८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकार वार्तामा बस्न तयार

दुबई – अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारले विद्रोहीसँग वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ।

संयुक्त राष्ट्रसंघका प्रतिनिधि मार्टिन ग्रिफिथलाई हुथी विद्रोहीसँगको वार्तामा सहभागी हुन तयार रहेको भन्दै सरकारी पक्ष खबर पठाएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

मुलुकमा शान्ति स्थापनाका लागि आफूहरु वार्तामा बस्न तयार भएको सरकारी अधिकारीहरूको भनाइ रहेको छ। 

राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले स्विडेनमा वार्ता गर्ने पहल गर्दै आएका छन् । उनको पहल अनुसार अब सरकारी पक्षले वार्ता टोली स्विडेन पठाउने छ । ‘वार्तामा सहभागी हुनेबारे हामीले राष्ट्रसंघीय प्रतिनिधिलाई जानकारी गराएका छौं,’ अब सरकारका प्रतिनिधिहरु वार्ताका लागि स्विडेन जानेछन्’ यमनी विदेश मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अहिलेको राजनीतिक संकट समाधान गरी मुलुकमा शान्ति स्थापनाका लागि वार्तामा सहभागी हुन लागेको विदेश मन्त्रालयलाई उद्धृत गर्दै साबा समाचार संस्थाले जनाएको छ । हुथी विद्रोही र यमन सरकारबीच शान्तिवार्ता गराउन आवश्यक तयारी गरी वातावरण बनाउन राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथ केही दिनमै यमनको राजधानी जाने अपेक्षा गरिएको छ।

राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले यमनको भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा यसअघि हुथी विद्रोहीले विभिन्न आक्रमण रोक्ने घोषणा गरेको थियो । यमनमा संघर्षरत हुथी विद्रोही समूहका एकजना उच्च नेताले यमनमा क्षेप्यास्त्र आक्रमण र ड्रोनबाट हुने आक्रमण स्थगित गर्ने घोषणा गरेका हुन् । सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अलि अल–हुथीले ट्विट गरी सबै आधिकारिक यमनी राजनीतिक दलहरूलाई युद्धविराम गर्न आग्रह गरेका थिए । हामी यमनका सबै आधिकारिक दलहरूलाई अतिक्रमणकारी देशविरुद्ध र उनीहरूका यमनी समर्थकमाथि रकेट आक्रमण र ड्रोनको प्रयोग रोक्न आग्रह गर्दछौं ताकि उनीहरुले हामीमाथि आक्रमणको कुनै आधार पाउने छैनन् । शान्ति स्थापनाको तत्परता प्रस्तुत गर्न सबै मोर्चामा सैनिक आक्रमण रोक्न पनि आग्रह गर्दछौं,’ उनले ट्विट गरेका छन्।

राष्ट्रसंघका विशेषदूत ग्रिफिथले शुक्रबार मात्र अर्को साता विद्रोहीको नियन्त्रणमा रहेको सानाको भ्रमण गर्ने जानकारीमा आएलगत्तै हुथी नेताको युद्धविराम गर्ने घोषणा सार्वजनिक भएको हो । सेप्टेम्बरमा पनि स्विडेनमा शान्तिवार्ता गर्ने तय भएपनि अन्तिममा हुथी विद्रोही समूहले सुरक्षाको कारण देखाएका कारण वार्ता स्थगित भएको थियो । ‘हुथी विद्रोही र साउदी–समर्थित यमन सरकार दुवैले राजनीतिक समाधानप्रति प्रतिबद्धता दोहो¥याएकाले वार्ता हुन लागेको हो । दुवै पक्षले वार्तामा उपस्थित हुने बताएका छन् । तैपनि वार्ताको मिति भने तय गरिएको छैन,’ ग्रिफिथले बताए।

अलि अल–हुथीले राष्ट्रसंघका विशेषदूतसँगको सम्पर्कपछि क्षेप्यास्त्र र ड्रोन आक्रमणका साथै अन्य आक्रमणका सम्पूर्ण क्रियाकलाप रोकिएको बताए । यमन गृहयुद्धका कारण हजारौं मानिसको मृत्यु भइसकेको छ । सम्पूर्ण आर्थिक तथा मानवीय सहायताका सामग्री यमन भित्रिने लाल सागरको तटीय सहर होडेडामा गत साता पनि भीषण लडाइँ भएको थियो।

विद्रोहीले राजधानी साना र होडेडालाई सन् २०१४ मा नियन्त्रणमा लिएका थिए । सन् २०१५ मा सरकारका पक्षबाट साउदी अरब र यसका गठबन्धन मुलुकले सानामा हुथीविरुद्ध भीषण हमला गरेका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार, त्यसयता मात्र १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तर अधिकारकर्मीहरुले भने गृहयुद्धबाट मारिने व्यक्तिको संख्या यसको पाँच गुणा बढी भएको दाबी गर्दै आएका छन् । राष्ट्रसंघले यमनको द्वन्द्वलाई अत्यन्त निकृष्ट भएको बताउने गरेको छ।

प्रकाशित: ४ मंसिर २०७५ ०२:३७ मंगलबार

यमन_युुद्ध