१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बालबालिकाद्वारा मानवसाङ्लो बनाएर हङकङमा प्रदर्शन

सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्नका लागि हङकङमा सोमबार मानव साङ्लो बनाएर सडकमा उत्रिएका माध्यामिक विद्यालयका विद्यार्थी। तस्बिरः एजेन्सी

हङकङ – सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दैैसोमबार हङकङका विभिन्न जिल्लामा विद्यालय पोशाकमै रहेका सयौं विद्यार्थीले मानवसाङ्लो बनाएका छन्। सहभागी विद्यार्थीमध्ये अधिकांशले मुखमा मास्क लगाएका थिए। चीनको स्वशासित हङकङमा चार महिनादेखि भइरहेको सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दै सोमबार विद्यालय पोशाकमै रहेका विद्यार्थीले प्रदर्शन गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

आइतबारको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही ठाउँमा झडप भएपछि बन्द रहेका मेट्रो स्टेसन सोमबार पुनः खुलेका थिए। तर सोमबार बिहानै विद्यालय सुरु हुनुभन्दा अघि विद्यार्थी र पूर्व विद्यार्थीले हात समाएर मानवसाङ्लो बनाउँदै नारा लगाएका थिए। ‘हङकङका जनता, तेल थप’ भन्ने नारा विद्यार्थीले लगाएका थिए। यो नारा सरकारविरोधी प्रदर्शनमा उत्रिनका लागि हङकङका जनतालाई आह्वान गर्न प्रदर्शनकारीहरुले प्रयोग गर्ने नारा हो।

‘स्कुल आधारित मानव साङ्लो हङकङमा भइरहेको प्रदर्शनले कसरी जरो गाडेको छ भन्ने प्रमाण हो। यो यतिसम्म जरो गाडेको छ कि यसले विद्यालयका विद्यार्थीलाई समेत आकर्षित गरेको छ,’ सहरको कोलुन जिल्लामा रहेको वाह यान कलेजका पूर्व विद्यार्थी अलान लियोङलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

आइतबार बिदाको दिन हङकङमा १४ औं साताको प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही ठाउँमा झडपसमेत भएको थियो। आइतबारको प्रदर्शन अन्य साताको प्रदर्शनभन्दा फरक थियो किनभने प्रदर्शनकारीले पहिलो चोटी संयुक्त राज्य अमेरिकालाई ‘हङकङको पछिल्लो संकट’मा हस्तक्षेप गर्नका लागि आह्वानसहितको उत्तेजक नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरुले अमेरिकी झन्डासमेत बोकेका थिए।

लोकतन्त्र पक्षधर प्रदर्शनकारीले गरेको आइतबारको प्रदर्शनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष सहयोगको अपिल गरिएको थियो। हङकङस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै आइतबार प्रदर्शन गरिएका थियो। आइतबारको प्रदर्शनमा सहभागीमध्ये केहीले ‘राष्ट्रपति ट्रम्प, हङकङलाई जोगाउनुहोस्’ र ‘मेक हङकङ ग्रेट अगेन’ जस्ता नारा लेखिएका ब्यानरसमेत बोकेका थिए।

हङकङमा कैयौं सातादेखि सरकारविरोधी प्रदर्शन जारी छ। सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेपछि गत सातामात्रै हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सो विधेयक फिर्ता लिने घोषणा गरिन्। तर उनको घोषणा आउन निकै ढिला भइसकेको छ किनभने पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।

प्रदर्शन जारी रहेकै बेला पछिल्ला तीन दिनमा मात्रै हङकङमा १ सय ५७ जना पक्राउ परेको प्रहरीले जनाएको छ।  त्यसरी पक्राउ पर्नेमा १ सय २५ जना पुरुष र ३२ जना महिला रहेको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा १४ देखि ६३ वर्ष उमेर समूहका रहेको र यो संख्यासहित पछिल्लो चार महिनाभित्र हङकङमा १ हजार ३ सयभन्दा बढी पक्राउ परेका छन्।प्रदर्शन जारी रहेकै बेला पछिल्ला तीन दिनमा मात्रै हङकङमा १ सय ५७ जना पक्राउ परेको प्रहरीले जनाएको छ।  त्यसरी पक्राउ पर्नेमा १ सय २५ जना पुरुष र ३२ जना महिला रहेको प्रहरीको भनाइ छ।

 

प्रकाशित: २४ भाद्र २०७६ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App