४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका-चीन व्यापार तनाव : इलेक्ट्रोनिक सामानमा भन्सार छुट, एप्पललाई फाइदा

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व बजारमा प्रभाव पारिरहेका समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कदम चालेका छन्। उनले स्मार्टफोन, कम्प्युटर, सेमीकन्डक्टर, सोलार सेल र अन्य इलेक्ट्रोनिक सामानमाथिको भन्सार शुल्कमा छुट दिएका छन्।

अमेरिकाले सबै चिनियाँ सामानमा १४५ प्रतिशतको भन्सार शुल्क लगाएको छ। त्यसको जवाफमा चीनले पनि १२५ प्रतिशतको शुल्क लागू गरेको छ। यो छुटले अमेरिकी प्रविधि कम्पनी विशेषगरी एप्पललाई राहत पुग्ने अपेक्षा गरिएको छ। यो नीतिले अमेरिकी बजारमा इलेक्ट्रोनिक्स सामानको मूल्य स्थिर रहने विश्वास गरिएको छ।

अमेरिकी भन्सार तथा सीमा गस्ती (सीबीपी) ले एक सूचना जारी गर्दै यस छुटमा चीनबाट अमेरिका आउने स्मार्टफोन र तिनका उपकरणसहित धेरै इलेक्ट्रोनिक सामानहरू समावेश गरिएको उल्लेख गरेको छ। ट्रम्पको कर नीतिले अमेरिकामा इलेक्ट्रोनिक्स सामानको मूल्य बढ्ने अनुमान गरिएको थियो। अमेरिका आज पनि धेरै उत्पादनहरूका लागि चीनमा निर्भर छ। 

अमेरिकाले चीनमाथिको भन्सार दर १४५ प्रतिशत पुर्‍याएदेखि नै एप्पलले प्रत्येक एक हजार डलरको आईफोनमा लगभग सात सय डलरको आयात करको सामना गरिरहेको छ। ९० प्रतिशत आईफोन चीनमा बन्छन्। 

अमेरिकाले अहिले पनि चीनमा १४५ प्रतिशत र अन्य देशहरूमा १० प्रतिशत कर लगाएको छ। यद्यपि, चीनले व्यापार युद्धमा कडा अडान कायम राख्दै अमेरिकासँग वार्ता र प्रतिस्पर्धा जारी राख्ने स्पष्ट गरेको छ। 

प्रकाशित: ३१ चैत्र २०८१ १०:१२ आइतबार