३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बुलबुल आँधीबाट २० जनाको मृत्यु

बुलबुल आँधीका कारण क्षतिग्रस्त घरबाट सामान झिक्दै भारतको पश्चिम बंगालस्थित एउटा गाउँमा मानिस। तस्बिर : एजेन्सी

ढाका (एजेन्सी)– बंगलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको संख्या २० पुगेको बंगलादेशका अधिकारीहरूले जनाएका छन्। आँधी प्रभावित २० लाखभन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ।

करिब एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ बजेर ३० मिनेटमा भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुवै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य भएको बताइएको छ।

बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा १० जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। अन्य दुई जनाको ओडिसा राज्यनजिकै मृत्यु भएको छ। बंगलादेशमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन्।

बंगलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसुद आलम सिद्दीकीले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताएका छन्।

बुलबुलबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको प्रकोप व्यवस्थापन सचिव साह कमलले जानकारी दिएका छन्। बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको बताएका छन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App