१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बेनी अस्पतालमा औषधि अभाव, ९६ मध्य ३० प्रकारका औषधि मात्रै उपलब्ध

बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधि अभाव भएको छ। सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन्।

निःशुल्क वितरण गर्ने औषधि बीमा सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनाले समस्या भएको बेनपा–४ का रमेश क्षेत्रीले गुनासो गरे। बीमाबाट पाइने केही औषधि भदौ १ देखि सरकारले निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएका उनको भनाइ छ।

अस्पतालको औषधि स्टोर शाखा प्रमुख तथा सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले गण्डकी प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमा औषधि नपठाएकाले अभाव भएको बताइन्। ‘सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधि हामीले टेन्डर गरेर खरिद गर्न पाइँदैन। प्रदेश सरकारले समयमै औषधि नपठाउँदा समस्या भएको हो’, उनले भनिन्।

प्रदेश सरकारसँग औषधि पठाउन माग गरे पनि सुनुवाइ नभएको बेनी अस्पतालका प्रमुख डा. अञ्जु थापाले बताइन्। उनले प्रदेश सरकारसँग चालु आर्थिक वर्षको सुरुआतमै औषधि माग गरिए हालसम्म प्राप्त हुन नसेको बताइन्।

निःशुल्क उपलब्ध नहुँदा नियमित औषधि सेवन गर्नुपर्ने मानसिक, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगलगायत नसर्ने रोगका बिरामी बढी प्रभावित भएका डा. थापाले जानकारी दिइन्।

सिटामोल, जीवनजललगायत पाँच÷दश वटा आधारभूत औषधिबाहेक अन्य औषधि सधैँ मौज्दात नहुने, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खाने औषधि दुई महिनायता अस्पतालमा नआएको जनाइएको छ।

प्राप्त जानकारीअनुसार मधुमेहका बिरामीलाई दिइने विभिन्न औषधिमध्ये पाँच सय एमजीको मेटफरमिनबाहेक अर्को औषधि छैन। मेटफरमिन पनि छ महिनाको अन्तरमा आउँछ। त्यस्तै उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खानुपर्ने एट्रोभास्टिनको सबै मात्रा पछिल्लो नौ महिनादेखि अस्पतालमा उपलब्ध हुन सकेको छैन। बेनी अस्पतालमा म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक दुई सय ५० जनाले सेवा लिने गरेका छन्। रासस  

प्रकाशित: २७ भाद्र २०८१ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App