१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका क्वारेन्टाइन रित्तिँदै

उदयपुर - त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोविड–१९) को केन्द्रबिन्दु मानिन पुगेको उदयपुरमा यो साता दिनयता क्वारेन्टाइन रित्तिँदै गएका छन्। शुक्रबारसम्म त्रियुगा नगरपालिकामा १ महिलासहित ९, ताप्ली र रौतामाई गाउँपालिकामा क्रमशः ६ महिलासहित २४ र १ महिलासहित ३३ जनाबाहेक अन्य तहका क्वारेन्टाइन खाली छन्।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले होमक्वारेन्टाइन मा बस्ने भने अझै १४ महिला र ४ सय ४६ जना पुरुष रहेको जनाएको छ। कार्यालय प्रमुख मोहन सवेदीले कटारीमा १४ महिलासहित ३० जना, बेलकामा ३ सय ४१, त्रियुगामा ७९, ताप्लीमा ७ र लिमचुङबुङ गाउँपालिकामा ३ जना पुरुष होम क्वारेन्टाइन मा रहेको बताएका छन्। चौदण्डीगढी नगर र उदयपुरगढी तथा रौतामाई गाउँपालिकामा होम क्वारेन्टाइन बस्ने कोही नरहेको उनले बताए। 

उदयपुरमा ल्यावमा कोरोना परीक्षण गर्ने बिधिबाट २ सय ३८ महिलासहित १ हजार १३ को पिसिआर गरिसकिएको छ। जसमा सबभन्दा बढी त्रियुगाका ३ सय २२ महिला र ५ सय ६३ पुरुषको स्वाव परीक्षण गरिएको छ। चौदण्डीगढीका ६ महिला र ५५ पुरुष, कटारीका ४ महिला ३२ पुरुष, बेलकाका ६ महिला १० पुरुष तथा लिमचुङबुङ, रौतामाई र ताप्ली गाउँपालिकाका क्रमशः ८, ५ र २ पुरुषको पिसिआर परीक्षण गरिसकिएको छ। तीमध्ये रिपोर्ट आएको ६ सय २८ मा त्रियुगाका २ महिला र २६ पुरुषबाहेक कसैमा संक्रमण देखिएको छैन।

नेगेटिभ देखिए पनि पिसिआर परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएपछि विश्वसनीय नभएको भन्दै सातादिनसम्म रोकिएको द्रुत लक्षण परीक्षण (आरडिटी) विधिबाट उदयपुरमा ८२ महिला र ३ सय ९७पुरुषको परीक्षण गरिएको छ। सबभन्दा बढी आरडिटी परीक्षण बेलका नगरपालिकाका २१ महिला र १ सय १७ पुरुषमा गरिएको छ। ताप्ली गाउँपालिकामा ३५ महिला र १ सय ५ पुरुष, त्रियुगामा १३ महिला र ७५ पुरुष, रौतामाईमा २ महिला, ४३ पुरुष, लिमचुङबुङमा ६ महिला र २६ पुरुष तथा कटारी नगरपालिकाका १० पुरुषको आरडिटी भएको सुबेदीले बताएका छन्। जसमा विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) को प्रोटोकल अनुसार रिपोर्ट नेगेटिभ देखिए पनि १० प्रतिशत शंकास्पद हिस्साको पिसिआर परीक्षण पनि गरिएको छ। उदयपुरका त्रियुगामा २२, चौदण्डीगढीमा १७ र कटारीमा ३ बेड गरी जम्मा ४२ बेडको आईसोलेसन वार्ड बनाइएको छ। कोरोना संक्रमितलाई उपचार गर्न तीनवटै नगरपालिकामा क्रमशः ४, २ र १ आईसोलेसन अस्पताल निर्माण गरिएकोस्वास्थ्य कार्यालयका स्रोतव्यक्ति लौकाजी राईले बताए। 

उनका अनुसार ८ वटै स्थानीयतहमा ४ सय ४३ बेडकोक्वारेन्टिन  निर्माण गरिएको छ। प्रदेश सरकारले कटारी नगरपालिका १ बेलसोतमा २ सय बेडको क्वारेन्टिन बनाएको छ भने रौतामाईमा ६३, बेलकामा ४५, चौदण्डीगढीमा ३२, उदयपुरगढीमा २५, ताप्लीमा ३० र लिमचुङबुङमा २३ बेडको क्वारेन्टाइन  निर्माण गरिएको छ। जिल्लाभर ३१ ठाउँमा क्वारेन्टाइन रहेको छ भने संख्याको हिसावले चौदण्डीगढीमा सबभन्दा बढी ९ वटा क्वारेन्टाइन छन्। ताप्लीमा ६, रौतामाईमा ५, लिमचुङबुङमा ४, उदयपुगढीमा ३ र कटारी तथा त्रियुगामा क्रमशः १/१ क्वारेन्टाइन रहेको राईले बताए। 

उदयपुरमा ३ जना दक्ष स्वास्थ्य जनशक्ति कन्सल्टेन्ट तथा क्रिटिकल केयर फिजिसियन जनशक्तिले काम चलाईराख्नु परेको छ। जिल्ला अस्पताल उदयपुरमा २ जना र कटारी अस्पतालमा १ जना कन्सल्टेन्ट कार्यरत छन्। त्यस्तै त्रियुगामा ५, कटारीमा ३ र चौदण्डीमा १ गरी ९ जना मेडिकल अफिसर कार्यरत छन्। फोकल पर्सन राईका अनुसार त्रियुगा र कटारीमा १/१ जना तालिम प्राप्त पब्लिक हेल्थ अफिसर छन् भने कम्तीमा ११ देखि २४ जनासम्म ८ वटै स्थानीयतहमा १ सय ३९ नर्सिङ पर्सनल खटाइएको छ। त्यसैगरी प्यारामेडिकल पर्सनल १ सय ५० तथा ताप्लीबाहेक सबै तहमा कम्तीमा १जना ल्यावोरेटरी पर्सन खटाइएको छ। त्रियुगा, चौदण्डीगढी र कटारीमा १/१ जना रेडियोलोजी पर्सनलले काम गरिहेका छन् भने बाँकी तहमा रेडियोलोजिस्ट छैनन्। 

प्रकाशित: २७ वैशाख २०७७ ०३:१२ शनिबार

संक्रमित क्वारेन्टाइन  उदयपुर