हमास र इजरायलबीच ४ दिनका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको छ। झन्डै डेढ महिनादेखि जारी युद्ध ४ दिनका लागि अस्थायी रुपमा रोक्ने दुबै पक्षबीच सहमति भएको हो।
इजरायल र हमासबीच बहुप्रतिक्षित सहमति भएसँगै हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई रिहा गर्ने बताएको छ। बीबीसीका अनुसार सुरुवाती चरणमा ५० जना बन्धकलाई रिहा गरिनेछ। जसमा महिला र बालबालिका रहनेछन्। त्यसपछि ४ दिनसम्म अस्थायी रुपमा युद्ध रोकिने छ।
त्यसबाहेक सहमतिमा थप ५० जना बन्धकलाई रिहा गर्नका लागि एक दिन अझै युद्ध विराम गरिने पनि उल्लेख छ।
मङ्गलवार इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले ५० जना बन्धकलाई रिहा गर्ने पुष्टि गर्दै ४ दिनका लागि अस्थायी रुपमा युद्ध विराम गरिने पुष्टि गरेको थियो।
इजरायली सरकार, इजरायली सेना र सुरक्षा निकायले सबै बन्धकहरूको स्वदेश फिर्ति नभएसम्म र हमासको अन्त्य नभएसम्म युद्ध जारी रहने पनि बताएको छ।
प्रकाशित: ६ मंसिर २०८० ०४:०१ बुधबार