१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो (एजेन्सी) – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताबय राजापाक्षे निर्वाचित भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिने घोषणा गर्दै आफू नेतृत्वको मन्त्रिपरिषद्समेत भंग गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकूलको सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन विक्रमासिंघेले पदबाट राजीनामा दिएको श्रीलंकाको दैनिक पत्रिका ‘डेली मिरर’ले लेखेको छ।

प्रधानमन्त्री विक्रमासिंघेले राजीनामाबारे एउटा विज्ञप्ति पनि सार्वजनिक गरेका छन्। उनले विज्ञप्तिमा ‘आफू लोकतन्त्रलाई सम्मान गर्ने व्यक्ति भएकाले नयाँ राष्ट्रपतिलाई सरकार गठनमा सहयोग पुगोस् भनेर राजीनामा दिने घोषणा गरेकोे’ उल्लेख गरेका छन्।

उनले पदबाट राजीनामा दिने घोषणा गरेको विषय नवनिर्वाचित राष्ट्रपतिलाई बिहीबार औपचारिक रूपमै जानकारी गराउने पनि सो विज्ञप्तिमा उल्लेख गरेका छन्।

राष्ट्रको नाममा सम्बोधन गर्दै विक्रमासिंघेले आफूले बिहीबार पद त्याग गर्नेबारे नवनिर्वाचित राष्ट्रपति राजापाक्षेलाई जानकारी गराइसकेको बताए।

राजीनामा दिने बारेमा विक्रमासिंघेले मंगलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए। भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको समाचारमा जनाइएको छ।

बुधबार दिउँसोको मन्त्रिपरिषद्को विषेश बैठकपछि उनले पद त्यागको घोषणा गरेका थिए। विक्रमासिंघेले राजीनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।

सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रिपरिषद् मात्रै रहने अनुमान गरिएको छ। स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ। नयाँ मन्त्री सबै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन्। यसैबीच, नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षे निकट स्रोतका अनुसार उनले आफ्नै दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाउने भएका छन्।

युनाइडेट नेसनल पार्टी (युडिपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन्। पराजित प्रेमादास भने ५३ बर्षका छन्।
नयाँ राष्ट्रपति चयनका लागि श्रीलंकामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो। आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गरेका थिए। राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति हुन्।

यसअघि उनको परिवारबाट दाई महिन्दा राजापाक्षे राष्ट्रपति बनेका थिए। उनले सन् २००५ देखि २०१५ सम्म श्रीलंकाली राष्ट्रपतिका रुपमा देशको नेतृत्व गरेका थिए।

प्रकाशित: ५ मंसिर २०७६ ०२:२५ बिहीबार

श्रीलंका प्रधानमन्त्री राजीनामा