१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

खड्गी इन्स्टिच्युटले ४० जनालाई नि:शुल्क अप्रेसन शिविर गर्ने

ललितपुरस्थित खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले आरुस लाइफस्टाइल अस्पताल र रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका ४० जना बिरामीको पूर्ण निःशुल्क शल्यक्रिया गर्ने भएको छ।

इन्स्टिच्युटले बिहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो। आगामी पुस १४, १५ र १६ गते इन्स्टिच्युटको कुपण्डोलस्थित कार्यालयमा हुनेछ। मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थीको समस्याको मात्र शल्यक्रिया गरिनेछ। निःशुल्क सेवा लिनको लागि विपन्न बिरामीहरुले इन्स्टिच्युटमा सम्पर्क गरी आफ्नो नाम दर्ता  गर्नुपर्नेछ।

नाम दर्ता गर्ने बिरामी वास्तविक रुपमा विपन्न हुनुपर्ने, स्थानीय वडा कार्यालयवाट विपन्न भएको सिफारिश पत्र लिएर आउनु पर्ने लगायतका प्रावधान पूरा भएमा मात्र यो निुःशल्क शल्यक्रिया गरिने इन्स्टिच्युटका निर्देशक तथा युरोलोजिष्ट डा. संजय खड्गीले बताए।

निजी क्षेत्रमा सञ्चालित यो अस्पतालले गत वर्ष फागुनमा पनि यस्तै शिविर सञ्चालन गरेको थियो। चार महिनाको अन्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकोमा वास्तविक विपन्न व्यक्तिको पहुँचमा प्रोस्टेट ग्रन्थी र मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने उद्देश्य रहेको निर्देशक खड्गीले बताए। ‘हुनेबाट लिने हो र नहुनेलाई निःशुल्क सेवा दिने हो’ उनले भने।

गत वर्षदेखि सुरु भएको यो इन्स्टिच्युटले  प्रत्येक दिन ४ जना बिरामीलाई निःशुल्क शल्यक्रिया गर्ने कोटा राखेको र हालसम्म २९ जनाले पूर्ण निःशुल्क शल्यक्रिया गरेको र ७५ जनाले न्यून शुल्कमा गरी १ सय ३० जना विपन्न समूहका बिरामीको पहुँचमा शल्यक्रिया सेवा दिइसकेको डा. खड्गीले बताए।

‘हामी काठमाडौँको टाढाका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गछौं र त्यहींबाट विपन्न छनौट गरेर मात्र सेवा दिने गरेका छौं’ उनले भने। कुनै पनि विपन्न आएमा ७५ हजार शुल्कमा गरिने शल्यक्रिया २० हजारमै गर्ने गरेको खड्गीले सुनाए।

प्रकाशित: २५ कार्तिक २०७९ १२:४६ शुक्रबार

खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी आरुस लाइफस्टाइल अस्पताल र रेड क्रसन्ट अफ कुवेत