९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोभिड–१९ बन्दीको अनुभव

आज विश्वका २१० भन्दा बढी राष्ट्र कोरोना महामारीको चपेटामा फसेका छन्। नेपाल पनि प्रभावित देशमध्ये एक हो। कोभिड–१९ को सङ्क्रमण फैलनबाट रोक्नका लागि धेरै देशले लकडाउन अर्थात बन्दाबन्दीको रणनीति लिएका छन्। नेपालले पनि यही अस्त्र प्रयोग गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको प्रभाव दीर्घकालीन समयसम्म रहिरहने र लकडाउन छिटै हटाएमा यसले विकराल रूप लिन सक्ने चेतावनी दिँदै आएको छ। यस्तो अवस्थामा बन्दाबन्दी कहिलेसम्म लम्बिन्छ भन्न सकिने अवस्था अहिले छैन। 

बन्दाबन्दीले घरभित्र थुनिएको डेढ महिना पुगेको छ।घरभित्रको बसाइँ अहिलेसम्म त सहज नै छ। तर लकडाउन थपिँदै गएमा कष्टप्रद् हुनेमा शंका छैन। तर यो समयमा हामी सबैले केही नयाँ अनुभूति भने गरेका छौँ। शान्त आकास र वातावरणमा चराहरूको चिरविर आवाज प्रशस्त सुनिन थालेका छन्। बिहान÷बेलुका पूजापाठमा बजाइने घण्टा र शंखले समुदायलाईनै गुञ्जयमान बनाएको छ। घरको छतबाट सुन्दर र सफा डाडाँहरूको दृश्यावलोकन गर्न पाईएको छ। पढ्न मन लागेर पनि समय नमिलेर थन्क्याइएका किताब पढ्न पाइएको छ। आफ्नो परिवार र छोरा÷छोरीलाई समय दिन नपाएका अभिभावकले पर्याप्त समय उनीहरूसँग बिताउन पाइएको छ।सबैभन्दा ठूलो कुरा प्रकृतिको सर्वश्रेष्ठ प्राणी मानिस अर्थात हामी प्रकृतिको उपज सामान्य प्राणीमात्र हो भनी प्रमाणित गरिदिएको छ।

विश्वका शक्तिशाली देशहरूसहित नेपालले पनि कोरोनाको डटेर सामना गरिरहेको छ। तर देशलाई पूर्णरूपमा बन्द गरी हामी कहिलेसम्म बस्न सक्छौँ ? कोरोनापछिको आर्थिक तथा सामाजिक असरलाई अहिले नै विश्लेषण गरी दीर्घकालीन योजनाहरू तर्जुमा गर्नु आजको आवश्यकता रहेको छ। लकडाउनको समयलाई नितान्त रणनीतिक समयका रूपमा सदुपयोग गर्नुपर्ने आवश्यकतालाई सरकारले भूलेको छ। कोरोनाको प्रभाव न्यूनीकरण गर्नका लागि सामूहिक पहल लिनुपर्ने अवस्थामा देश भने राजनीतिको खिचातानीमा जेलिएको छ। जनतालाई आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अवस्थामा सत्ताको खेलमा दलहरू भिडिरहेका छन्। यसले हामीलाई झन निराश बनाएको छ।

अब हामीले हाम्रो आफ्नो ठाउँमा जे/जति जमिन अर्थात माटो छ, त्यसको सदुपयोग गर्न सुरु गरी खाद्य सुरक्षामा जोड दिनुपर्छ।

मननयोग्य कुरा
बन्दाबन्दीले औद्योगिक कलकारखाना, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरू पूर्णरूपले ठप्प छन्। तर ग्रामीण भेगमा भने कृषि कर्म निरन्तर चलिरहेको छ।त्यही कृषि कर्मलेनै भोलिका दिनमा हामीलाई खाद्य संकटबाट जोगाउनेछ। लकडाउनको समयमा वर्षौँदेखि बाँझिएको जमिनमा पुनः अनाज उमार्ने काम सुरु भएका छन्। तर के अहिलेको फुर्सदको समयमा सुरु गरेको खेतीपातीको काम भोलि महामारीको न्यूनीकरणपछि पनि निरन्तर चलिरहला त ? हामीसामु पेचिलो प्रश्न हो यो। बीउविजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार आ.व. २०७५/७६ मा १ अर्ब २७ करोड भन्दा बढीको तरकारी तथा खाद्यान्नको बीउ हामीले आयात गरेका छौँ। यस्तो अवस्थामा उन्नत बीउविजनमामात्र भर पर्नु भन्दा स्थानीय स्तरमा राम्रो उत्पादन दिइरहेको रोग प्रतिरोधी रैथाने बालीहरूको पहिचान र संरक्षण गरिनुपर्छ। जसले गर्दा बीउविजनको आयातमा खर्चिएको ठूलो रकम स्वदेशमै परिचालन गर्न सकिन्छ। स्थानीय बीउविजनको प्रयोगले जैविक विविधताको संरक्षणले कालान्तरमा मानव स्वास्थ्यलाई फाइदा पुग्नेछ। 

भूकम्प नेपालमा मात्र गएको थियो, नाकाबन्दी पनि नेपाललाई मात्र लगाइएको थियो तर कोरोनाले भने विश्वलाईनै आक्रान्त पारेको छ। कोरोनाको प्रभावले विश्व अर्थतन्त्र नै ठप्प छ। बेरोजगारी दर बढ्दैछ। यस्तो अवस्थामा वैदेशिक सहायताको अपेक्षा देशले नगरेकोनै उपयुक्त हुन्छ। नेपाली युवाहरू अबको केही समय वैदेशिक रोजगारीका अवसरबाट वञ्चित हुनेछन्। वैदेशिक रोजगारीमा गएका७० लाख भन्दा बढी युवामध्ये धेरै स्वदेश फर्कनेछन्। देशमा बेरोजगार युवाहरूको जमात बढ्नेछ। यी सबै परिस्थितिको उत्तम विश्लेषण गरी युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुको विकल्प छैन। यसका लागि कृषिमा हामी रातारात परिवर्तन त गर्न सक्दैनौँ तर कोसिस भने गर्न सक्छौँ र गर्नुपर्छ। केही स्थानीय निकायले भने खेतीयोग्य जमिन बाँझो राख्ने परिवारलाई कारबाही गर्ने नीति लिएर काम सुरु गरिसकेका छन्। यो सुरुवात मात्र हो। यसलाई निरन्तरता दिनका लागि भने स्थानीय तहहरूले कृषिमैत्री वातावरण सिर्जना गर्नुपर्छ। कहीँ खेतीयोग्य जमिन बाँझो छ भने कहीँ जग्गामा पहुँच नभएका कारण परिवारको जीविकोपार्जनमा समस्या छ।

यस्तो परिस्थितिमा बाँझो जमिनको सदुपयोग गर्ने विकल्प सरकारले लिनुपर्छ। जसका लागि जमिनको हकवालाहरूलाई पनि उपयुक्त हुने नीति अवलम्बन गरिनु राम्रो हुन्छ। परम्परागतरूपमा चल्दै आएको पारिवारिक खेती प्रणाली र हाम्रा रैथाने बीउविजनको पुनर्उत्पादनमा कोसिस र पहल लिनुपर्छ। प्रविधिको भरमा बाँच्न सिकेको विश्वलाई कोरोनाले वर्षाएको स्वादिलो झापडबाट समयमै हामीले पाठ सिक्नुपर्छ। त्यसैले अब हामीले हाम्रो आफ्नो ठाउँमा जे/जति जमिन अर्थात माटो छ, त्यसको सदुपयोग गर्न सुरु गरी खाद्य सुरक्षामा जोड दिनुपर्छ। नेपालमा १५ लाख २३ हजारको हाराहारीमा श्रमिकहरूकृषि पेसामा संलग्न भएको एक तथ्यांकले देखाएको छ। कोरोनापछि यो आंकडा केही माथि उक्लनेमा दुई मत छैन। तर दीर्घकालीनरूपमा युवाहरूलाई कृषि कर्ममा आकर्षित गराउनका लागि स्थानीय निकायहरूले अहिलेनै उत्पादन क्षेत्र पहिचान गरी सोहीअनुसारगर्नुपर्ने देखिन्छ।

किसान वर्गले भोग्दै आएको मल खाद्य, बीउविजन, सिँचाइ र बजारको समस्या समाधान गर्नुपर्छ। लगानी सुरक्षाको प्रत्याभूति गराउनका लागि अनुदान मात्र हैन, निश्चित मूल्य दर कायम गरी बजारको व्यवस्थापन गराउनुपर्नेछ। पारिवारिक व्यावसायिक खेती पद्धति आजको आवश्यकता हो। यसलाई हामीले मनन गरी सुरुवात गर्ने उपयुक्त समय अहिले नै हो। विश्व श्रम सङ्गठनको तथ्याङ्कअनुसार विश्वव्यापी कोरोना महामारीपछि ३ अर्ब ३० करोड श्रम जनशक्तिमध्ये विश्वमा १ अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको छ। २ अर्ब ७० करोड मजदूर प्रभावित भएका छन्। यसको प्रभाव सबैभन्दा बढीनेपाल जस्तै विकासशील देशहरूलाई पर्ने निश्चित छ। 

शिक्षामा कृषि
बन्दाबन्दीको प्रभाव बालबालिकाको भविष्यसँग प्रत्यक्षजोडिएको छ। सम्पूर्ण शैक्षिक संस्था बन्द छन्। नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन। बालबालिकाको भविष्यलाई लिएर अभिभावक चिन्तामा छन्। नयाँ शैक्षिक सत्रको सुरुवातमा पाठ्यक्रमको विषयमाहामीले सोच्नुपर्नेछ।के चलिरहेको शिक्षा पद्धतिले प्राविधिक ज्ञान दिएको छ त ? के रोजगारीका पर्याप्त अवसर सिर्जना गरेको छ? पक्कै थिएन र छैन। घोकन्ते विद्याको संस्कार बसेको हाम्रो शिक्षा क्षेत्र शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन्। प्राविधिक र व्यावहारिक शिक्षा पद्धति नबस्दा अंग्रेजी भाषाको मोहले जसरी नेपाली भाषा र शब्द लोप हुँदै गएका छन्त्यसरीनैयुवाहरू विदेश पलायन हुने संस्कारमा भुलेका छन्। डाक्टर, पाइलट, नर्स, इन्जिनियर बनाउने लोभमा हाम्रो वास्तविक कर्मलाई हामीले बेवास्ता गरिरहेका छौँ। र, घोकन्ते विद्यासहितको डिग्री हातमा थमाइ पढ्न भनी पैसा कमाउनको लागि अमेरिका, अस्ट्रेलियालगायतका देशमा छोराछोरी धपाइरहेका छौँ। 

कृषि हाम्रो मूल कर्म हो। यसलाई मायार आदर गर्नुपर्छ भनी हामी पछिल्लो पुस्ताले हाम्रा बालबालिकालाई सिकाएका छैनौैँ। आज पनि बच्चाले राम्रोसँग पढेन र गृहकार्य गरेन भने भोलि पर्सि हली बन्छस्, अनि ठीक हुन्छ भनेर कृषि पेशाप्रति नकारात्मक बनाइरहेका छौँ। तर कृषकले खाद्यन्न उत्पादन गरेनन् भने हामी भोकै हुन्छौँ भनेर कहिल्यै उनीहरूसँग मस्तिष्क मन्थन गरेका छैनाैँ। धानबाट चामल निस्कन्छ भन्ने ज्ञान बालबालिकासँग छैन। चामल खेतमा हैन पसलमा फल्छ भन्ने ज्ञानले उनीहरूको मस्तिष्कमा बास गरेको छ। त्यसैले, कोरोनापछिको शिक्षा नीति र पद्धति बदलिनुपर्छ। कृषिकर्मप्रति नयाँ पुस्तालाई आधुनिक प्रविधिसहित आकर्षित गराउनुपर्छ। कृषकले अनाज उत्पादन नगर्ने हुन भने हामीसँग प्रशस्त सम्पत्ति र पैसा भएपनि भोकमरीबाट हामी बच्न सक्दैनौँ भन्ने वास्तविकतालाई हामीले अंगाल्नुपर्छ र सिकाउनु पनि पर्छ।जसरी राष्ट्रसेवक कर्मचारी, डाक्टर, इन्जिनियरहरूले सम्मान पाउँछन्, त्यसरीनै किसानले पनि सम्मान पाउने वातावरण निर्माण अबको पुस्ताले गर्नुपर्छ। 

प्रकाशित: २५ वैशाख २०७७ ०७:३९ बिहीबार

कोभिड बन्दी अनुभव