२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

स्थानीय समयअनुसार बिहीबार बिहान १० बजेर १० मिनेटमा गराइएको सो विस्फोटका कारण कैयौं व्यक्ति घाइते भएका छन्।  विस्फोट प्रहरी चौकी नजिकै भएको र सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालयसहित अमेरिकी दूतावास र उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो०को नेतृत्वका सेना रहेको बताइएको छ।

सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकु समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्नै लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोटका घटना भइरहेका छन्। 

बिहीबार भएको कारबम विस्फोट केही दिनयता तालिबान लडाकुले गराएको चौथो ठूलो आक्रमण हो। सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख सहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिक मारिनुको साथै कैयौं घाइते भएका थिए।

अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क सहरस्थित ट्विन टावर आक्रमण गरेपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो। उक्त समयमा अमेरिकाको नेतृत्वमा एक लाख ३० हजारभन्दा बढी नेटोआवद्ध सेना अफगानिस्तान प्रवेश गरेका थिए।

सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै लगभग सबैजसो नेटो सेना अफगानिस्तानबाट आ–आफ्ना देश फर्किएका थिए। सोही समयबाट हालसम्म करिब १४ हजार अमेरिकी सेना मात्रै अफगानिस्तानमा तैनाथ रहेका छन्।

ठूलो संख्यामा नेटोआवद्ध सेना फर्केपछि अफगानिस्तानमा सुरक्षाकर्मी, सरकारी अधिकारी र सर्वसाधारण जनता लक्षित आक्रमणका घटनामा वृद्धि भएको छ।

यद्यपि हाल भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा सुरु भएको छ। गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ हजार ६ सय सेना मात्र अफगानिस्तानमा तैनाथ रहने बताएका थिए।

वासिङ्गटनले गत  बिहीबार अफगानिस्तानमा रहेका अमेरिकी सेनाको संख्या ८ हजार ६ सयमा झार्ने घोषणा गरेको थियो। तालिबान लडाकु समूहसँग अमेरिकाले गरिरहेको शान्ति वार्ता टुंगो लाग्न लागेको बेला उक्त घोषणा भएको बताइएको थियो।

प्रकाशित: २० भाद्र २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App