१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो।

अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ। दोस्रो डोज लगाएको २ सातापछि अस्ट्राजेनेका खोप इन्डियन भेरियन्ट रोक्न ६० प्रतिशत प्रभावकारी र बेलायती भेरियन्ट रोक्न ६६ प्रतिशत प्रभावकारी देखिएको छ। इन्डियन भेरियन्ट रोक्न फाइजर खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्ट रोक्न ९३ प्रतिशत सक्षम रहेको पनि अध्ययनले देखाएको बिबिसीले जनाएको छ। 

बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डले फाइजर खोपको तुलनामा बेलायतमा अस्ट्राजेनेका खोपको प्रयोग ढिलो सुरु गरिएकाले यी दुई खोपको प्रभावकारितामा फरक आएको हुन सक्ने जनाएको छ। बेलायतमा फाइजर खोपलाई पहिला अनुमति दिइएको थियो। बेलायतको उक्त संस्थाले अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति र मृत्यु रोक्न खोप झनै बढी प्रभावकारी रहेको देखिएको जनाएको छ। अस्ट्राजेनेका खोपले प्रभावकारिता देखाउन केही समय लाग्ने अन्य तथ्यांकले देखाएको पनि पब्लिक हेल्थ इंग्ल्यान्डले उल्लेख गरेको छ।  

बेलायतमा उक्त अध्ययन ५ अप्रिलदेखि १६ मे सम्म गरिएको थियो। अध्ययनमा १२ हजार ६ सय ७५ भाइरसको आनुवांशिक सिक्वेन्सका केस समावेश गरिएको थियो। यीमध्ये १ हजार ५४ केस बी.१.६१७.२ नामक इन्डियन भेरियन्टसँग सम्बद्ध थिए। अध्ययनमा सबै उमेर समूहका सहभागी थिए।बिबिसीका स्वास्थ्य संवाददाता निक ट्रिगलका अनुसार अस्ट्राजेनेकाको पहिलो डोजले तुलनात्मक रुपमा कमजोर सुरक्षा दिएकाले बेलायतमा दोस्रो डोज तत्काल लगाउन आवश्यक देखिएको छ। 

नेपालमा पनि अस्ट्राजेनेका खोपको पहिलो डोज लगाएका लाखौं नागरिक दोस्रो डोजको प्रतीक्षामा छन्। उनीहरूलाई सकेसम्म छिटो दोस्रो डोजको व्यवस्थापन गर्नुपर्ने अध्ययनले देखाएको छ। अस्ट्राजेनेका खोप पहिलो डोज लगाएको ३ सातापछि गरिएको बेलायती अध्ययनको नतिजाले इन्डियन भेरियन्ट रोक्न यो खोप ३३ प्रतिशतमात्र प्रभावकारी रहेको देखाएको छ।  

पब्लिक हेल्थ इंग्ल्यान्डले गरेको समीक्षात्मक अध्ययनअनुसार खोपका कारण बेलायतमा १३ हजार मानिस मृत्यु हुनबाट जोगिएका छन् भने ३९ हजार बिरामी अस्पताल भर्ना गर्नुनपर्ने भएका छन्। हालसम्म बेलायतमा ३ करोड ७० लाखजनाले कोरोना खोपको पहिलो डोज र २ करोड २० लाखले खोपका दुवै डोज लगाइसकेको बिबिसीले जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७८ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App