१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको भनाइप्रति भारतको असन्तुष्टि

पाकिस्तानी प्रधानमन्त्री इमरान खान (बायाँ) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भएको भेटवार्ता। तस्बिर ः एजेन्सी

नयाँ दिल्ली – कास्मिर विवाद सुल्झाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह नगरेको भारतले दाबी गरेको छ। पाकिस्तानसँग लामो समयदेखि जारी कास्मिर विवादका लागि आफूलाई मध्यस्तता गरिदिन भारतीय प्रधानमन्त्री मोदीले भनेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका थिए। अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग सोमबार भएको भेटवार्तामा ट्रम्पले यो विषय राखेका थिए।

ट्रम्पको यस्तो भनाइमा सत्यता नरहेको भन्दै भारतीय भारतीय विदेश मन्त्रालयले एउटा ट्विट गरेको छ। ‘ट्रम्पसमक्ष त्यस्तो आग्रह गरिएको छैन’ भारतीय विदेश मन्त्रालयले गरेको ट्विट उल्लेख गर्दै बिबिसीले जनाएको छ। पाकिस्तानसँगका सबै विषय दुई पक्षीय रूपमा छलफल भएको पनि भारतीय विदेश मन्त्रालयले जिकिर गरेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि देशको संसद्मा अमेरिकी राष्ट्रपतिले गरेको दाबी सत्य नभएको बताएका छन्। तर विपक्षी दलहरुले भने यस विषयमा प्रधानमन्त्री मोदीले संसद्समक्ष सम्बोधन गर्नुपर्ने माग गरेको बिबिसीले उल्लेख गरेको छ।

हालसालै भारतको प्रमुख विपक्षी दल कंग्रेसको अध्यक्षबाट राजीनामा दिएका राहुल गान्धीले एक ट्विट गर्दै विदेश मन्त्रालयको अस्वीकारोक्ति मात्रै यो विषयमा पर्याप्त नहुने बताएका छन्। ह्वाइट हाउसमा पाकिस्तानी प्रधानमन्त्रीलाई स्वागत गर्दै ट्रम्पले कास्मिर विवादमा आफूलाई मध्यस्तता गरिदिन भारतीय प्रधानमन्त्री मोदीले आग्रह गरेको दाबी गरेका थिए।

प्रतिउत्तरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि यदि ट्रम्पले मध्यस्तता गरे लाखौंको शुभेच्छा प्राप्त हुने बताएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो पटक पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई सोमबार ओभल अफिसमा भेटेका थिए। भेटवार्तापछि दुवै नेताले पत्रकारसमक्ष बोलको थिए। उनीहरुले कैयौं विषयमा आफ्ना भनाइ सञ्चारकर्मीसँग राखेका थिए।

भारत र पाकिस्तान दुवैले कास्मिर पूर्ण रूपमा आफ्नो भूभाग भएको दाबी गरे पनि केही भागमा मात्रै नियन्त्रण कायम गर्न सकेका छन्। कास्मिरको विषयलाई लिएर दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानले दुईवटा ठूला युद्ध लडिसकेका छन्। गत फेब्रुअरी महिनामा सीमामा हवाई हमलाका घटना भएपछि दुई राष्ट्रबीच अहिले पुनः विवाद चुलिरहेकै बेला ह्वाइट हाउसबाट आएको यस्तो भनाइले भारतको सत्ता पक्ष र विपक्षीबीच वादविवाद सुरु भएको छ।

प्रकाशित: ८ श्रावण २०७६ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App