१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

महामारीमा चुनाव अर्थहीन

कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले मुलुक आक्रान्त छ। मुलुकमा पछिल्ला दिनमा कोरोना संक्रमणबाट सरदर डेढ सयदेखि दुई सयजनाको मृत्यु भइरहेको छ। गण्डकी प्रदेशमा पनि पछिल्ला दिनमा सरदर २० जनाको संक्रमणबाट ज्यान गइरहेको छ। संक्रमितले अस्पतालमा भर्ना पाउन कठिन छ।

शय्या र अक्सिजन अभावमा स्वास्थ्य प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको गुनासो सुनिन थालेको छ। संक्रमण फैलिन नदिने भन्दै अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। एक प्रकारले मुलुक लकडाउन सरह छ। गरिखानेहरू घरबाट बाहिर निस्कन पाएका छैनन्। धेरैको घरमा बिहानबेलुकी चुलो बल्न मुस्किल हुन थालिसकेको छ। कोरोनाविरुद्ध सिंगो समुदाय, बस्ती, संघसंस्था लागिपरेका छन्। स्वदेशभित्रबाट मात्र नभई विभिन्न देशमा रहेका नेपालीले पनि गच्छेअनुसार सहयोग गरेर संक्रमितको ज्यान बचाउने प्रयत्न गरिरहेका छन्। विभिन्न मुलुकले पनि स्वास्थ्य सामग्री पठाएर नेपालीको पीडामा राहत थपिरहेका छन्।  

कोरोनाले आतंक मच्याइहेको यस्तो अवस्थामा पनि सरकारले ‘कामकुरो एकातिर कुम्लो बोकी ...तिर’ भनेजस्तै चुनाव घोषणा गरेको छ। तर सर्वसाधारण सरकारले महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गरेको प्रति पटक्कै खुसी छैनन्। यो बेला सरकारको ध्यान र प्राथमिकता चुनावभन्दा महामारीबाट जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने नागरिकको भनाइ छ। सामाजिक सञ्जालमा पनि जनताको ज्यान बचाउन छाडेर सरकारले चुनाव घोषणा गरेको भन्दै असन्तुष्टि प्रकट भएको छ।

सरकारले कोरोना महामारी बिर्सेर चुनाव घोषणा गर्दा जनतामाथि अन्याय भएको पोखरेलीको भनाइ छ। राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका कास्की अध्यक्ष विष्णुहरि अधिकारी भन्छन्, ‘यो बेला कोरोना महामारीविरुद्ध सरकारको प्राथमिकता हुनुपर्ने हो तर सरकारले त्यसप्रति चासो देखाएन।’ कोरोनाको यो महामारीमा सरकारले खोप किनेर जनतालाई लगाइदिनुपर्नेमा चुनाव घोषणा गरेर गलत काम गरेको उनले बताए।

‘चुनावमा खर्च हुने रकमले खोप किनेर ल्याउने, अस्पतालमा भेन्टिलेटर थप्ने, अक्सिजन सिलिन्डर थप्ने र प्लान्ट विस्तार गर्नुपर्ने हो। तर बेमौसमी बाजा बजाउने काम भएको छ,’ अधिकारीले भने, ‘एकातिर जनता रोगले मरेका छन अर्काेतिर मुलुक नै ऋणमा डुब्ने अवस्था छ। मुलुक ऋणमा डुब्नुको अर्थ आर्थिक भार जनतामाथि नै थोपरिनु हो। कोरोनाले काम नपाउँदा जनताको चुलो बल्न सकेको छैन।’

राजनीतिक दलहरूले जनताभन्दा सत्तालाई ध्यानमा राख्दा समस्या भएको उनको बुझाइ छ। कुनै पनि सरकार फेरिँदा जनतालाई खासै फरक नपर्ने उनले बताए। ‘अहिले कोरोना परास्ततिर लाग्नुपर्नेमा चुनाव घोषणा गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको छ,’ अधिकारीले भने, ‘अहिले अप्ठेरो परेको बेला जनतालाई सघाएको भए भोलि तिनै दलहरूप्रति जनताको सहानुभूति हुन्थ्यो तर दलहरूले त्यो सहानुभूति पनि गुमाएका छन्।’

कोरोना महामारीमा सर्वसाधारणलाई मलामी र जन्तसम्म नजाऊ भन्ने सरकारलाई भोट माग्ने अधिकार नभएको उनले बताए। ‘यो महामारी कहिलेसम्म रहने भन्ने निश्चित छैन। तर दलहरूमा जनता जोगाउनेबारे चेत नै खुलेन। जनता नै नजोगिए कसका लागि चुनाव गर्ने हो,’ उनले भने।

समाजशास्त्री दिनेश प्रसाइँ प्रधानमन्त्री केपी ओलीले जानाजानी असंवैधानिक काम गरेको र चुनाव घोषणा गर्दा महामारीलाई बिर्सेको बताउँछन्। सत्ता अदलबदल स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्थामा निर्वाचन घोषणा गर्नु गलत भएको उनले बताए। ‘कोरोनाको दोस्रो महामारीमा हामी छौं। अझ तेस्रो लहर आउने भनेर विज्ञले भनिरहेका छन्। यस्तो बेला अरू सबै कुरा बिर्सेर स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउनतिर ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘अहिले खोप किनेर जनतालाई लगाइदिने, अस्पतालमा शड्ढया थप्ने, औषधि किन्ने, अक्सिजन सिलिन्डर र प्लान्टको जोहो गर्ने बेला हो, चुनावमा जाने बेला होइन।’

अहिले मुलुकलाई चुनावभन्दा कोरोनाविरुद्धको खोप चाहिएको उनले बताए। ‘धेरैजसो मुलुकले अहिले आफ्ना नागरिकलाई कोरोनाबाट जोगाउन खोप दिइरहेका छन्,’ उनले भने, ‘तर हामीकहाँ सरकारलाई खोप होइन, भोट चाहिएको छ।’ उनका अनुसार यो आवधिक निर्वाचन पनि होइन। सरकार चलाउने विभिन्न विकल्प थिए। त्यसतर्फ ध्यान नदिई महामारीको मुखमा मध्यावधि चुनाव घोषणा गर्नु राम्रो होइन।  

‘यो बेला चुनावमा जानु अनैतिक काम हो। कोरोनालो जनता जोखिममा छन्। जनता, व्यवसायी कसरी बाँचेका छन् भन्नेमा खोजी गर्नुपर्ने बेला हो,’ उनले भने, ‘अर्बाै रूपैयाँ चुनावमा खर्च हुन्छ। त्यो पैसाले खोप किन्न, व्यवसायी र जनतालाई राहत दिन सकिन्छ। त्यतातिर ध्यान दिइएन।’ बेला न कुबेलाको निर्वाचनले अर्थ नराख्ने पनि उनले बताए।

व्यवसायी पनि अहिलेको अप्ठेरोमा चुनाव घोषणा गर्दा जनताप्रति अन्याय भएको बताउँछन्। पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल भन्छन,् ‘हामीलाई यो बेला बाँच्नु छ। खोप चाहिएको छ। भोट दिनु जरुरी छैन। अहिलेको समय खोपको हो, भोटको होइन।’ कोरोनाबाट जनतालाई जोगाउन खोप आवश्यक भए पनि सरकार निर्वाचनतिर लागेको उनले बताए।

‘दलहरूबीचको आन्तरिक द्वन्द्वको मारमा जनता परेका छन्। प्रधानमन्त्रीकै दलको कारण जनताले दुःख पाउनुहुँदैन,’ उनले भने, ‘अरू सबै काम छाडेर अहिले खोप र औषधि उपचारमा लागौं।’ सरकारले आर्थिक अवस्था कमजोर हुने जनताका लागि रकम खर्चेर खोप ल्याउने हो भने निजी क्षेत्र सहयोग गर्न तयार रहेको पोखरेलले बताए।

‘चुनाव घोषणाप्रति निजी क्षेत्र खुसी छैन। अहिलेका जस्ता राजनीतिक घटनाक्रम यसअघि पनि भएका हुन्,’ उनले भने, ‘तर, अहिले जनता बचाउने बेला हो। चुनाव गरेर सत्ता बचाउने बेला होइन।’ सबै दल मिलेर खोपका लागि पहल गर्नु जरुरी रहेको उनले बताए।

प्रकाशित: ९ जेष्ठ २०७८ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App