९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी ‘भाइ’ को निन्दा गर्न भारतीय अनिच्छुक

चेन्नाईमा पुथिया तामिलगम पार्टीका कार्यकर्ता रुसी आक्रमणको विरोधमा प्रदर्शन गर्दै।

नयाँदिल्लीका चियापसल र बाटोको छेउछाउमा खाना पाइने स्थानमा युरोपियन राजनीतिबारे खास छलफल हुँदैन। तर युक्रेन युद्धका बारेमा टेलिभिजन र पत्रपत्रिकामा प्रसारित र प्रकाशित सामग्री, युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिजस्ता कारणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आक्रमणको निन्दा गर्न दबाब बढ्दो छ। भारतीयहरू २८ सय माइल टाढा भइरहेको युद्धको परिणामको बारेमा चिन्तित देखिन थालेका छन्।

दिल्लीमा पसल चलाइरहेका राम अग्रवाल युद्धका कारण निर्दाेष नागरिकको मृत्यु भएकोमा दुखी छन्। तर उनी रुसको निन्दा पनि गर्दैनन्। सन् १९५० र १९६० को दशकमा हुर्केका अग्रवाललाई रुसी नेता निकिता ख्रुस्चेभले ‘हिन्दी–रुसी भाइ–भाइ’ भनेको र त्यति बेला भारत र सोभियत संघको सुमधुर सम्बन्ध रहेको राम्रो सम्झना छ। ‘म अहिले ७४ वर्षको भएँ। मेरो पिँढी हुर्कंदा हिन्दी–रुसी भाइ भाइ भन्ने थियो। पुरानो र प्रियमित्रलाई कसरी निन्दा गर्ने’, अग्रवाल भन्छन्।

यसैगरी इलेक्ट्रिसियन अरविन्द मौर्य पनि जारी युद्धका बारे समान धारणा राख्छन्। ‘युक्रेन रुसको अभिन्न अंग हो भन्न्ने सुनेको छु। त्यसको सम्मान गर्नुपर्नेमा नेटोले युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा ल्याउन खोजेको छ। तर युद्ध कसैका लागि हितकर हुँदैन। सर्वसाधारणलाई लक्षित गरेर रुसले गरेको बम विस्फोटले समस्याको समाधान हुँदैन। दुवै पक्ष बसेर वार्तामार्फत समाधान खोज्नुपर्छ’, उनी भन्छन्।

सडक र पसलभन्दा बाहिरको वृत्तमा पनि जारी युद्धका विषयमा प्रतिक्रिया बढ्दो छ। प्रजातन्त्रवादी र वामपन्थी दुवै धारका भारतीय युद्धका विषयमा एकमत छन्। पश्चिमा संस्कृतिप्रतिको वितृष्णा र परराष्ट्र नीतिलाई लिएर अमेरिकाको आलोचकसमेत रहेकाले उनीहरू यो विषयमा एकमत देखिन्छन्। युद्धले पश्चिमा राष्ट्रको दोहोरो भूमिकालाई प्रस्ट पारेको यी दुवै समूह ठान्छन्। अन्य राष्ट्रमा सत्ता परिवर्तन गराउन पश्चिमा राष्ट्रले समर्थन गर्ने तर रुसले गर्दा अन्यथा हुने तर्क उनीहरूको छ।

आफ्नो आलेखमा इन्स्टिच्युट अफ पिस एन्ड कन्फ्लिक्ट स्टडिजका सिनियर फेलो अभिजित आयर लाखौं बालबालिकाको मृत्युको जिम्मेवार मानिएको इराकविरुद्धको आक्रमणलाई पश्चिमाको समर्थन रहेको तर युक्रेन आक्रमण उनीहरूका लागि पाच्य नभएको तर्क गर्छन्। ‘युक्रेन आक्रमणमा हालसम्म २०० सर्वसाधारणको ज्यान गएको छ। यो संख्या अमेरिकाले अफगानिस्तान, इराक, सिरिया र लिबियामा गरेको आक्रमणमा भएको मृत्युको अनुपातमा नगण्य छ,’ आयर लेख्छन्।

युक्रेन र नेटोले उक्साएका कारण रुसले आक्रमण गर्नुपरेको तर्कलाई समर्थन गर्नेको संख्या ठूलो छ। भारतीय टेलिभिजनमा हुने छलफलमा पनि विज्ञ, राजनीतिज्ञ र पूर्व सैनिक अधिकारीको तर्क यही देखिन्छ। पूर्व एयर मार्सल रहेका विनोद भाटियाले नेटोले सोभियत नेता र पछि गएर पुटिनलाई पूर्वी क्षेत्रमा आफूले शक्ति विस्तार नगर्ने भनेर गरेको प्रतिबद्धताको अवज्ञा गरेका ठान्छन्। क्रेमलिनको तर्क पनि यही छ। तर नेटोले यसप्रकारको सम्झौता नभएको बताउँदै आएको छ। ‘पुटिनसँगसँगै पश्चिमा राष्ट्र पनि यो रोक्न सकिने र अनावश्यक युद्धका लागि जिम्मेवार छन्,’ भाटिया भन्छन्। पश्चिमा राष्ट्रले अझै पनि रुससँग तेल र ग्यास खरिद गरिरहेका प्रसंग उल्लेख गर्दै भारतले रुसलाई प्रतिबन्ध लगाउन माग गरिनु ढोङ भएको कतिपयको तर्क छ।

‘युक्रेनलाई नेटोको सदस्य बनाउने अमेरिकी चाहनाको मूल्य भारतले किन तिर्ने ? अमेरिकी प्रतिबन्धले हामीलाई समेत दुःख भएको छ। अनि हामीले अमेरिकीको समर्थन गर्नुपर्ने ?’ भारतका पूर्व विदेश सचिव कानवल सिबल टाइम्स अफ इन्डियामा लेख्छन्।

यही आम धारणाका कारण भारतीय प्रधानमन्त्री केही मात्रामा दबाबमा देखिन्छन् तर कतिपय पत्रिकाले सम्पादकीयमा भारतको दृष्टिकोण ‘दुखद र अस्थिर’ रहेको उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघको सभामा रुसलाई निन्दा गर्ने प्रस्तावमा भारत अनुपस्थित रहेको छ भने वार्ताबाट समस्याको समाधान हुनुपर्ने माग गरेर पश्चिमा राष्ट्रलाई केही खुसी पार्न चाहेको छ।

तर भारतले खोजेको यो सन्तुलित प्रतिक्रियाप्रति अमेरिका र पश्चिमा राष्ट्र खुसी छैनन्। गत साता अमेरिकी राष्ट्रपति वाइडेनले भारतको अवधारणा ‘अस्थिर’ रहेको बताएका थिए। रणनीतिक मामिला विज्ञ ब्रम्हा चेलाने भारतीय सीमाक्षेत्रमा चिनियाँ आक्रमण हुँदा अमेरिका र पश्चिमा राष्ट्रले भारतको पक्षमा नबोलेका प्रसंग उल्लेख गर्छन्।

‘सीमाक्षेत्रमा चिनियाँ आक्रमणलाई भारतले थेग्न परेको छ। एकातिर भारतको प्रतिक्रियालाई अमेरिकाले अस्थिर भनेको छ तर यो युद्धलाई उसले उक्साएको छ,’ चेलाने आफ्नो ट्विटमा भन्छन्। पुटिन र रुसलाई ‘दुष्ट’ संज्ञा दिन भारतीय अनिच्छुक छन्। भारतीयहरू रुस होइन, चीनलाई ठूलो शत्रु ठान्छन्।

आफ्नो लेखमा पार्सा भैन्केटेश्वर रायो जुनियर अमेरिकाले पुटिनलाई ‘सद्दाम हुसेन’ र ‘युद्ध अपराधी’ भन्न नमिल्ने र यसले वार्ताको वातावरण बिथोल्ने तर्क गर्छन्। अर्का लेखक प्रताप भानु मेहता इन्डियन एक्सप्रेसमा लेख्छन्, ‘यो समग्र विकास क्रमले उपयुक्त विश्व व्यवस्थाको संकेत गरेको छैन।’ (गार्जियन)

अम्रित ढिल्लों/गार्जियन

प्रकाशित: १५ चैत्र २०७८ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App