ताप्लेजुङ- भारतबाट फर्किएका एक नेपाली नागरिकमा कोरोना संक्रमण भएको पुष्टी भएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले भारतसहित तेस्रो मुलुकबाट आएका नेपालीहरुप्रति कडा निगरानी सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार शुक्रबारसम्म भारतसहित तेस्रो मुलुकबाट ६० जना ताप्लेजुङ भित्रिएका छन्। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको दैनिक सुक्ष्म समिक्षा बैठकमा प्रजिअ निरौलाले चैत ११ देखि शुक्रबारसम्म भारतसहित तेस्रो मुलुकबाट ६० जना नेपाली नागरिक जिल्ला भित्रिएको जानकारी दिए।
ति मध्ये चैत ४ गते कतार एअरवेजको क्युआर ६५२ नम्बरको जहाजमार्फत आएका एक जना १० दिनको क्वारेन्टाइन बसाईपछि घरमै क्वारेन्टाइन बस्ने गरी क्वारेन्टाइनमुक्त भएको समेत प्रजिअ निरौलाले बताए। उनका अनुसार भारतसहित तेस्रो मुलुकबाट आएका ६० मध्ये ५६ जना भने होम क्वारेन्टाइनमा रहेका छन्। २ जना फक्ताङ्लुङस्थित तापेथोक र १ जना सिदिङ्वा गाउँपालिकाको साब्लाखु भज्याङ्मा रहेको क्वारेन्टाइनमा रहेको उनले बताए्। होम क्वारेन्टाइनमा रहेकाहरुको हुलिया खुल्ने पूर्ण विवरण रहेकोले उनीहरुसंग दैनिक स्वास्थ्य अवस्था र बसाईका बारेमा नियमित जानकारी लिने कार्य भईरहेको समिक्षा बैठकमा प्रजिअ निरौलाले जानकारी गराएका थिए।
दैनिक कामको समिक्षा र आगामी कामको योजना बनाउन कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठक हरेक दिनको १२ बजे बस्ने गरेको छ। प्रजिअ निरौलाले पाथीभरा याङ्वरक गाउँपालिकाको तिरिङ्गेमा भारत लगायतका तेस्रो मुलुकबाट फर्किएका २ जना रहेको भन्ने जानकारी प्राप्त हुनासाथ उनीहरुका बारेमा खोजी सुरु गरिएको जानकारी दिए।
प्रकाशित: २१ चैत्र २०७६ १०:१५ शुक्रबार