११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा थप १ सय ४३ को स्वाब संकलन

उदयपुर- शनिबार ३ जना थपिएका त्रियुगा नगरपालिका ३ भुल्के र आसपासका थप १ सय ४३ को स्वाब शनिबारै संकलन गरी परीक्षण गर्न पठाइएको छ । बुधबार पठाइएको रिपोर्टमा नयाँ संक्रमित पाइएपछि संभावित संक्रमित हुनसक्ने भन्दै पहिले छुटेका, राहत वितरण गर्दा खटेका तथा स्थानीय खाद्यान्न व्यापारी र सामाजिक क्षेत्रका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।

त्रियुगा ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले नयाँ संक्रमित पाइएपछि अरु पनि हुनसक्ने संभावना बढेकाले ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा थपको परीक्षण गर्न स्वाब संकलन गरिएको बताए । ‘यसअघि २८ जनामा सीमित संक्रमित संख्या पछिल्लो रिपोर्टले ३ जना नयाँ थपिएपछि’ वडाध्यक्ष चौधरीले भने ‘यो बीचमा राहत वितरण गर्ने तथा बिभिन्न कामको सिलसिलामा सम्पर्क र भेटघाट गर्ने सामाजिक अभियन्ता र व्यापारीको स्वाब परीक्षण गर्न पठाइएको छ ।’

भुल्के कोरोनाको इपिसेन्टरमा परिणत भएपछि नगरपालिका र अन्य बिभिन्न संघसंस्थाबाट पटक पटक राहत वितरण भएको छ । जस क्रममा भुल्के पुग्नेहरुमा संक्रमणको खतरा भएका कारण थपको स्वाब संकलन गरिएको हो । संकलित स्वाब शनिबार साँझै परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रकाशित: २७ वैशाख २०७७ १५:२४ शनिबार

उदयपुर स्वाब काेभिड_१९