२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अहिलेसम्म तातोपानी भएर के के मेडिकल सामान आए ?

सिन्धुपाल्चोक- चीनबाट आइतबार एकै दिन कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि अत्यावश्यक चार कन्टेनर मेडिकल उपकरण तथा सामाग्री तातोपानी नाकामा आइपुगेका छन् । अत्यावश्यक सामाग्री आपूर्ति गर्न बन्द सीमा नाका पुनः सञ्चालनमा ल्याइएपछि पहिलो पटक ठूलो परिमाणमा मेडिकल सामान आयात भएको हो । ‘यो पटक निकै महत्वपूर्ण मेडिकल उपकरण र सामाग्री आएका छन्,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर कार्कीले नागरिकसँग भने ।

सामाग्रीसहितका कन्टेनर भन्सारको आइसोलेसनमा राखिएको छ । सोमबार ती सामाग्री राजधानी पठाउने भन्सारको तयारी छ । ती कन्टेनर पिपिई सेट, मास्क, पञ्जा थर्मलगन, स्यानिटाइजर र आइसोलेसन बेडका सामाग्रीले भरिएका छन् । आइसोलेसन बेडको सामान मात्रै एक कन्टेनर रहेको भन्सार प्रमुख कार्कीले जानकारी दिए ।

अत्यावश्यक सामाग्री आपूर्ति गर्न सरकारले दुई साताअघि नै उत्तरका मुख्य नाका तातोपानी र रसुवागढी सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर सुरक्षित ढंगले कसरी सामाग्री आपूर्ति गर्ने भन्ने मोडालिटी बन्न नसक्दा नाकाबाट तत्काल सामाग्री आउन सकेनन् । दुई देशका सीमावर्ती जिल्लाका अधिकारीबीचको बैठकले मेडिकल प्रोटोकलअनुसार मोडालिटी तयार गरेपछि बिहीबारदेखि चीनबाट नाका भएर नियमित मेडिकल सामान आइरहेका हुन् ।

त्यसयता यो समेत चार पटक मेडिकल सामाग्री आइसकेका छन् । यसअघि तीन पटक नाकाबाट आएका मेडिकल सामाग्री राजधानी पुगिसकेका छन् । बिएम ट्रेडिङले पहिलो खेपमा सात हजार पाँच सयवटा एन–९५ माक्स र १० कार्टुन स्यानिटाइजर ल्याएको थियो । दोस्रो पटक सात हजार वटा एन–९५ मास्क र पाँच कार्टुन थर्मलगन आयात हुँदा महाशक्ति सप्लायर्सले तेस्रो खेपमा एक हजार पाँच सय थान थर्मलगन, १० हजार सेट पिपिई र २० हजारवटा डिस्पोजेबल जुत्ता कभर ल्याएको थियो ।

व्यवसायिक कम्पनीले मेडिकलका सामाग्रीलाई पहिलो प्राथमिकता दिएर आयात गरिरहेको भन्सार प्रमुख कार्कीले बताए । नाकाबाट खाद्य सामाग्रीसमेत आउने भनिए पनि अहिलेसम्म आयात भने भएको छैन । नेपाली व्यवसायी तथा व्यापारिक फर्मको अर्डरपछि चीनका विभिन्न सहरबाट नाकामा आउने सामाग्री १२–१४ घण्टा आइसोलेसनमा राखेपछि मात्र राजधानी पठाउने व्यवस्था भन्सारले गरेको छ ।

चिनियाँ पक्षले नै मितेरी पुलसम्म ल्यादिने सामाग्री त्यहाँबाट नेपाली कन्टेनरमा राखेर भन्सार हुँदै राजधानी पुग्ने गरेको छ । नाकाबाट नियमित मेडिकल सामाग्री आउन थालेपछि कोरोना संक्रमण नियन्त्रणमा ठूलो टेवा पुग्ने विश्वास गर्न थालिएको छ ।

प्रकाशित: ७ वैशाख २०७७ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App