उदयपुर – कोरोना भाईरस (कोभिड–१९) को जोखिक नियन्त्रणको लागि देश लकडाउनमा छ। लकडाउनका कारण देशका कारण धेरै मानिसहरू विभिन्न स्थानमा फसेर अलपत्र छन्। स्वदेशमा मजदुरी गर्ने श्रमिकदेखि वैदेशिक रोजगारीमा रहेकाहरु त्यतै अड्किएका छन् भने नातागोतालाई भेट्न आउने/जानेहरु आफन्त र नातागोताकैमा थुनिएर बस्नु परेको छ।
अघोषित कैदी झैं पट्यारलाग्दो बसाईको समस्याले अहिले इतर वडा र स्थानीयतदेखि सहरेतर (बाहिरका सहर) तथा दैनिक ज्यालादारी मजदुर, जागिरे र विभिन्न देशमा ‘कन्ट्रयाक्ट’ रोजगारसम्मलाई पिरोलेको छ। धेरैले यो समस्याबाट मुक्ति पाउन सक्दो कोसिस गरेका छन् भने नसकेपछि ठूलाबडा र पहुँचवालालाई पुकार्नेसम्मका प्रयास भईरहेको छ। राज्यले जहाँ बसे पनि न्यूनतम खानेबस्ने व्यवस्था गर्न राहतको बन्दोबस्त गर्ने घोषणा गरे पनि मजदुरहरू खान नपाएर अलपत्र परेको घट्ना सार्वजनिक भईरहेको छ। राजधानीमा कार्यरत मजदुर लकडाउनको पर्वाह नगरी लावालस्कर लागेर सुनसरी र झापासम्म, भारतका ज्यालादारी मजदुर सीमानाकादेखि दाङ र गड्डाचौकीसम्म हिडेर घर आउन घट्ना त्यसकै उदाहरण हुन्।
यस्तो समस्याबाट बचाउन उदयपुरको लिमचुङबुङले गाउँपालिकाबासी जनताको पहिचान गर्दै बसेकै ठाउँमा राहतको व्यवस्था गर्ने अभियान थालेको छ। देशका विभिन्न सहर बजारमा श्रम मजदुरी गर्दै आएका गाउँलेलाई अप्ठेरो नपरोस् भनेर विवरण संकलन गर्दै राहतको व्यवस्था गर्न सम्बन्धित स्थानीयतहलाई अनुरोध गर्ने गरेको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। उनका अनुसार खासगरी राजधानीलगायत विभिन्न बजारमा दैनिक ज्याला मजदुरी गरिखाने तप्काको खोजी गर्दै प्राप्त विवरण अनुसार राहत उपलब्ध गराउन थालिएको छ।
लकडाउनमा फसेका कारण दैनिक ज्याला मजदुरी गरिखाने गाउँबासी भोको बस्न नपरोस् भनेर उनीहरुको पहिचान गर्न विवरण संकलन गर्न थालेको अध्यक्ष राईले बताए। गरिबीकै कारण मजदुरी गर्नुपर्ने बाध्यता आईपर्ने श्रमिकहरु राज्यको पहुँचभन्दा बाहिर हुनेहुदाँ सरकारले घोषणा गरेको राहत सहजरुपमा पाउन नसक्ने हुँदा गाउँपालिकाले यो अभियान थालेको अध्यक्ष राईको भनाई छ।
काठमाडैंका बिभिन्न निर्माणक्षेत्रमा खट्ने गाउँपालिकाबासी मजदुरहरुको विवरण लिँदै सम्बन्धित स्थानीयतहका जनप्रतिनिमार्फत राहत उपलब्ध गराउने कार्य भईरहेको उनले बताए। ‘जो जो जहाँ श्रम गर्दै थिए, उनीहरुको पहिचान गरी त्यहीका जनप्रतिनिधिमार्फत राहत उपलब्ध गराउन आग्रह गरिएको छ’ अध्यक्ष राईले भने ‘अहिलेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका श्रमिकको विवरण लिएर राहत उपलब्ध गराइसकियो। अरू विवरण पनि आउँदैछ।’
काठमाडौं उपत्यका, सदरमुकाम गाईघाट, विराटनगर, धरानलगायत बिभिन्न सहरमा झण्डै ७ सय बढी लिमचुङबुङका जनता मजदुरीमा रहेको अनुमान गरिएको उनले बताए। तर, यकिन संख्या भने अझै पत्ता लागिसकेको छैन। लकडाउनले फसेकाहरुको नाम, ठेगाना र संख्या यकिन गरेर तत्तत् ठाउँमा सुलभ र सहजरुपमा राहत उपलब्ध गराउन त्यहीँका जनप्रतिनिधिलाई टेलिफोन, मेसेन्जर, भाईवर र फेसबुकमार्फत अनुरोध गर्ने गरिएको छ।
गाउँपालिकाबासी श्रमिक जहाँ भए पनि भोको बस्न नपरोस् भनेर अभियान थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताए। उनका अनुसार सम्बन्धित स्थानीयतहलाई आग्रह गरे अनुसार श्रमिकहरुले राहत सुविधा पाउन थालिसकेका छन्। ज्याला मजदुरी गर्न घर छाडेर राजधानी पुगेका उनीहरु लकडाउनले बाहिर निस्कन नपाउँदा धेरैको चुल्होमा आगो बल्न छाडेको खवर आएपछि यस्तो अभियान थालिएको उपाध्यक्ष रमिला राईले बताएकी छिन्।
प्रकाशित: ३० चैत्र २०७६ १२:११ आइतबार