४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

आदिवासी जनजाति चलचित्र महासंघले बाड्यो स्वास्थ्य सामग्री

काठमाडौं – आदिवासी जनजाति चलचित्र महासंघले नेपालका विभिन्न अस्पतालहरूमा पिपिई लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ। विश्वभर महामारीको रूपमा फैलिएको  कोरोना भाइरस (कोभिड–१९) को संभावित जोखिम न्यूनीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सहयोगमा आवश्यक सामग्री वितरण गरेको हो।  

नेपालका अधिकांश अस्पतालहरूमा कोरोना संक्रमित विरामीलाई चेक जाँच तथा उपचारको लागि पिपिई अभाव भएकोले नेपालमा उपचारका लागि खटिने स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन सहयोग गरेको चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले बताए।

‘अहिले नेपालमा पिपिईलगायतका सामग्रीको अभाव छ, हाम्रो स्वास्थ्य सेवासम्बन्धी सिस्टम कमजोर छ। त्यो हामी बुझ्छौं, आ–आफ्ना ठाउँबाट सहयोग गर्नु जरूरी छ, त्यसैले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनको लागि स्वास्थ्य सामग्रीको सहयोग गरिएको हो’, अध्यक्ष सुनुवारले भने। 

यतिबेलाको घडीमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले उपलब्ध गराएको यो सामग्रीले अस्पतालका  स्वास्थ्यकर्मीका लागि  सहयोग पुग्ने उनको विश्वास छ। 

उनका अनुसार महासंघले २ सय ५० थान पिपिई, ५ सय थान मास्क, २० थान सेनिटाईजर वितरण गरेको हो। सो सामग्रीहरू काठमाडौंका सशस्त्र प्रहरी बलको नेपाल एपिएफ अस्पताल बलम्बु, धुलिखेल हस्पिटल धुलिखेल, कान्ति बाल अस्पताल महाराजगन्ज, मेडिकियर अस्पताल चाबहिल, स्तुपा सामुदायिक अस्पताल बौद्घ, सेचेन क्लिनिक तथा हस्पिटल बौद्घ, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली दिइएको छ।

काठमाडौंका बाहिरका विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, र सुदुरपश्चिम प्रदेशकामा सेती प्रादेशिक अस्पताल धनगढीलाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको हो। 

प्रकाशित: २९ चैत्र २०७६ ११:३७ शनिबार

कोभिड–१९ स्वास्थ्य पिपिई