५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संक्रमण दर २७ प्रतिशतमा झर्‍यो

गत २४ घण्टामा १७ हजार ४८० जनामा कोरोना भाइरस परीक्षण गरिएकोमा ४ हजार ७६२मा संक्रमण देखिएकोछ। योसँगै वैशाखको अन्तिम साता ४५ देखि ५० प्रतिशतको हाराहारीमा पुगेको संक्रमण दर गत २४ घण्टामा २७ दशमलव २४ प्रतिशतमा झरेकोछ।  

आइतबार १२ हजार ७७० जना र शनिबार १४ हजार ७५२ जनामा भाइरस परीक्षण गर्दा संक्रमण दर (पोजिटिभिटी दर) ३४ प्रतिशत र शनिबार ३० प्रतिशत रहेको थियो। अन्य दिनको तुलनामा गत आइतबार र शनिबार कम परीक्षण भएको थियो। जेठ महिनाको ७ गते महिनाकै सबैभन्दा बढी अर्थात् २३ हजार २२६ जनामा परीक्षण भएको थियो र उक्त दिनको संक्रमण दर ३७ प्रतिशत थियो। 

महामारी व्यापक रूपमा समुदायका फैलिरहेको र पछिल्ला दिनहरूमा सहरमा भन्दा गाँउमा यो फैलँदो क्रममा रहेको पृष्ठभूमिमा परीक्षणको दायरा घट्नु व्यावहारिक नभएको विज्ञ बताउँछन्। महामारी नियन्त्रण गर्ने उद्देश्यले गत १ महिनायता काठमाडौंलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।  

गत २४ घण्टामा देशभर संक्रमण दर २७ प्रतिशतमा रहे पनि महामारीको फैलावटको हिसाबले यसलाई अत्यन्त उच्च सक्रमण दर मानिन्छ। विश्व स्वास्थ्य संगठनले मे २०२० मा तोकेको मापदण्डअनुसार कुनै पनि देशमा ५ प्रतिशतभन्दा कम पोजिटिभिटी रेट भएमा मात्र महामारी नियन्त्रण्भित्रै रहेको मानिन्छ। सक्रमण दर ५ प्रतिशतभन्दा माथि महामारी नियन्त्रणको लागि निषेधाज्ञालगायत अन्य सख्त उपाय अवलम्बन गर्न जरुरी हुन्छ।  

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरसका कारण ११४ जनाको ज्यान गएको छ। गत वर्ष महामारी सुरु भएयता कुल ७ हजार ३८६ को मृत्यु भएकोछ। नेपालमा कोरोना भाइरस संक्रमितको मृत्युदर १ दशमलव ६ प्रतिशत पुगेको छ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App