११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्दुकको मोल २५ लाख डलर

लन्डन- ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक २५ लाख अमेरिकी डलरमा लिलामी भएको छ। विश्वभरीका पुरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी “सुथबाइज लन्डन”ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउण्ड (पच्चीस लाख अमेरिकी डलर) खन्याएको सुथबाइजद्वारा प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ।

चीनमा सर्वप्रथम बनाइएको भनी दावी गरिएको सो बन्दुक प्राचीन समयको आधुनिक हतियार मानिएको थियो। कलात्मक डिजाइनमा बुट्टा कुँदेर बनाइएको उक्त बन्दुकको कुन्दामा चीनका किङ्गवंशका क्यानलोङ्ग बादशाहको शाही निशाना अङि्कत छ।

चिनियाँ इतिहासमा क्यानलोङ्ग बादशाह पुरातात्विक महत्वका, कलात्मक र अनौठा मालसामानका पारखी, शौखिन र महान सङ्कलक भन्ने गुणले परिचित छन्। सो बन्दुक शाही हतियार कारखानामा उनकै लागि बनाइएको थियो। बन्दुक लिलामीमा दशलाखदेखि पन्ध्रलाख पाउण्डसम्म उठ्ने अडकल गरिएकोमा बोल, कबोलमा अडकल गरेभन्दा बढ्तै रकम उठेको छ।

केही वर्षयता विश्वका विशिष्ट खालका धनाढ्यहरुले चिनियाँ प्राचीन तथा पुरातात्विक सामाग्रीहरुमा निकै रुची राखेको पाइएको छ। यस्ता सरसामान हङ्गकङ्ग, लन्डन, न्युयोर्क जहाँसुकै लिलाम गरे पनि बिशिष्ट ग्राहक खाइपुग्छन् र भनेजत्ति खन्याउँछन्, पैसा उठ्न कुनै समस्या नै छैन बताउँछन् सुथबाइज लन्डनका चिनियाँ कलाकृति शाखाका वरिष्ठ निर्देशक रोबर्ट ब्य्राड्लो।

चिनियाँ राजसंस्थाको इतिहासमा सबभन्दा लामो अवधिः सन् १७३६ देखि १७९५ करिब ५९ वर्षसम्म अविच्छिन्न राज्य गर्ने क्यानलोङ्ग बादशाह (जन्मः सन् १९११, मृत्युः १७९९) लाई त्यतिखेर “स्वर्गका अत्यन्त शक्तिशाली पुत्र” कहलाइन्थे।

प्रकाशित: २६ कार्तिक २०७३ ०४:५८ शुक्रबार

बन्दुकको मोल २५ डलर