९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शव व्यवस्थापनमा गम्भीर लापरबाही

धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राति मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिमा मापदण्ड उल्लंघन गरी ५० जनाभन्दा बढी सहभागी भएको भेटिएको छ। बिहीबार दिउँसो परिवार तथा आफन्तले मृतकको शव चतरामा लगेर अन्त्येष्टि गरेका थिए। अन्त्येष्टिमा परिवार, आफन्त र छिमेकी गरी ५० भन्दा बढी सहभागी थिए।  

प्रतिष्ठानमा बुधबार राति धरान ११ का ४५ वर्षीय एक संक्रमितको मृत्यु भएको थियो। मृतकको शव प्रतिष्ठानले बिहीबार बिहान परिवारको जिम्मा लगाएको थियो। वडा नं. ११ का अध्यक्ष बाबुलाल लामाले मृतकका परिवारलाई प्रतिष्ठानका डाक्टरले फोन गरेर शव लैजान सक्नुहुन्छ भन्दै जिम्मा लगाएको बताए। पछि बुझ्दा ५० जनाभन्दा बढी मलामी गएको थाहा भएको पनि उनले बताए। ‘मलाई त जानकारी नै थिएन, पछि बुझ्दा ५०–६० जना मलामी गएछन्’, अध्यक्ष लामाले भने, ‘जान पाउने हो कि होइन, मलामी कसरी गए, कसरी अन्त्येष्टि गरे भनेर कसले अनुगमन गर्‍यो ?’ अध्यक्ष लामाले अस्पताल र प्रहरीले जनस्वास्थ्यमा खेलबाड हुनेगरी शव जिम्मा लगाएको भन्दै आक्रोश व्यक्त गरे। मलामी गएकालाई पहिचान गरेर क्वारेन्टिनमा बस्ने व्यवस्था गर्न स्वास्थ्य महशाखा प्रमुखलाई आग्रह गरेको पनि उनले बताए।  

मापदण्ड उल्लंघन गरेर मलामी गएकोबारे आलोचना भएपछि बिहीबार उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहितको टोली मृतकको परिवारलाई भेट्न घर पुगेको थियो। प्रतिष्ठानका डाक्टरले सुरक्षा मापदण्ड अपनाएर शव लैजान भनेपछि परिवारले लगेको उनले बताए। मलामी ५०–५५ जनाजति गएको, मोटरसाइकलमा दूरी कायम गरेको र शव कोशी नदी छेउमा खाल्डो खनेर नछोई डोरी प्रयोग गरेर गाडेको आफन्तले बताएको मेहताले जानकारी दिए। मास्क, सेनिटाइजर लगाए पनि पिपिई भने नभएको पाइएको मेहताले बताए। मलामी गएका सबैलाई कम्तीमा ३ दिन घरमा नै क्वारेन्टिनमा बस्न आग्रह गरिएको उनले बताए। ‘२५ जनामात्र मलामी जाने भन्ने थाहै थिएन भने। सबैलाई क्वारेन्टिनमा बसाएर सोमबार स्वाब लिन्छौं,’ मेहताले भने।  

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. प्रमोद बरालले नयाँ प्रोटोकल आएको भनेर प्रहरीबाट खबर आएपछि परिवारलाई शव जिम्मा लगाएको बताए। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्वास्थ्य प्रोटोकल सबै पूरा गर्न चाहँदा मात्र शव जिम्मा दिइने बताए। प्रोटोकल पूरा गर्न नसक्दा नेपाली सेनाले नै अन्त्येष्टि गर्ने प्रजिअ ढकालले बताए। ‘परिवारले प्रोटोकल पूरा गर्छ भने मात्र शव जिम्मा दिने हो, नत्र सेनालाई नै दिन्छौं,’ प्रजिअ ढकालले भने, ‘प्रोटोकल पूरा भएनभएको पालिकाका स्वास्थ्य संयोजक र प्रहरीले हेर्नुपर्छ।’ शव अन्येष्टि गर्न पिपिई लगाउनुपर्ने, शव खोलेर हेर्न नपाउने, २५ जनाभन्दा बढी मलामी जान नहुनेलगायतका मामदण्ड पालना गर्नुपर्ने उनले बताए।

प्रकाशित: ११ वैशाख २०७८ ०१:१० शनिबार

शव व्यवस्थापन लापरबाही