१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सेवा हब बनाइँदै लुम्बिनी प्रादेशिक अस्पताल

फाइल तस्वीर

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै सुविधासम्पन्न र ठुलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति गरिँदै छ। १२ सय शय्यामा स्तरोन्नति हुन लागेको अस्पतालको पूर्वाधार निर्माणका काम अगाडि बढेका छन्। यो अस्पताल एक सय १५ वर्षअघि बुटवलमा स्थापना भएको हो।

१९६७ साल फागुन १५ गते ६ वटा शय्याबाट सुरु भएको अस्पतालमा हाल पाँच सय शय्या छन्। लुम्बिनी प्रदेश सरकारले यो अस्पताललाई गौरवको आयोजनामा राखेर १२ सय शय्यामा स्तरोन्नति गर्न लागेको हो।

आयोजनाअन्तर्गत अस्पतालको बाह्रतले भवनको एक कार्यक्रमबिच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरे। गत वर्षको पुसमा ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भए पनि औपचारिक रूपमा शिलान्यास गरिएको हो।

अस्पताल भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले आयोजनाको काम समयमै सक्न र गुणस्तरमा कुनै सम्झौता नगर्न सम्बन्धित पक्षलाइ निर्देशन दिए।

महत्वपूर्ण आयोजनाहरूमा ढिलासुस्ती र गुणस्तरहीन काम हुने गरेको भन्दै उनले भने, ‘निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्नुस्, गुणस्तरमा कुनै प्रकारको सम्झौता नगर्नुहोला।’

जनस्तरबाट समेत विशेष निगरानी आवश्यक भएको उनले बताए।

त्यसअघि निर्माण कन्पनीका प्रतिनिधिले ठेक्का अवधि पाँचबर्से भए पनि तीन वर्षमै निर्माण सम्पन्न गरिसक्ने भनेर भाषण गरेपछि अर्थमन्त्री पौडेलले बोलेर होइन काम गरेर देखाउन निर्देशन दिएका हुन्।

प्रदेश सरकार र प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पनि तोकिएको मापदण्डअनुरूपको काम तोकिएकै समयमा सम्पन्न गराउनेतर्फ गम्भीर हुन आग्रह गरे। पौडेलले यो अस्पताल पश्चिम नेपालकै गेमचेन्जर आयोजना हुने दाबी पनि गरे।

पहिलो चरणमा ६ अर्ब १८ करोड ७५ लाखको लागतमा बाह्रतले भवन निर्माण हुन लागेको हो। बाह्रतले भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्यापासाइट र नेपाली कम्पनी आशिष, रेलिगेर भेन्चरसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते ठेक्का सम्झौता गरेको छ। ठेक्का अवधि पाँच वर्षको छ।

२०८५ पुससम्म अस्पताल भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। अस्पालका पुराना संरचना हटाउने र भवनका लागि पायलिङको काम भइरहेको छ।

प्रदेश सरकारले यो वर्ष एक अर्ब ८० करोड बजेट छुट्याएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो आयोजनाका लागि बजेटमा कमी हुन नदिने बताए।

अस्पतालको स्तरोन्नतिले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने प्रदेशवासीको अधिकार सुुनिश्चित हुने उनले बताए। लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती, प्रदेशका स्वास्थ्यमन्त्री खेम सारू, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बाह्रतले अत्याधुनिक भवन निर्माणसँगै लुम्बिनी प्रादेशिक अस्पताल देशकै नमुना अस्पतालका रूपमा स्तरोन्नति हुने बताए।

बाह्रतले भवनको दुई तला अन्डरग्राउन्ड हुनेछ। छतमा हेलिप्याड हुने छ। हेलिप्याडबाट इमर्जेन्सीसम्म पुग्न सुविधासम्पन्न लिफ्ट रहने प्रदेशको पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए।

१२ सय शय्याको भवनमा अत्याधुनिक बहिरङ्ग (ओपिडी) सेवा, इमर्जेन्सी सेवा, इन्डोर सेवा, ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन्। हाल यी सेवा प्रदान हुँदै आएका भवनबाट प्रसुती, महिला तथा बाल रोग सेवा, डाइग्नोस्टिक एन्ड रिर्सचलगायतका सेवा उपलब्ध हुनेछ। क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँचतले भवन बन्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए।

१२ सय शय्यामा स्तरोन्नति गर्न लागिएको आयोजनाको पूर्वाधार र उपकरण र व्यवस्थापनका लागि आठ अर्ब ९९ करोड ७५ लाख बढी लागत लाग्ने अनुमान गरिएको छ। २०७६ सालमा प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको ड्रिम प्रोजेक्टका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजनाको सुरुवात गरेका थिए।

अस्पतालको रेकर्डअनुसार लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशका साथै सिमावर्ती भारतीय क्षेत्रका नागरिकले समेत यो अस्पतालबाट सेवा लिँदै आएका छन्। अस्पतालको गुरुयोजना सम्पन्न हुँदा पश्चिम नेपालका नागरिकका लागि गुणस्तरीय सेवामा सहज पहुँच विस्तार हुने र बुटवल गुणस्तरीय स्वास्थ्य सेवाका लागि ‘हब’ का रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित: १७ भाद्र २०८१ ०७:४८ सोमबार

#Convenient #Lumbini Regional Hospital