४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ। यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो।

अस्पतालका उपनिर्देशक एवं युरोलोजिस्ट डा. उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए। यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरू होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यु च्यातिने सम्भावना हुने जनाउँदै उनले टिएफएल निरन्तर बिममा निस्कने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए। उनले भने, ‘यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तस्राव अति न्यून हुन्छ। टिस्यु पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ।’

अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा. नेपालले यस्ता बिरामीका लागि यो प्रविधि लाभदायी हुने बताए।

उनले भने, ‘एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनः शल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ।’ मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीनवटा शल्यक्रिया गरिएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आधुनिक उपकरणह भित्र्याएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरू लागि परेको बताए।  अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ।

 –रासस

प्रकाशित: २६ श्रावण २०८१ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App