१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मुगुमा 'मौसमी ज्वरो' ले तीन जनाको मृत्यु, घरघरमा बिरामी

तस्बिर : नागरिक

हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका ६ पुरुमुरु गाउँमा मौसमी ज्वरोका कारण तीनजनाको मृत्यु भएको आशंका गरिएको छ।

उनीहरूको एक साताअघि मृत्यु भएको हो। मृत्यु हुनेमा सोरु गाँउपालिका ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, वर्ष ७५ की कृति छत्याल र वर्ष २४ की कुसुम ढोली छन्। पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायतका दर्जन बढी बस्तीका घरघरमा ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने र नाक–मुख सुख्याजस्ता लक्षण देखा परेका छन्।

‘घरमा रहेकी माइली बुहारीलाई एक हप्तादेखि रुघा, खोकी, ज्वरो आउने, खान मन नलाग्ने लक्षण देखिएपछि गाउँपालिका केन्द्रनजिकैको मेडिकलमा लगेर औषधोपचार गराएँ। सञ्चो नभएपछि मुगु जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो। घरमा भाइबुहारी र मलाई पनि रुघाखोकीले थला पारेको छ’, सलबहादुर ढोली बताउँछन्।

उनी भन्छन्, गाँउभरि बिरामी छन्। सोरु गाउँपालिकाका विभिन्न बस्तीमा भाइरल ज्वरो र खोकीका बिरामी बढ्दै गएको र मृत्युसम्म भएको थाहा पाएपछि जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर मेडिकल डाक्टरले स्वास्थ्य क्याम्प राखेर अनुसन्धान गरिरहेका छन्।

बिरामीको खकार र रगत जाँच गरेपछि मात्र गाउँका मानिस बिरामी भएको कारण र रोग पत्ता लाग्ने छ। लक्षण हेर्दा मौसम परिवर्तनसँगै सिजनल इनफ्लुएन्जा भाइरल ज्वरो देखिएको सोरु गाँउपालिका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए। उनले भने, ‘हामीले माघ ९ देखि उक्त ठाउँमा स्वास्थ्य क्याम्प गरेर नमुना लिएका छौँ। रिपोर्ट सुर्खेत, नेपालगन्ज र काठमाडौं पठाउने तयारी गरिरहेका छौं। अन्य वडामा पनि मिल्दोजुल्दो लक्षण देखिन थालेको छ।

यता जिल्ला स्वास्थ्य कार्यालय मुगुका डाक्टरसहितको टोलीले मंगलबार सोरु गाँउपालीका ६ पुरुमुरु र जिमा गाँउका एक सय ५० भन्दा बढीलाई स्वास्थ्य परीक्षण गरी रुघा, खोकी, ज्वरो, शरीर दुख्ने औषधी वितरण गरेको थियो। कोभिड १९, औलोसमेत जाँच गरिएको र कुनै भाइरस नदेखिएको स्वास्थ्यकर्मी बताउँछन्। बिरामीको लक्षण हेर्दा मौसमी भाइरस हुन सक्ने जिल्ला अस्पताल मुगुका डा. कमल ढुंगानाले बताए।

प्रकाशित: ११ माघ २०८० ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App