१४ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कर्मचारीमा संक्रमण देखिएपछि त्रियुगा नगरपालिका बन्द

कर्मचारीमा कोभिड संक्रमण देखिएपछि त्रियुगा नगरपालिकाको कामकाज मंगलबार बन्द गरिएको छ। सोमबारको परीक्षणमा एक कर्मचारी संक्रमित पाइएपछि नगरपालिकाको कामकाज बन्द गरिएको नरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए।  

राईका अनुसार कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवाग्राही र थप कर्मचारीमा संक्रमण हुन नदिन एकदिन नगरपालिकाको कामकाज बन्द गर्ने निर्णय गरिएको हो। कार्यालयको कामकाज रोकेर मंगलबार नगरपालिकाका सबै कर्मचारीको एन्टीजेन परीक्षण गरिएको छ। नगरका ७० (सबै) कर्मचारीको परीक्षण गर्दा थप दुईजनामा पनि संक्रमण पुष्टि भएको छ।  

नगर स्वास्थ्य शाखाका सहसंयोजक अवधनारायण चौधरीले अघिल्लो दिन अधिकृतस्तरकी एक महिला कर्मचारी संक्रमित पाइएपछि नगरपालिकाका ७० कर्मचारी सबैको मंगलबार परीक्षण गरिएको बताए। मंगलबारको परीक्षणमा एक अधिकृतस्तर र एक सहायक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको चौधरीले बताए। सोमबार १० कर्मचारीको परीक्षण गर्दा १ जनामा संक्रमण पाइएपछि मंगलबार कामकाज रोकेर विहानदेखि नगर परिसरमा सबै कर्मचारीको परीक्षण गरिएको हो।

सोमबार त्रियुगा नगरपालिकाका ११ महिलासहति १९ जनामा संक्रमण पुष्टि भएको थियो। जिल्लाभरी ११ महिलासहति ३० जना संक्रमित पाइएकोमा बाँकी संक्रमित कटारी नगरपालिकामा ७ र लिमचुङबुङ गाउँपालिकामा ४ जना थिए। पछिल्लो समय निशेधाज्ञा खुलेसँगै कोभिड संक्रमण देखिने क्रम निरन्तर चलिरहेको छ। स्वास्थ्य कार्यालय उदयपुरका अनुसार दैनिक सरदर १५ जनाका दरले संक्रमित फेला परिरहेका छन्।  

त्रिुयुगा नगरपालिकाकै २ नं. वडामा एकाघरका ३ जनाको कोविडले ज्यान लिएपछि सातादिनका लागि वडा सिल गरिएको छ। २५ दिनको अवधिभित्र एकाघरका दुई पुरुष र एक महिलाको ज्यान गएपछि प्रशासन र स्वास्थ्यको परामर्शमा २ नं. वडाको खैजनपुर ३ दिनदेखि सिल गरिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताएका छन्।  

उदयपुरमा २ साताअघिसम्म संक्रमण दर घट्दै गएको पाइएकाले निशेधाज्ञा खुकुलो पार्दै लगिए पनि पछिल्लो समय मानव चहलपहल बढेसँगै पुनः संक्रमण बढ्दै गएको छ। जिल्लामा हाल १ सय २० महिलासहित २ सय ७० जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार २ सय २२ महिलासहित २ हजार ६ सय ४६ जना संक्रमित निको भएका छन्। त्यस्तै कोविडका कारण जिल्लामा १६ महिलासहित ५२ जनाको दुःखद निधन भएको स्वास्थ्य कार्यालयको अभिलेखमा उल्लेख छ।

प्रकाशित: १९ श्रावण २०७८ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App