४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘शाम्बाला’ ले बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने

निर्देशक मीन भामले डा. भगवान् कोइरालाको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार उनले निर्देशन गरेको ‘साम्बाला’ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक भामले अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

आगामी भदौ २८ देखि प्रदर्शनमा आउने ‘शाम्बाला’ फिल्मका नौवटा थांका बिक्री गरेर प्राप्त रकम अस्पताललाई सहयोग गर्ने बताए। उपल्लो डोल्पाका कलाकारहरू ‘शाम्बाला’ फिल्मका लागि २२ क्यारेटको सुनको जलपसहितको १० वटा थांका तयार गरेका थिए। ‘साम्बाला’ फिल्मको पोस्टरसहितको थांकालाई निर्देशक भामले राख्नेछन्। 

निर्देशक भामका अनुसार ‘शाम्बाला’ फिल्मको सुरुवाती दृश्य सोही थांकाहरूबाट हुनेछ। उपल्लो डोल्पामा खिचिएको फिल्म रिलिजसँगै ती थांका विभिन्न देशमा प्रदर्शनीमा राखिने छ।

‘बुद्धिजमसँग जोडिएका यी थांका मेरो फिल्म निर्देशन, लेखन र फिल्म कर्मको यात्रासँग जोडिएको हुँदा अक्सनमा राख्ने सोचेको थिएँ’, उनले भने, ‘ती थांकाहरू बिक्रीबाट आउने रकम सहयोग गर्ने सोचेको हुँ । हामी कलाकारलाई समाज सेवामा जोडिन मन भए पनि पैसा हुँदैन। त्यसैले मन लागेर समाज सेवा जोडिऔं भन्ने बाटो खोज्दै जाँदा यो आइडिया जुरेको हो।’

डा. कोइरालाले ‘शाम्बाला’ फिल्मले समाज सेवामा जोडिन गरेको प्रयत्नको चर्चा गरे । ‘हामी जुन क्षेत्रमा रहे पनि समग्रमा यो देशका लागि कसरी योगदान दिन सक्छौं भन्ने कुरा मुख्य हो’, उनले भने, ‘नेपाललाई गुणस्तरीय फिल्म निर्माण गर्न सकिने निर्देशक, कलाकार र निर्माता छन् भन्ने कुरा यस फिल्मले देखाएको छ।’

७७औं लोकार्नो फिल्म फेस्टिभलमा ‘शाम्बाला’ फिल्मकी अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ जितेकी थिइन्। बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धातर्फ छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिल्म हो।

प्रकाशित: १३ भाद्र २०८१ ०७:५४ बिहीबार

#Children's-Hospital #Dr. Bhagawan Koirala