४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरबाट लिए पाँच हजार जनाले सेवा

रोटरी क्लब अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरीयनको सहयोगमा सञ्चालित निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट पाँच हजार एक सय ८४ जना लाभान्वित भएका छन्।  

तनहुँको व्यास नगरपालिका–३ खुला मैदानमा भएको शिविरको पहिलो दिन एक हजार तीन सय २५ र दोस्रो दिन तीन हजार आठ सय ५९ जनाले स्वास्थ्य सेवा लिएको रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार जाडो मौसमको सुरुआती समय भएकाले हाडजोर्नीका बिरामी बढी लाभान्वित भएका छन्। स्वास्थ्य परीक्षणमा आएका बिरामीमध्ये एक हजार ५० जनाले हाडजोर्नीसम्बन्धी सेवा लिएको उनले बताए।  

त्यस्तै दन्त रोगका नौ सय नौ, आँखा परीक्षण नौ सय पाँच, स्त्री रोगका सात सय पाँच, छालासम्बन्धी पाँच सय ७०, मुटुरोगसम्बन्धी पाँच सय २५, नाक, कान र घाँटीका दुई सय ७० र दुई सय ५० जनाले बालरोगसम्बन्धी स्वास्थ्य परीक्षण सेवा तथा औषधि लिएका छन्।

परीक्षणका क्रममा देखिएका जटिल समस्यासमेत विदेशी चिकित्सकबाट समाधान गरिएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं कार्यक्रमका सहसंयोजक दामोदर भण्डारीले जानकारी दिए। 'विदेशी चिकित्सकले विशेषगरी दन्त र आँखाको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएका छन्। यसका बिरामी नै बढी हुँदा योजनाअनुरुपको सेवा दिन सकेको अनुमान गरेका छौँ', उनले भने। आँखा र दन्तबाहेकका अन्य रोगका बिरामीलाई स्वदेशकै विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गरी बिरामीको उपचार गरिएको भण्डारीले बताए।  

क्लबका अध्यक्ष रामलाल श्रेष्ठले विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नगरवासीलाई विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगको निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यले गरिएको शिविरबाट धेरै लाभान्वित भएको अनुमान गरेको बताए। ताइवानका ७४ चिकित्सकको टोलीबाट स्वास्थ्य सेवा प्रवाह गरिएको उनले बताए।  

स्वास्थ्य शिविरमा दाँत, हातजोर्नी, आँखा, स्त्री तथा प्रसूति रोग, यौनरोग, बालरोग, प्रयोगशाला परीक्षण सेवा, एक्सरे÷भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो। उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको कार्यक्रमका संयोजक रजिनलाल श्रेष्ठले बताए। 

व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको विशेष सहयोगमा सञ्चालन भएको शिविरमा इनरह्विल क्लब दमौली, रोटर्‍याक्ट्र क्लब अफ दमौली, रोटर्‍याक्ट क्लब वेदव्यास र रोट¥याक्ट क्लब भानु र भिमादले स्वयंसेवी र दमौली अस्पताल, रोटर्‍याक्ट क्लब अफ पोखरा र रोटरी क्लब अफ ताइवानको विशेष सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो। रासस

प्रकाशित: १६ कार्तिक २०७९ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App