१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीको डरले लाखौं मानिस सुरक्षित स्थानतर्फ सारियो

भारतीय सहरको विसाखापटनमको आकाशमा देखिएको आँधी बादल। तस्बिर: एजेन्सी

नयाँ दिल्ली – फानी नामक आँधी आउन लागेपछि भारतको उत्तरी तटीय क्षेत्रका गाउँमा  बसोबास गर्ने हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

हाल फानी आँधी प्रतिघण्टा दुईसय किलोमिटरका गतिा ओडिसा राज्यतर्फ अघि बढिरहेको र शुक्रबार यसको प्रभाव बढि देखिने अनुमान गरिएको छ। फानीको प्रभावका कारण अधिकारीहरुले पूर्वमा रहेको तटका प्रमुख दुई बन्दरगाहको गतिविधि बन्द गरेका छन् र सतही क्षेत्रमा बस्ने बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नका लागि हजारौं स्वयंसेवक खटिएको बिबिसीले उल्लेख गरेको छ।

आन्ध्र प्रदेश र तामिल नाडु प्रदेशमा पनि उच्च शर्तकर्ता अपनाइएको बताइएको छ। अधिकारीहरुले बिबिसीलाई बताएअनुसार करिब आठलाख मानिस स्थानान्तरणको प्रक्रियामा रहेका छन्। ओडिसा राज्यको पुरी क्षेत्रबाट मात्रै करिब एक लाख मानिसलाई स्थानान्तरण गरिएको छ। फानी आँधीले यसै क्षेत्रलाई बढी प्रभाव पार्न सक्ने अधिकारीले अनुमान गर्दै यो संख्यामा मानिसलाई सारिएको हो।

पुरी सहर पाँच सय ५८ वर्ष पुरानो जगन्नाथ मन्दिर रहेको सहर हो। अधिकारीहरुले फानीका कारण यस ऐतिहासिक मन्दिरमा क्षति पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बिबिसीले उल्लेख गरेको छ। राज्यमा रहेका सम्पूर्ण विद्यालय र विश्वविद्यालयहरु हलका लागि बन्द गरिएका छन्। पछिल्लो तीन दशकमा भारतको उत्तरी तटलाई प्रभावित पार्ने फानी चौथो आँधी हुनेछ। सन् २०१७ मा ओखी नामको आँधीका कारण दुईसय भन्दा बढीको मृत्यु भएको थियो भने सयौं मानिस विस्थापित भएका थिए। गत वर्षको अक्टोबर महिनामा ओडिसा राज्यमै आएको अर्को आँधीका कारण अधिकारीहरुले लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सारेका थिए।

कुन क्षेत्र बढी प्रभावित हुनेछ?
हाल फानी आन्ध्र प्रदेशका उत्तरमा रहेको बंगालको खाडीतर्फ अघि बढिरहेको छ। ओडिसा राज्यको राजधानी भुवनेश्वरमा रहेको मौसम विभागका निर्देशक एचआर विश्वासका अनुसार फानी आँधीका कारण ओडिसाका कम्तीमा ११ जिल्ला प्रभावित हुनेछन् र स्थानीय बासिन्दालाई ‘घरभित्रै बस्न आग्रह गरिएको छ।’

भारतको केन्द्रीय प्रकोप व्यवस्थापन प्राधिकरणले पनि भारतको पूर्वी तटमा बासिन्दासहित सबैलाई सजग तुल्याएको छ। सो प्राधिकरणले विशषेतः माछा मार्ने मानिसलाई अवस्था सामान्य नभएसम्मका लागि समुद्रम नजान पनि चेतावनी जारी गरेको बिबिसीले उल्लेख गरेको छ।

पूर्वी भारतमा आँधीले प्रभाव पारिसकेपछि फानी बंगलादेशको चित्तागङतर्फ जाने र शनिबारदेखि त्यसको प्रभाव कम हुने बताइएको छ। न्यूनतम मापदण्डसहित बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरमा बसिरहेका रोहिन्जा शरणार्थीलाई पनि उच्च सर्तक बनाइएको बिबिसीले उल्लेख गरेको छ। यद्यपि फानी आँधीले गति परिवर्तन नगरेसम्म सो शरणार्थी शिविरमा भने कुनै प्रभाव नपर्ने र आँधीले गति परिवर्तन गर्ने सम्भावना लगभग शून्य रहेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भारतको तयारी के छ ?
भारतीय अधिकारीहरुले फानी आँधीबाट सुरक्षा प्रदान गर्नका लागि आठ सय ५० वासस्थान बनाइएको बताएका छन्। ती वासस्थानमा लगभग १० लाख मानिसलाई राख्न सकिने उनीहरुको भनाइ छ।

भारतीय जलसेना, तटीय गार्ड र राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सलाई तयारी अवस्थामा राखिएको छ। उसले दक्षिणी बन्दरगाह सहर विसाखापटनाम र चेन्नईमा गोताखोरसहित दुईवटा जहाज पनि तैनाथ गरेको अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

तटीय सहरहरुबाट आवतजावत गर्ने ८० वटा रेलको यात्रालाई पनि खारेज गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। भारतीय निर्वाचन आयोगले पनि राहतको कार्यक्रम सञ्चालन गर्नका लागि निर्वाचनसम्बन्धी नियममा केही खुकुलो बनाएको छ। गत महिनाबाट सुरु भएको र विभिन्न सात चरणमा हुने निर्वाचनको मध्यतिर भारत रहेको छ। साधारण अवस्थामा कामचलाउ सरकारले राहत तथा उद्दारका कार्य गर्न नपाउने व्यवस्था भारतमा रहेको छ। भारतमा मे महिनासम्म मतदानको प्रक्रिया जारी रहने भए पनि ओडिसामा भने मतदान सम्पन्न भइसकेको छ।

प्रकाशित: २० वैशाख २०७६ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App