१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकालाई सहयोग गरेर हामीले गल्ती गर्‍यौंः इमरान खान

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशले अफगानिस्तानमा आतंकवादविरुद्धको लडाईमा अमेरिकालाई साथ दिएर गल्ती गरेको बताएका छन्। अफगानिस्तानमा आफ्नो असफलतालाई लिएर अमेरिकाले पाकिस्तानमाथि दोष लगाउनु गलत भएको उनको भनाई छ।

प्रधानमन्त्री खानले रसिया टुडेसँगको अन्तर्वार्तामा विगतको शीत युद्धका क्रममा अफगानिस्तानमा सोभियत संघविरुद्ध लड्नका लागि पाकिस्तानले विद्रोही लडाकु तयार गरेको र त्यसको आर्थिक प्रायोजन अमेरिकाले गरेको बताउँदै एक दशकपछि अमेरिकाले तिनै लडाकुलाई आतंकवादी घोषणा गरेर अन्याय गरेको बताए। 

‘८० को दशकमा जब सोभियत संघले अफगानिस्तानमा हमला गर्यो। तब उसका विरुद्धमा पाकिस्तानले अफगान विद्रोहीलाई प्रशिक्षण दियो। यसको प्रायोजन अमेरिकाको खुफिया एजेन्सी सिआइएले गरेको थियो’, उनले भने, ‘एक दशकपछि जब अमेरिका अफगानिस्तानमा आयो, तब हामीले उत्पादन गरेको समूहलाई नै आतंकवादी भनियो। यो एकदमै ठूलो विरोधाभास थियो।’

प्रधानमन्त्री खानले अमेरिकालाई साथ दिँदा सोभियत संघ र अफगानिस्तानका विद्रोहीसँग पाकिस्तानको सम्बन्ध विग्रिएको र यो आफूहरुको भूल भएको स्वीकार गरे। 

‘जब पाकिस्तानले २००९/०११ को हमलापछि तालिबानविरुद्धको लडाईमा अमेरिकालाई साथ दियो। लगत्तै त्यसको परिणाम पनि भोग्यो’, उनले भने, ‘यदि उक्त हमलापछि हामीले आतंकवादविरुद्ध अमेरिकी युद्धमा सहभागी नभएको भए आज हाम्रो छवि विग्रिएको हुँदैनथ्यो। हामीमाथि दोष आउने थिएन।’

अमेरिकाले अफगानिस्तानमा तालिबानविरुद्ध कारवाहीमा उत्रिँदा पाकिस्तानले तटस्थ बस्नुपर्ने थियो भन्दै खानले थपे, ‘अफगान युद्धमा सहभागी भएका कारण त्यहाँका समूह हाम्रो विरुद्धमा लागे।’

अफगानिस्तानमा अमेरिकाले सुरु गरेको युद्धमा ७० हजार मानिसको ज्यान गएको र अर्थव्यवस्थामा एक सय अर्ब डलरको नोक्सानी भएको भन्दै इमरानले भने, ‘अन्तिममा अफगानिस्तान युद्धमा सफल नहुँदा अमेरिकालाई होइन हामीलाई दोष लगाइयो। यो पाकिस्तानमाथिको अन्याय हो।’

पाकिस्तानी प्रधानमन्त्रीको यो अन्तर्वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानीसँग अमेरिकी वार्ता रद्ध गरेपछि सार्वजनिक भएको हो। हालै काबुलमा १ अमेरिकी सैनिकसहित १२ जना मारिनेगरी आक्रमण भएपछि ट्रम्पले तालिवानसँगको वार्ता रद्धको घोषणा गरेका थिए। 

प्रकाशित: २७ भाद्र २०७६ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App