२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो’

मेक्सिको सिटी – मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा शनिबार भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रूपमा लिएको बताएका छन्।

उनले एल पासो गोलीकाण्डमा केही मेक्सिकन नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिकासमक्ष आग्रह गरिने जानकारी पनि दिएका छन्। अमेरिकाको टेक्सासस्थित एल पासोको एक वाल्मार्ट सपिङ मलमा शनिबार एक व्यक्तिले गोली चलाउँदा २० जनाको मृत्यु भएको थियो। मारिएका व्यक्तिमध्ये सात जना मेक्सिकन मूलका नागरिक थिए।

मेक्सिकोका महान्यायाधिवक्ताले गोली चलाउने व्यक्तिलाई सुपुर्दगी गराउने विषयमा सम्भावित कानुनी बाटो खोजी गरिरहेको विदेशमन्त्री एब्रार्डले बताए। गोली चलाउने व्यक्ति हाल अमेरिकी प्रहरीको नियन्त्रणमा रहेका छन्। विदेशमन्त्री एब्रार्डले मेक्सिकोले गोली चलाउने व्यक्तिलाई आतंकवादी ठहर गरेको पनि बताएका छन्।

विदेशमन्त्री एब्रार्डले पीडित परिवारसँग भेट गर्न सोमबार एल पासोको भ्रमण गर्न लागेको पनि बताएका छन्। अर्कोतर्फ, मेक्सिकाली राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले एल पासो घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँदै संयुक्त राज्य अमेरिकामा हतियारको खुलेआम प्रयोगमा नियन्त्रण आवश्यक रहेकोमा जोड दिएका छन्।

प्याट्रिक क्रुसियस नाम गरेका २१ वर्षीय एक युवाले टेक्सासमा हिस्पानिक समुदायका व्यक्तिको आप्रवासन बढेको भन्दै एल पासोस्थित वाल्मार्ट सपिङ मलमा अन्धाधुन्ध गोली चलाएका थिए। मेक्सिकोसँगको सीमा नजिक अमेरिकाको एल पासोमा ल्याटिनो समुदायका मानिसको बाक्लो बसोबास रहेको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App