न्युयोर्क – पत्रकार जमाल खसोग्गीको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमान र अन्य उच्च पदस्थ अधिकारी व्यक्तिगत रूपमा जिम्मेवार रहेको भन्ने विश्वसनीय प्रमाण रहेको संयुक्त राष्ट्रसंघका एक विज्ञले बताएका छन्। राष्ट्रसंघका विशेष विज्ञ एग्नेस कालामार्डले तयार पारेको एक प्रतिवेदनले पत्रकार खसोग्गी हत्याबारे यथेष्ट प्रमाण रहेको र स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक रहेकोमा जोड दिइएको छ।
अमेरिका आधारित पत्रकार खसोग्गीको इस्तानबुलस्थित साउदीकै महावाणिज्य दूतावासमा हत्या भएको थियो। उनको हत्या साउदीकै एजेन्टहरुबाट भएको थियो। खसोग्गी हत्यामा साउदी युवराजको आदेश रहेको भन्ने विषय आइरहे पनि साउदी प्रशासनले भने उनको हत्यामा खराब एजेन्टहरुको संलग्नता रहेको बताउँदै आएका छन्। खसोग्गीको हत्यामा संलग्न रहेको भन्दै साउदी अरबले ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यद्यपि ती ११ जनाको परिचय भने उसले सार्वजनिक गरेको छैन। साउदी प्रशासनले मुद्दा चलाएकामध्ये पाँच जनालाई भने मृत्युदण्डको माग गरिएको छ।
खसोग्गीको हत्यामा संलग्न रहेको भन्दै साउदी अरबले ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यद्यपि ती ११ जनाको परिचय भने उसले सार्वजनिक गरेको छैन।
साउदी अरबले खसोग्गी हत्यामा संलग्न रहेको भन्दै ११ जनाविरुद्ध मुद्दा दायर गरेको भए पनि सो कानुनी प्रक्रियाले अन्तर्राष्ट्रिय र सारवान मापदण्ड पु¥याउन नसकेको राष्ट्रसंघीय विज्ञ कालामार्डलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उनले साउदीले गरिरहेको अदालती प्रक्रियालाई खारेज गर्न र अन्तर्राष्ट्रिय मुद्दा चलाउनसमेत माग गरेका छन्। ‘द वासिङ्टन पोस्ट’ का लागि स्तभ्म लेख्ने अमेरिका आधारित ५८ वर्षीय स्तम्भकार खसोग्गी अन्तिम चोटी गत अक्टोबर २ का दिन इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासभित्र गएको देखिएका थिए।
आफ्नी प्रेमिका हात्सी सेन्जिजसँग विवाह गर्नका लागि आवश्यक कागजात प्राप्त गर्न साउदी महावाणिज्य दूतावास गएका उनी त्यहाँबाट बाहिर निस्किएनन्। महावाणिज्य दूतावासबाहिर पर्खेर बसिरहेकी प्रेमिकाले खसोग्गीबारे सर्वप्रथम खबर सार्वजनिक गरेपछि उनीबारे खोजीनीति भएको थियो। टर्कीले महावाणिज्य दूतावासभित्रै खसोग्गीको हत्या भएको र आफूसँग त्यसबारे प्रमाण रहेको बताए पनि रियादले सुरुमा यसलाई स्वीकार गरेको थिएन। पछि विश्वभरबाट दबाब भएपछि मात्रै साउदी अरबले आफ्ना खराब एजेन्टहरुले खसोग्गीको हत्या गरेको स्वीकार गरेको थियो। यद्यपि ती एजेन्टहरुले निर्वासनमा बसिरहेका खसोग्गीलाई स्वदेश फर्काउनका लागि बल प्रयोग गर्दा उनको मृत्यु भएको भन्ने तर्क रियादले प्रस्तुत गरेको थियो।
कुनै समय शक्तिशाली साउदी राजपरिवार निकट रहेका पत्रकार खसोग्गी पछिल्लो समय भने विरोधी बनेका थिए। राजपरिवारको विरोध गर्न सुरु गरेलगत्तै उनी अमेरिका निर्वासनमा गएका थिए। खसोग्गी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ११ जनामध्ये पाँच जनाले आफ्नो गल्ती स्वीकार गरिसकेको साउदी सरकारका महान्यायाधिवक्ताले गत नोभेम्बरमा बताएका थिए।
प्रकाशित: ५ असार २०७६ ०२:५६ बिहीबार