१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मृत्यु कोभिड–१९ को एकमात्र असर होइन

निको भएपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट घर फर्कदै कोरोना संक्रमीत। तस्बिर: नागरिक

गिडेन मेयरोविच काच

विश्वभर कोरोना भाइरस (कोभिड–१९) फैलिएको वर्तमान अवस्थामा यसको असर मृत्यु मात्र नभई सामान्य लक्षण देखिएका बिरामीलाई समेत दीर्घकालीन प्रभाव रहने देखिएको छ। कोभिड–१९ बारे थाहा नभएका कुरा अझै धेरै छन्। ६ महिनायता वैज्ञानिक प्रयासहरू हुँदाहुँदै पनि यो रोग रहस्यमै छ र यसबारे नयाँनयाँ तथ्य पत्ता लाग्ने क्रम जारी छ। अझै पनि यस रोगको संक्रमणको तरिकालाई लिएर विवाद जारी छ। कतिपय देशमा मास्क प्रयोगको विषय वैज्ञानिकभन्दा पनि बढी राजनीतिक निर्णय बनेको छ।

महामारीको सुरुदेखि नै संक्रमितको तुलनामा अत्यन्त थोरै को मात्र मृत्यु हुने र अन्यले खासै चिन्ता गर्नुनपर्ने धारणा बनेको छ। विश्वव्यापी रूपमा यो धारणाले किन बल पाएको छ भने कोरोना भाइरसका कारण मात्र १ प्रतिशतको मृत्यु हुने र ९९ प्रतिशत निको हुने मानिएको छ। दुर्भाग्यवश यो गलत धारणा हो। सबैभन्दा पहिले हामी तथ्यांकको विश्लेषण गरौं। धेरै अध्ययनका निष्कर्षलाई हेर्दा के मान्न सकिन्छ भने रोगले संक्रमित भएकामध्ये शून्य दशमलब सात प्रतिशतको मृत्यु हुन्छ। त्यसैले मोटो हिसाबले संक्रमितमध्ये एक प्रतिशतको मात्र मृत्यु हुन्छ भन्दा गलत देखिँदैन।  

समस्या त्यही छ, एउटा रोगले निम्त्याउने भनेको मृत्यु मात्र होइन। दादुरा संक्रमण भएकामध्ये शून्य दशमलब २ प्रतिशतको मृत्यु हुन्छ तर यो रोगले कतिपयलाई बहिरो बनाउँछ, कसैको मस्तिष्कमा क्षति पुग्छ भने कतिपयको शरीरको प्रतिरक्षा प्रणालीलाई स्थायी रूपमा कमजोर बनाउँछ। यस्तै डरलाग्दो रूपमा पक्षघातसमेत गराउनसक्ने पोलियो रोग लागेका बिरामीमध्ये ७० प्रतिशतमा रोगका लक्षण नै देखिएको हुँदैन।  

कोभिड–१९ को असर मृत्युमा मात्र सीमित छैन। यसका अन्य प्रभावबारे जान्न अझै केही समय लाग्ला तर निश्चित के हो भने यस रोगका प्रभाव अनेक छन्। मृत्युदरलाई बेवास्ता गरेर सबैलाई संक्रमण हुन दिने रणनीति झन् खतरनाक रहन्छ।  

त्यसैले, कोभिड–१९ को असर पनि एउटा संख्यामा मात्र सीमित मान्न सकिन्न। कतिपयका लागि यसले मृत्यु निम्त्याउँछ भने अन्यको सघन उपचार कक्षमा लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ। यस्तै, लामो समयसम्म मेकानिकल भेन्टिलेटरमा राखेर बिरामीको उपचार गर्दा ब्याक्टेरियाले संक्रमण गर्न सक्छन् भने अल्सर र अन्य रोगले संक्रमण गर्नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ। सघन उपचार कक्षमा भर्ना नगरिए बिरामीलाई पनि मिर्गौला तथा गम्भीर खाले मनोचिकित्सकीय समस्याले दीर्घकालीन रूपमा प्रभाव पार्न सक्छन्।

यसभन्दा पनि झन् खतरा के छ भने यस्ता असर गम्भीर बिरामीमा मात्र सीमित छैनन्। सामान्य लक्षण देखिएका बिरामीले पनि यस्ता लक्षण हप्तौं तथा महिनौंसम्म देखिएको बताएका छन् र यसलाई सामान्य मान्न सकिन्न। केहीले यसअघि कहिल्यै महसुस नगरेको थकानले लामो समयसम्म आफूहरूलाई पिरोलेको बताएका छन्।

समग्रमा यो कुनै सुखद संकेत होइन। मृत्यु एउटा प्रस्ट देखिने असर हुनसक्छ तर यो एक मात्र असर होइन।  

अब हामी ९९ प्रतिशतको तथ्यांकको चर्चा गरौं। महामारीको दोस्रो लहरको सम्भावना रहेको वर्तमान परिप्रेक्ष्यमा आमनागरिक सम्बन्धित सरकारले गरेको कमजोर प्रतिकार्यका कारण पनि चिन्तित छन्। कुल संक्रमितमध्ये मात्र १ प्रतिशतको मृत्यु हुने हुँदा यो रोगलाई यत्तिकै फैलिन दिए झन् सजिलो हुने तर्क गर्ने पनि धेरै छन्।

अस्ट्रेलिया तथा बेलायत जस्ता देशमा १ प्रतिशतको मृत्युदर भनेको हजारौंको मृत्यु हो। त्यस्तै, अस्पतालमा भर्ना भएकाको पीडा पनि उत्तिकै छ। सामान्य लक्षण भएकालाई पनि दीर्घकालीन प्रभाव रहने निश्चित छ। यो रोगबारे यथेष्ट जानकारी नभएको वर्तमानमा यसले निम्त्याउने सबैभन्दा कम जोखिम पनि स्वीकारयोग्य मान्न सकिन्न। त्यसैले यसका अल्पकालीन तथा दीर्घकालीन प्रभावलाई सम्बोधन गर्न जरुरी छ।  

दुर्भाग्यवश कोभिड–१९ को असर मृत्युमा मात्र सीमित छैन। यसका अन्य प्रभावबारे जान्न अझै केही समय लाग्ला तर निश्चित के हो भने यस रोगका प्रभाव अनेक छन्। मृत्युदरलाई बेवास्ता गरेर सबैलाई संक्रमण हुन दिने रणनीति झन् खतरनाक रहन्छ र यो मानव समाजका लागि स्वीकारयोग्य विषय होइन।
गिडेन पश्चिमी सिडनी अस्ट्रेलियामा कार्यरत संक्रामक रोगविशेषज्ञ हुन्। यो लेख गार्डियन पत्रिकामा सोमबार प्रकाशित सामग्रीको भावानुवाद हो।

प्रकाशित: ३१ असार २०७७ ०२:०१ बुधबार

कोभिड–१९