४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अतिवादी निसानामा हिन्दु,जोगाउँदै मुस्लिम

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेको केही घण्टामा बंगलादेशको राजधानी ढाकामा रहेका एक हिन्दु युवा अविरुप सरकारलाई उनकी दिदीले फोन गरिन ।

९० प्रतिशत मुस्लिम बाहुल्य रहेको अविरुपको परिवार बङ्गलादेशमा बस्छन् । राजधानी ढाकाबाट १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा  उनीहरूको घर छ । 

अविरुपकी दिदी फोनमा निकै आतङ्कित सुनिएकी थिइन् । उनका श्रीमानको निधन भइसकेको थियो । दिदीको परिवार संयुक्त रुपमा बस्ने ठुलो परिवार रहेको अविरुपको भनाई छ ।

‘दिदी डराइरहेकी थिइन् । उनले आफ्नो घरमा भीडले हमला र लुटपाट गरेको बताइन,’ अविरुप भन्छन् । अविरुपका अनुसार उनकी दिदीले लाठी डन्डा बोकेको करिब सय जनाको भीड उनको घरमा पसेर फर्निचर, टेलिभिजन, बाथरुम फिटिङ र घरको ढोकाहरू फोडिदियो । निस्किनुअघि भीडले घरमा राखिएको सारा पैसा, गहना लुटेर लग्यो । तर, १८ जना घरका सदस्यलाई भने कुनै कुटपिट गरेन । घरमा १८ मध्ये ६ जना बालबालिका पनि थिए । 

भीडले निस्कने बेला चिल्लाएर ‘तिमिहरू आवामी लिगको वंशज हौं । तिमिहरूकै कारण देशको हालत खराब भएको छ । तिमिहरूले देश छाड्नुपर्छ’ भनेर गयो ।

हिन्दु किन निशानामा ?

अविरुपले यो घटनाका कारण आफूलाई धक्का लागे पनि हैरान भने नभएको सुनाए । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुलाई आम तवरले हसिनाको पार्टी आवामी लिगकै समर्थक मानिने अविरुप बताउँछन् । यही कारण हिन्दुमाथि इस्लामिक देश चाहने अक्सर विरोधी समूह आक्रमण गर्छन् ।

हसिनाले देश छाडे पनि सामाजिक सञ्जालमा हिन्दुको सम्पत्ति र मन्दिरमा हमला जोडिएका खबरको बाढी नै आइरहेको छ । भारतका विदेश मन्त्री एस जयशंकरले ६ अगस्टमा भारतीय संसदमा नै यस विषयमा बोलेका छन् । 

जयशंकरले भनेका छन्,‘सबैभन्दा बढी चिन्ताजनक कुरा बङ्गलादेशमा बसोबास रहेका अल्पसङ्ख्यकको छ । उनीहरूका पसल र मन्दिरमाथि धेरै ठाउँमा हमला भएको जानकारी प्राप्त भएको छ । यद्यपि अहिले यसबारेमा पूरा जानकारी मिलेको छैन ।’

यस्तोमा यो सबै घटनाका बिचमा कैयौँ मुस्लिम युवाहरू नै हिन्दमाथिको यो बर्बरताविरुद्ध र धार्मिक संस्थाको रक्षाका लागि अगाडि आएका छन् । अविरुपले बिबिसी हिन्दीलाई भनेका छन्,‘बङ्गलादेशी हिन्दु सहजै निशाना बन्छन् । जब जब आवामी लिग सत्ता गुमाउँछ, हिन्दुमाथि हमला हुन्छ ।’

यसपटक अविरुपकी दिदीमाथि आक्रमण भए पनि यो पहिलो पटक भने नभएको अविरुप बताउँछन् । सन् १९९२ मा जब भारतको अयोध्यामा बाबरी मस्जिदमाथि विध्वंस भयो, त्यो बेला अविरुपकी दिदीको घरमा तोडफोड भएको थियो । त्यसको एक दशकसम्म पनि कैयौँ पटक हिन्दुमाथि आक्रमण भएका छन् ।

मुस्लिम गर्दै छन् हिन्दुको रक्षा 

बंगलादेशको एक मानवअधिकारवादी समूह एनओ सलिस केन्द्रको आँकडाअनुसार जनवरी २०१३ देखि सेप्टेम्बर २०२१ को बिचमा हिन्दु समुदायमाथि तीन हजार ६७९ हमला भएका छन् । यसमा तोडफोड, आगजनी र निशाना बनाएर कैयौँ हिंसा गरिएका घटना सामेल छन् ।

२०२१ मा दुर्गा पूजा भइरहेका बेला हिन्दु अल्पसङ्ख्यकको घर र मन्दिरमाथि हमला भएपछि मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले भनेको थियो,‘बङ्गलादेशमा पछिल्ला कैयौँ वर्षमा व्यक्तिमाथि लगातार हमला, साम्प्रदायिक हिंसा र अल्पसङ्ख्यकको घर र पूजा स्थललाई बरबाद गर्ने किसिमका घटना देखिइरहेका छन् । यी घटनाको न्यूनीकरण गर्न राज्य आफ्नो दायित्व पूरा गर्न विफल भइरहेको छ ।’

सोमबार अविरुप सरकारको परिवारका अन्य सदस्यले पनि हिंसाको सामना गर्नुपरेको छ । यद्यपि ढाकाबाट करिब १२० किलोमिटर टाढा किशोरगंजमा उनका आमाबुबाको घरलाई भने बचाइएको छ । यसको कारणबारे बोल्दै अविरुप भन्छन्,‘हाम्रो परिवार त्यहाँ प्रतिष्ठित परिवार हो । यस्तै छरछिमेकमा हामी सबैलाई चिन्दछौं ।’ अविरुपका अनुसार उनकी आमा एक विद्यालय चलाउँछिन् । उनको व्यापारिक साझेदारले फोन गरेर आक्रमणकारी समूह आक्रमण गर्ने हिन्दुहरूको सम्पत्तिको सूची बनाइरहेको जानकारी दिएका थिए । साझेदारले सचेत पार्दै भनेका थिए,‘तपाईंको नाम त्यो सूचीमा त छैन, तर अलि ख्याल राख्नुहोला ।’

त्यसपछि अविरुपका बुबाले एक सानो भीड आफ्नो घरबाहिर फलामको गेटमा जम्मा भइरहेको देखेपछि परिवारलाई भित्र बन्द गरिदिए । ‘बुबाले कसैले भनेको सुन्नुभएको रहेछ । त्यहाँ नजानु, त्यहाँ केही नगर्ने हो,’ अविरुपले भने । त्यसपछि भीड आफै तितरबितर भयो । तर, केही दूरी अगाडि किशोरगंजको नोगुआ इलाकामा हिन्दुको घरमा लुटपाटको खबर आएको उनले बताए । 

अविरुप भन्छन्,‘मैले सुनेअनुसार त्यहाँ २०–२५ घरमा हमला गरिएको छ । मेरो हिन्दु साथीको सुनको पसलका ढोका तोडी भित्र पसेर सबै गहना लुटिएको छ । यद्यपि तिजोरी तोड्न र लुटेर लैजान नसकेका रहेछन् ।’

अगाडि के हुन्छ ?

ढाकाबाट करिब दुई सय किलोमिटर उत्तर शेरपुर जिल्लाको एक टोलमा अविरुप सरकारकी श्रीमतीको घर पनि खतरामा थियो । यद्यपि उनको घरमा भने आक्रमण भएको छैन । तर भीडले छिमेकी एक हिन्दुको घरमा भने लुटपाट गरेका छन् । राम्रो पक्ष के भने हिंसाको खबर फैलनासाथ स्थानीय मुस्लिमले हिन्दु घर र मन्दिरलाई चारैतर्फबाट सुरक्षा घेरा हालेर बचाएका छन् । ‘पूरै बङ्गलादेशमा यही भइरहेको छ, मुसलमानले हिन्दुको सम्पत्ति रक्षा गरिरहेका छन्,’ अविरुप भन्छन् ।

तर जोखिम भने कम भएको छैन । सोमबार राति हुनासाथ ढाकामा अविरुप सरकारको १० तले अपार्टमेन्टको बाहिर भीड जम्मा हुन सुरु भएको थियो ।अविरुप आफ्नी श्रीमती र छोरीका साथ त्यहाँ बस्छन् । 

त्यो भीड त्यो भवनमा रहने आवामी लिगका एक काउन्सेलरको खोजीमा त्यहाँ जम्मा भएको अविरुपलाई लागेको थियो ।

‘म छैठौं तलाको बालकोनीमा आएर हेर्दा भीड भवनमा पत्थरले हानिरहेको र ढोका तोड्ने कोसिस गरिरहेको थियो,’ अविरुप भन्छन्,‘ढोका राम्रैसँग बन्द थियो, यस कारण भीड भित्र आउन पाएन । पार्किङमा राखिएका केही गाडी र झ्यालका सिसामा नोक्सान पुगेको देखिन्छ ।’

उता अविरुपकी दिदीले उनको परिवारलाई अझै पनि आक्रमणको डर रहेको सुनाएकी छन् । अविरुपले  सेनामा रहेको आफ्नो साथीलाई फोन गरेर अपिल पनि गरेका छन् सैन्य गाडीले आसपास गस्ती गरिदेओस् ।

‘यो एकदमै पीडादायक समय छ । यहाँ केही कानुनी व्यवस्था छैन । र, हामीलाई फेरी निशाना बनाइरहेको अवस्था छ,’ अविरुपको दुखेसो छ । बिबिसी हिन्दीबाट साभार

प्रकाशित: २३ श्रावण २०८१ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App