१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते

वासिङ्टन – संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया सहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ ।

विभागका अनुसार लागूपदार्थका कारोबारीलाई पक्राउ गर्न घण्टौं लागेको थियो । घाइते प्रहरी सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति लामो समयसम्म कुनै पनि समूहले भिडन्त नगरेको बताए ।

यसै महिनाको सुरुमा अमेरिका कै ओहायो राज्यको डेटन र टेक्सास राज्यको एल पासोमा भएका गोलीकाण्डमा ३२ जनाको ज्यान गएको थियो । एक व्यक्तिले घरभित्रबाट प्रहरीमाथि लगातार गोली चलाएका थिए तर प्रहरीले निकै प्रयासपछि ती व्यक्तिलाई पक्राउ गरेको थियो ।

फिलाडेल्फिया नगरका मेयर जीम केन्नीले प्रहरी विभागले सफलतापूर्वक कारबाही गरेकामा धन्यवाद दिएका छन् । एकै व्यक्तिले प्रहरीसँग घण्टौंसम्म भिड्न पुग्ने गरी गोली संकलन गरेकामा आश्चर्य व्यक्त गर्दै मेयर केन्नीले यो निकै खेदजनक छ भने । संयुक्त राज्य अमेरिकामा पछिल्ला वर्षमा बन्दुकसँग सम्बन्धित हिंसा बढे पनि त्यसलाई नियमन गर्नेतर्फ पक्ष र विपक्षमा समाज र राजनीतिक क्षेत्र व्यापक रूपमा ध्रुवीकृत भएको छ । अमेरिकामा निकै शक्तिशाली मानिएको नेसनल राइफल एसोसिएसनले बन्दुक खरिदमा कडा नियम ल्याउने प्रस्तावलाई अस्वीकार गरिरहेको छ ।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App