४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुरको शिवाई बस्तीमा परीक्षण हुँदैे

उदयपुर- जिल्लामा पहिलो पटक १२ भारतीयसहित १६ जना धर्म प्रचारक संक्रमित उदयपुर प्रवेश गरेको स्थान चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरको शिवाईमा बिहीबार स्वाब संकलन गरिदैछ । जोगवनी नाकाबाट नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै पहिलो पटक उदयपुर प्रवेश गरी बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले स्वाब संकलन गर्न लागिएको हो ।

त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा वैशाख ५ गते ११ भारतीयसहित १३ जनामा एकैचोटी संक्रमण देखिएसँगै चौदण्डीगढी नगरपालिकाले शिवाईबासीको पनि स्वास्थ्य परीक्षण गरिहाल्न माग गरेको थियो । नगरप्रमुख खगेन्द्र राईले सदरमुकाममा संक्रमित भेटिएपछि त्यसअघि बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले तत्काल परीक्षण गर्न माग गरे पनि आवश्यक स्वास्थ्य सामग्री अभाव भएको भन्दै परीक्षण हुन सकेको थिएन ।

भुल्केमा ५ गते पहिलोपटक संक्रमण देखिएकोमा थप ५ दिन बुधबारसम्म संक्रमित संख्या बढ्दै गएर २८ जना पुगेको छ । यसले समग्र जिल्लाबासीसँगै शिवाईमा पनि त्रास बढेको छ । शिवाईबासीको त्रसित मनोविज्ञान कम गर्न तथा भाईरस सरे/नसरेको यकिन गर्न परीक्षण गर्न लागिएको नगरप्रमुख राईले बताए । राईका अनुसार शिवाईमा बसोबास गर्ने ५३ घरधुरी मुस्लिम समुदायका ३ सय ७६ जना र उनीहरुसँग भेटघाट गर्ने ‘ट्रेसिङ’का आधारमा अरु समुदायको पनि स्वास्थ्य परीक्षण गरिनेछ ।

शिवाईमा स्वाब संकलन गर्न काठमाडौं र विराटनगर दुवै ठाँउबाट स्वास्थ्य टोली मगाइएको छ । प्रदेश सरकारबाट टोली हिडिसकेको खवर आएको र काठमाडौंबाट भने आउने नआउने टुंगो नलागेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । उनका अनुसार टोली आईपुग्नेवित्तिकै संकलन कार्य सुरु गरिहाल्ने र सकेसम्म एकैदिनमा सक्ने योजना छ ।

भुल्केमा सुरुमा मस्जिद बस्ने १२ भारतीयसहित १६, त्यसपछि मस्जिद आउजाउ गर्ने ६९ को स्वाब परीक्षण भईसकेको छ । जसमध्ये मस्जिद बस्ने सबै र ६९ मध्ये ८ जनामा संक्रमण पुष्टि भएको छ । नेपाली सेनाको १८ नं. बाहिनी अड्डा रहेको भुल्केमा काठमाडौंबाट आएको सैनिक स्वास्थ्य टोलीले वैशाख ७ गते १ सय ५१ र ८ गते थप १ सयको स्वाब संकलन गरी लगेको थियो ।

जसमध्ये ७ गते संकलित स्वाबमध्ये ४ जनामा संक्रमण पुष्टि भएको सुबेदीले बताए । उनका अनुसार ८ गते पठाइएको स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी छ । सुबेदीले उदयपुरमा हालसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १२ भारतीय, उनीहरसँगै आएका मोरङका ४ र उदयपुर भुल्केका १२ जना रहेको बताएका छन् ।

‘फ्रन्टलाईनर’ सबै सुरक्षित
उदयपुरको कोरोनाविरुद्ध अभियानमा अग्रमोर्चामा रहेर खट्ने ‘फ्रन्टलाईनर’हरु सबै सुरक्षित रहेको पाइएको छ । मस्जिदका संक्रमित फेला परेपछि उनीहरुको पहिचान गर्न ‘ट्राभल हिस्ट्री’ बुझ्दा अन्तरवार्ता, कागजात हेर्ने, स्वास्थ्य जाँच, परीक्षण गर्न रगत संकलन र एम्बुलेन्समा आउजाउ गराउने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमितसँग बाक्लो सम्पर्क गर्नु परेकाले प्रहरी, प्रशासन, स्वास्थ्यर्मी तथा भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनीका सैनिकमा भाइरस सरेको आशंकाले उनीहरुको स्वाब पनि संकलन गरी परीक्षण गर्न पठाइएको थियो । बुधबार आएको रिपोर्टमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले बताएका छन् ।

शिवाईको तरकारी बजारलाई परीक्षणस्थल बनाइदै । तस्बिरः महेश्वर

प्रकाशित: ११ वैशाख २०७७ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App