१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानी राष्ट्रपतिद्वारा तत्काल करिब दुई हजार विद्रोही कैदी रिहाईको लागि तयारी

तालीवानी समूहका कैदीहरूको रिहाई प्रक्रियालाई थप शीघ्रता दिने अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आइतबार बताएका छन्।  

उनले तालीवान समूहले युद्धविरामको प्रस्ताव गरे पछि उनीहरुसँग तुरुन्तै ‘शान्ति वार्ता’ गर्न तयार रहेको स्पष्ट पारेका छन्।

तालिबानले ईद–उलफित्र बिदामा तीन दिनसम्म युद्धविरामको प्रस्ताव राखेको छ। मुस्लिम रमजानको एक महिना लामो उपवासपछि आइतवारदेखि शुरू हुने रमणीय माहोल अर्थात् आफन्तहरूलाई भोज गर्ने समयमा युद्धविराम गर्ने प्रस्तावलाई राष्ट्रपति घानीले तुरुन्तै स्वीकार गर्दै वार्ताको नयाँ चरणमा प्रवेश गर्न आफु तयार रहेको बताए।

“एक जिम्मेवार सरकारको रूपमा हामी अर्को एक कदम अगाडी बढ्छौं। म घोषणा गर्दछु कि  तालिवान कैदी रिहाइ प्रक्रिया छिटो हुनेछ।” घानीले राष्ट्रलाई सम्बोधन गर्दै भनेका छन्।

अमेरिका–तालिवानी समूहबीच फेब्रुअरीमा हस्ताक्षर गरिएको सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवान बन्दीहरूलाई रिहा गर्ने र विद्रोहीले झण्डै एक हजार अफगान सुरक्षा बलका कर्मचारीहरुलाई मुक्त गर्ने सहमति भएको छ।

सरकार र तालिबानबीच लामो समयदेखि अपेक्षा गरिएकोे शान्तिवार्ताका लागि आत्मविश्वास निर्माण गर्ने कदमका रूपमा कैदीको आदानप्रदान गर्ने सहमति सम्झौतामा भएको थियो।  

काबुलले हालसम्म करीव एक हजार तालिवान कैदीलाई रिहा गरिसकेको छ भने विद्रोहीले ३०० अफगान सुरक्षा बलका कर्मचारीहरुलाई मुक्त गरिसकेको छ।

अमेरिकी सम्झौतामा हस्ताक्षर गरेदेखि अफगानी सेनामाथि क्रुर हमला गरेको विद्रोहीसँग सरकार ‘तुरुन्त’ शान्ति वार्ता गर्न तयार रहेको घानीले बताएका थिए।

यसैबीच अफगान राष्ट्रपतिले करिब दुई हजार बन्दीलाई रिहा गर्ने प्रक्रियालाई अघि बढाएको राष्ट्रपति घानीका प्रवक्ताले बताएका छन्।

उनले विद्रोहीको तीन दिन लामो युद्धविराम घोषणापछि राष्ट्रपतिद्वारा करिब दुई हजार विद्रोहीको रिहाई हुन लागेको जानकारी गराएका ह्न्।

राष्ट्रपतिका पवक्ता सेदिक सेदिक्कीले ट्वीटमार्फत दिएको जानकारीमा भनेका छन्, “राष्ट्रपतिले आइतबार करिब दुई हजार तालीवान बन्दीलाई रिहाईको प्रक्रियालाई घोषणा गर्नुभएको छ। यो तालिवानसमूहसँगको वार्ताका लागि सद्धभावना विकास गर्ने कदमका रूपमा अघि ल्याइएको हो।”

प्रकाशित: ११ जेष्ठ २०७७ १५:४९ आइतबार

असरफ घानी तालीवानी