१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

१ सय ८५ जनामा दादुरा संक्रमण

काठमाडौं, - देशका विभिन्न जिल्लामा गरी १ सय ८५ जनामा दादुरा संक्रमण फैलिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । गत पुसदेखि सुरु भएको दादुुरा  हालसम्म सात वटा जिल्लामा फैलिएको महाशाखाले जनाएको छ । महाशाखाले विहिवार स्वास्थ्य मन्त्रालयको वेभपेजमा आएका जिज्ञासाको जवाफ दिंदै देशभरिको दादुरा स्थिति वारे जानकारी दिएको छ । 

जसमा झापा,चितवन,धार्दिङ,गोरखा,सर्लाही,काठमाडौं र ललितपुर छन् । यी जिल्ला मध्ये सवै भन्दा बढी धार्दिङमा प्रकोप फैलिएको परिवार कल्याण शाखाका प्रशासकीय प्रमुख झलक गौतमले बताए । दादुराको कारण धार्दिङमा चैतमा दुई जना शिशुको मृत्यु भइसकेको छ । दादुरा संक्रमण हुनेहरुमा ४ महिनादेखि  ४० वर्षसम्मका मानिसहरु छन् । 

धार्दिङमा पटक–पटक ठूलो संख्यामा दादुराको संक्रमण देखिएपछि  महाशाखाले बुधवार अनुगमन तथा उपचारको लागि स्वास्थ्य टोली धार्दिङ पठाएको जनाएको छ । टोलीले खोप कार्यक्रम संचालन गर्ने,खोपको अवस्था बारे अनुगमन गर्ने, र व्यवस्थापन गर्ने कार्य गर्नेछ । बढी प्रभावित जिल्ला धादिङमा २० हजार खोप पठाइ ६ महिनादेखि १५ वर्षभित्रका वालवालिकालाई दादुरा–रुवेलाको खोप दिन सुरु गरिसकेको छ । 

कोभिड १९ को जोखिमको कारण नियमित खोप सेवा नरोक्न गौतमले देशभरका स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् । देशभरिका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालित अवस्थामै रहेको जनाउँदै उनले महाशाखाले कोभिड १९ को जोखिमको बेला खोप कार्यक्रम मार्गदर्शन  जारी गरेको छ । सो अनुसार नियमित खोप कार्यक्रम  सुचारु राख्नु पर्नेछ । मार्गदर्शन अनुसार खोप दिंदा सामाजिक तथा भौतिक दुरी कायम राख्ने,खोप दिनु अघि बच्चा तथा अविभावकमा कोभिड १९ को परिक्षण गर्ने,त्यस्तो पाइएमा उपचारको लागि सुझाव दिने,खोप लगाउने व्यक्तिले सेनिटाइजर,सर्जिकल माक्स,ग्लोव जस्ता सुरक्षा सामाग्री प्रयोग गर्नु पर्नेछ ।  

त्यसै गरी हाल महाशाखामा थप तीन महिनाको लागि खोप मौजदात रहेको र नियमित प्रक्रियामा खोप आपुर्ति भइरहेकोले देशभरका स्वास्थ्य संस्थाले नियमित खोप सुचारु राख्न उनले सुझाए । कुनैै पनि स्थानमा हुन सक्ने रोगको संक्रमण तथा प्रकोपको स्थितिको अनुगमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय निकायको भएपनि  कोभिड १९ को जोखिमको बेला तीनै तहको सरकारको समन्वयमा नियमित खोप संचालन भए÷नभएको वारेमा प्रदेश स्तरका निकायसित समन्वय गरी काम गर्न गौतमले सुझाए ।  

‘क्वारेनटाइनमा बस्दा शिशुलाई स्तनपान गराउन मिल्छ’
क्वारेनटाइनमा रहेका आमाले आफ्नो शिशुलाई स्तनपान गराउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहिवार मन्त्रालयको वेभ पेज मार्फत आएको जिज्ञासलाई संवोधन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सावधानी अपनाएर स्तनपान गराउन सुझाएका छन् । ‘कुनै पनि लक्षण देखिएमा सावधानी अपनाउने गर्नु पर्छ ’ उनले भने । 

जस अनुसार स्तनपान गराउने आमा र शिशु दुवै क्वारेनटाइनमा रहेको अवस्थामा शिशुलाई स्तनपान गराउनु अघि र स्तनपान गराइसकेपिछि  हात धुने,सेनिटाइजर तथा माक्सको प्रयोग गर्ने जस्ता सावधानी अपनाउनु सकिन्छ । तर आमामा कोभिड – १९ को लक्षण देखिएमा शिशुलाई सिधै स्तनपान गराउनुको सट्टा दुध निचोरेर भाँडामा राखी खुवाउन डा.देवकोटाले सुझाए । हालसम्मको अध्ययनले कोडिभ १९ स्तनपानवाट सरेको नपाइएको उनले बताए । 

प्रकाशित: १९ वैशाख २०७७ ०९:२५ शुक्रबार

दादुरा संक्रमण