने, ‘हामीले जुन हिसाबले हेरे पनि हाम्रा हात रक्तिम छन् किनभने हामीले युद्धलाई वित्तीय सहयोग गरेका छौं। ‘हामीले खनिज इन्धनप्रतिको लगाव कम गर्नैपर्छ। हामी समस्याको होइन, समाधानको अंग बन्नुपर्छ। यो मामिलामा हामीलाई असफल हुने छुट छैन।’

प्रकाशित: ४ असार २०७९ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App