१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब मानव भिडबाट ट्रक हुइँक्याइयो

काठमाडौं- फ्रान्सका राष्ट्रपति फ्रानकोइज होल्यान्डेले अगस्ट महिनादेखि संकटकाल हटाउने घोषणा गरेको एक घन्टापछि नै बिहीबार राति ११ बजे (स्थानीय समय) दक्षिणी सहर निसमा दोस्रो ठूलो आतंककारी आक्रमण भएको छ।

त्यसमा शुक्रबार सा“झसम्म ८४ जनाको ज्यान गएको छ भने १८ जना गम्भीर छन्। 

नौ महिनाबीच फ्रान्समा भएको यो दोस्रो ठूलो आक्रमण हो। यसअघि गत कात्तिक २६ को आतंककारी हमलामा १ सय ३७ जनाको मृत्यु भएको थियो। यसपछि फ्रान्स सरकारले संकटकाल घोषणा गरेको थियो। बिहीबारको आक्रमणपछि पनि राष्ट्रपतिले संकटकाल लम्बिने बताए।

दुई किलोमिटर दुरीबाट तीव्र गतिमा आएको ठूलो ट्रक (लरी)का ड्राइभरले राष्ट्रिय दिवस मनाइरहेको भीडमा ट्रक गुडाएर फायरिङ गर्दा शुक्रबार सा“झसम्म ८४ जनाको मृत्यु भएको छ। फ्रान्स क्रान्ति सफल भएको दिनका रुपमा हरेक वर्षको जुलाई १४ तारिखमा यो दिवस मनाइन्छ।

दिवसका अवसरमा गरिएका ध्वजापताका, सलामी लगायत कार्यक्रम सकिनै लाग्दा यो आक्रमण भएको थियो। उत्सव मनाउन करिब ३० हजार सर्वसाधारण भेला भएका थिए।

सर्वसाधारणले ढुक्कसित दिवस रमाइरहेका बेला एक्कासि ट्रक हुत्तिँदै आएको थियो। ट्रकले किचेर र चालकले चलाएको अन्धाधुन्ध गोली लागेर सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा १० भन्दा बढी बालबालिका मारिएको सुरक्षा अधिकारीले जनाए। घाइते ५० जनामध्ये १८ को अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन्। मारिनेमा विदेशी नागरिक पनि छन्।

प्रत्यक्षदर्शीका अनुसार ट्रक चालक मोहम्मद लहौअैजे बौह्लेलले भीडका सर्वसाधारणलाई किचेर मारेपछि ट्रक रोके। र, पेस्तोल निकालेर भीडमा अन्धधुन्ध गोली चलाए। गोली चलाइरहेका बेला प्रहरीले हानेको गोली लागेर चालक बौह्लेलको मृत्यु भएको छ।

घटनाका प्रत्यक्षदर्शी इजिप्टका नागरिक नाडरएल सफीले चालकको आक्रमण रोक्न आफूले गरेको प्रयास सुनाउँदै बिबिसी संवाददातालाई भनेका छन्, 'म आक्रमण रोक्न ठूलो स्वरले भनिरहेको थिएँ। हात हल्लाएर रोक्न धेरै प्रयास गरेँ। ट्रकमुनि धेरै सर्वसाधारण परेका छन् भनेर चिच्याइरहेको थिएँ। तर उसले मेरो कुरा सुन्ने प्रयास नै गरेन। उसले मोबाइल जस्तो कुनै वस्तु निकालेको पनि देखेँ। मैले अनुमान लगाएँ, उसले एम्बुलेन्स बोलाउन त्यो फोन निकाल्दै होला, तर म गलत थिएँ। उसले बन्दुक निकाल्यो र प्रहरीलाई ताकेर हान्न थाल्यो।'

समाचार एजेन्सीका अनुसार प्रहरीलाई हान्न थालेपछि त्यसको प्रतिरक्षामा प्रहरीले चलाएको गोली लागेर ३१ फ्रान्को–ट्युनिसियन चालक बौह्लेल मारिएका हुन्। उनको विस्तृत परिचय उनी मारिएपछि ट्रकभित्रबाट प्राप्त कागजपत्रबाट खुलेको हो।

उक्त ट्रकबाट बन्दुक र ग्रिनेडसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले आक्रमण उसले मात्र गरेको हो कि अरु समूह पनि यसमा संलग्न छन् भन्ने कुरा यकिन गर्न सकेको छैन। निसको घटनास्थल वरपर सुरक्षा सतर्कता बढाइएको छ।

आक्रमणको निन्दा गर्दै फ्रान्स सरकारले शनिबारदेखि तीन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आक्रमण भएपछि एभिगनन पुगेका राष्ट्रपति होल्यान्डे फर्किएका थिए। 'आतंककारी हमला हो भन्ने कुरा नकार्न सकिन्न,' होल्यान्डेले भनेका छन्।

फ्रान्सका प्रधानमन्त्री मैनुएल वाल्सले र 'फ्रान्सको आत्मा' मा आक्रमण भएको बताएका छन्। 'आतंककारीको लक्ष्य डरत्रास पैदा गरिराख्ने होला। तर फ्रान्स ठूलो प्रजातान्त्रिक मुलुक हो, यस्ता आक्रमणबाट विचलित हुँदैनांै, देशलाई अस्थिर हुन दिँदैनौं।'

यसैबीच, बिबिसीका सुरक्षा संवाददाता फ्राङ्क गार्डनरका अनुसार आफूलाई इस्लामिक स्टेट (आइएस) बताउनेका प्रवक्ता अबु मुहम्मदले केही महिनाअघि आफ्ना कार्यकर्तालाई भनेजस्तै गरी बिहीबार ट्रक चालकले त्यही प्रकृतिको आक्रमण गरेका छन्।

आक्रमणको नेपाल, अमेरिका, चीन, भारत, बेलायत, जर्मनीलगायत सबै मुलुकका प्रमुख कार्यकारीले निन्दा गरेका छन्। उनीहरुले आतंकवादविरुद्ध एक हुन आह्वान पनि गरेका छन्।

गत कात्तिकको घटनाको जिम्मेवारी पनि आइएसले लिएको थियो। पेरिसको सेन्ट डेनिसमा भएको उक्त घटनामा १ सय ३७ जनाको मृत्यु भएको थियो भने १ सय ३० घाइते भएका थिए। आतंककारीले धन्धधुन्ध गोली चलाएर आक्रमण गरेका थिए। यसपछि यही समूहले बेल्जियम ब्रसेल्सको जाभेन्तेमस्थित अन्तर्राष्ट्रिय विमानस्थल र मालबिक मेट्रो स्टेसनमा बम आक्रमण गरेको थियो। यसमा ३२ जना सर्वसाधारण र तीन जना शंकास्पद व्यक्ति मारिएका थिए। तीन सय जना घाइते भएका थिए। यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट अफ इराक र दि लेभिन्ट (आइएसआइएल)ले लिएको थियो।

गत असार १८ गते बंगलादेशको राजधानी ढाकाको एक रेस्टुरेन्टमा भएको आक्रमणमा २१ जना सर्वसाधारण र २ जना सुरक्षाकर्मी मारिएका थिए। उक्त घटनामा सुरक्षाकर्मीले ५ जना आक्रमणकारीलाई मारेका थिए। यस घटनाको जिम्मेवारी आइएसआईले लिएको थियो।

इन्टरपोलको आग्रह

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले निस घटनाको अनुसन्धानमा फ्रान्सका सम्बन्धित निकायलाई सहयोग गर्न सबै देशका प्रहरी संगठनलाई आग्रह गरेको छ।

इन्टरपोल प्रमुख जुरजेन स्टकले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। स्टकले निस घटनामा विदेशी नागरिक पनि परेकाले तिनको पहिचान लगायत काममा सहयोग गर्न सबै देशका इन्टरपोल युनिटलाई आग्रह गरेका हुन्।

प्रकाशित: १ श्रावण २०७३ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App