१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न आग्रह'

टर्कीले गरेको आक्रमणपछि सिरियाली सहर रास अल ऐनमा देखिएको धुवाँको मुस्लो। तस्बिर : एजेन्सी

वासिङ्टन (एजेन्सी) – अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ।

संसद्मा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४ र विपक्षमा ६० मत परेका थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपूर्वी सिरियाको कुर्द–बहुल क्षेत्रमा तैनाथ अमेरिकी सेनालाई केही दिनअघि फिर्ता गर्ने निर्णय गरेलगत्तै सिरियाली भूमिमा टर्कीले आक्रमण थालेको थियो।

अमेरिकी संसद्ले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भन्दै राष्ट्रपतिको यस निर्णयबाट सिरिया, इरान र रुसलाई समेत असर पार्ने जनाइएको छ।

साथै उत्तरपूर्वी सिरियामा रहेका सिरियाली कुर्दिस सैन्यबललाई अलपत्र छाड्नु सही नभएको भन्दै टर्कीले सिरियाभित्र जारी राखेको सैन्य कारबाही रोक्न अमेरिकाले पहल गर्नुपर्ने संसद्ले बताएको छ।

संसद्मा पेश गरिएको प्रस्तावलाई डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका ठूलो संख्याका सांसदको समर्थन रहेको छ। संसद्ले पारित गरेको प्रस्तावमा कुर्दलाई दिइरहेको सहयोग अमेरिकाले बन्द गर्न नहुनेमा पनि जोड दिइएको छ।

यसैबीच अमेरिकी संसद्ले उत्तरपूर्वी सिरियामा जारी सैन्य कारबाही तत्काल रोक्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई समेत आग्रह गरेको छ।

अमेरिकी संसद्ले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भनिएको छ।

राष्ट्रपति ट्रम्पको निर्णयका कारण टर्कीका सेनालाई सिरियाली भूमिभित्र कुर्द बहुल क्षेत्रमा आक्रमण गर्न सहज भएको आरोप लाग्दै आएको छ। इस्लामिक स्टेटविरुद्धको भिषण सैन्य कारबाहीका क्रममा कुर्द लडाकुले अमेरिकी फौजलाई विगतमा ठूलो सहयोग गरेका थिए।

तीन लाख विस्थापित 
टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणका कारण हालसम्म तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको एउटा मानव अधिकारवादी संस्थाले जनाएको छ।

मानव अधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’का प्रमुख रमी अब्देल रहमानले टर्कीले आक्रमण सुरु गरेदेखि तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेको बताएका छन्। आक्रमणका कारण बाध्य भएर विस्थापित हुने व्यक्तिको संख्या अझै बढ्नसक्ने पनि उनले जानकारी दिएका छन्। ‘विस्थापितले आफन्तसँग सुरक्षित क्षेत्रमा सर्न खोजे पनि उनीहरु बगैंचामा सुतिरहेका छन्,’ अब्देल रहमानले बताए। विस्थापितले विभिन्न ४० विद्यालयमा शरण लिइरहेका उनको भनाइ छ।

कुर्द समुदायको बाहुल्यता रहेको उत्तर तथा उत्तरपूर्वी सिरियामा टर्कीले यही अक्टोबर ९ देखि हमला सुरु गरेको थियो।

पेन्सले भेटे एर्दोगानलाई
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टर्कीस् राष्ट्रपति तैयप रेसेप एर्दोगानलाई बिहीबार टर्कीमै भेट गरेका छन्। उत्तरपूर्वी सिरियामा कुर्द लडाकुविरुद्धको कारबाही रोक्ने बारे सहमत बनाउनका लागि उपराष्ट्रपति पेन्सले एर्दोगानलाई भेटेको बताइएको छ।

आक्रमणलाई रोक्न अमेरिकी उपराष्ट्रपति स्वयं नै टर्की पुगे पनि उत्तरपूर्वी सिरियामा भइरहेको कारबाही तत्काल नरोकिने टर्कीका अधिकारीहरुले बताएका छन्।

टर्कीको आक्रमणका कारण उत्तरपूर्वी सिरियामा नयाँ मानवीय संकट उत्पन्न भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। आक्रमणका घटना तीव्र भएपछि सो क्षेत्रमा बसिरहेका तीन लाखभन्दा बढी मानिस विस्थापित भइसकेको विवरण सार्वजनिक भएका छन्। त्यसैगरी इस्लामिक स्टेटका परिवार राखिएका शिविरबाट पनि उनीहरु भाग्न थालेका छन्। जसका कारण इस्लामिक स्टेटको पुनः उदय हुनसक्नेतर्फ चिन्ता व्यक्ति गरिएका छन्।

इस्लामिक स्टेटविरुद्ध लड्ने बेलामा कुर्द लडाकुले अमेरिकी सेनालाई सहयोग गरेको तर अहिले बीचमै आफ्नो सेना फिर्ता लाने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयको चौतर्फी आलोचना भइरहेको छ। यद्यपि उनले भने आफ्नो निर्णयको बचाउ गरेका छन्।

उनले बुधबार ‘आफ्नो कदम रणनीतिक रूपमा सही भएको’ जिकिर गरेका छन्। उनले अमेरिकी उपराष्ट्रपति पेन्स र टर्कीस् राष्ट्रपति एर्दोगानबीच सौहार्दपूर्ण र फलदायी वार्ता हुने पनि बुधबार विश्वास व्यक्त गरेका थिए। उत्तरपूर्वी सिरियामा टर्कीले आक्रमणलाई निरन्तरता दिएपछि वासिङ्टनले उसविरुद्ध आर्थिकलगायतका प्रतिबन्ध घोषणा गरिसकेको छ।

यसैबीच गत अक्टोबर ९ मै ह्वाइट हाउसले टर्कीस् राष्ट्रपति एर्दोगानलाई पत्र लेखेको विषय पनि बाहिरिएको छ। सो पत्रमा ह्वाइट हाउसले एर्दोगानलाई ‘कडा मानिस नबन्नुहोस् र मूर्ख पनि नबन्नुहोस्’ भनेर लेखेको टर्कीस् समाचार संस्था सिएनएन टर्कले जनाएको छ। ट्रम्पले द्वन्द्व रोक्न सम्झौता गर्नका लागि टर्कीलाई गरेको आग्रहयुक्त पत्र ‘डस्टबिनमा फ्यालिदिएको’ सिएनएन टर्कले जनाएको छ।

‘ट्रम्पले टर्कीबाट आशा गरेर पठाएको पत्रको कुनै औचित्य नभएकाले त्यसालाई गम्भीरताका साथ लिइएन,’ टर्कीका एक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

राष्ट संघको चासो
सिरियाली कुर्द लडाकुविरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्र संघले चासो व्यक्त गरेको छ।

त्यस आक्रमणप्रति संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले चासो व्यक्त गरेको हो। बुधबार बसेको परिषद्को बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको पछिल्लो अवस्थाको बारेमा आवश्यक छलफल भएको बताइएको छ।

बुधबारको बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ। छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्र संघका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले आक्रमणबाट मानवीय संकट पैदा भएको भन्दै यसबाट उत्पन्न हुनसक्ने परिस्थितिप्रति गहिरो चासो राखिएको बताए।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ जुनले यसै पनि द्वन्द्वको चपेटामा परिरहेको सिरियामा टर्कीले आक्रमण गरेर परिस्थितिलाई झनै जटिल बनाइदिएको बताएका छन्। उनले सुरक्षा परिषद्को बैठकमा सिरियाको अवस्थाको बारेमा कुराकानी भएको र युद्ध थप नचर्काउने उपायको बारेमा सुझाव दिने काम भएको बताए।

प्रकाशित: १ कार्तिक २०७६ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App