१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बिमा उपचारको रकम नआउँदा गोरखा अस्पताललाई तलब खुवाउनै मुस्किल

गोरखा अस्पतालले २०७८ साउन देखि माघसम्म एक करोड १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरेकाहरूलाई सेवा दिएको छ। उक्त रकममध्ये अहिलेसम्म ६० लाख मात्रै प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए।

‘बिमितहरूलाई सेवा दिए बापतको रकम स्वास्थ्य बिमा बोर्डले पठाउन ढिला गर्दा समस्या भएको छ’ उनले भने ‘समितिले राखेका कर्मचारीलाई तलबभत्ता, औषधि खरिद, ल्याब केमिकल, भत्ताहरू दिन सकेका छैनौँ।’

अस्पतालमा समितिमार्फत राखिएका २० जना कर्मचारीको खर्च मासिक चार लाख ५० हजार छ। अन्य भुक्तानी दिनुपर्ने रकमलाई तलबमा खर्च गरेर बिमा रकम आएपछि हिसाब मिलान गर्ने गरी तलब भने नरोकिएको अस्पतालले जनाएको छ।

अस्पतालले बिमितको उपचार गरे बापतको रकम छिटो पठाइदिन स्वास्थ्य बिमा बोर्डलाई पत्राचार पनि गरेको छ। ‘केही दिनअघि पनि पत्राचार गरेका छौँ तर अझै पैसा आएन’ मेसु श्रेष्ठले भने।

स्वास्थ्य बिमा गरेका व्यक्ति अस्पतालमा सेवा लिन जाँदा टिकट, चेकजाँच, शल्यक्रिया, ल्याब लगायत बिमा रकम एक लाख रुपैयाँ बराबरको औषधि उपचार निशुल्क हुन्छ। ‘हामीले बिमा कार्ड हेर्छौ र त्यहाँ उपचार रकम बाँकी रहेछ भने रेकर्ड लिएर सबै सेवा निशुल्क दिन्छौँ’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘भर्ना भएका बिरामीको डिस्चार्ज भएपछि बिमा दावी गर्छौ भने तत्काल सेवा लिन आएकाहरूको सोही दिन दाबी गर्छौ।’ स्वास्थ्य बिमा बोर्डले अनलाइनमार्फत बिमा रकम दावी गर्न मिल्ने व्यवस्था गरेको छ।

स्वास्थ्य बिमा बोर्ड गोरखाका प्रमुख विशाल लौडारीले बिमाको दावी भुक्तानी केन्द्रीय कार्यालयबाट हुने बताउँदै भने, ‘केही दिनअघि लेखाका कर्मचारीको सरुवा भएकाले ढिलो भएको हुन सक्छ।’

बोर्डले मासिक रूपमा दावी रकम प्रमाणित ठहरिएमा भुक्तानी दिने ब्यवस्था गरेको छ  तर अहिले भने महिनौँ बितिसक्दा समेत गोरखा अस्पतालले दावी गरेको बिमा रकम भुक्तानी भएको छैन।

गोरखामा अहिले ७० हजार चार सय छ जनाले स्वास्थ्य बिमा गराएका छन्। पाँच जनासम्मको परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेर पूरै परिवारको बिमा गराउन सक्ने ब्यवस्था छ। बिमा दावी गर्न सेवा लिने नलिने सबैले वार्षिक नवीकरण गर्नुपर्छ।

प्रकाशित: ५ फाल्गुन २०७८ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App