काठमाडौं- बहुऔषधि प्रतिरोधी क्षयरोगको दुई वर्षसम्म लाग्ने झन्झटिलो पद्धतिको सट्टा छोटो अवधिको उपचार विधि (सर्टर ट्रिटमेन्ट रेजिमेन) नेपालमा समेत सुरु हुने भएको छ । २ वर्ष लामो उपचार विधिको सट्टा सघन र निरन्तर उपचारबाट ९ महिनामै यस्तो क्षयरोगको उपचार सम्भव हुने विधि नेपालमा सुरु हुन लागेको हो ।
क्षयरोगको उपचारमा प्रयोग हुने औषधिले काम गर्न छाडेपछि क्षयरोग बहुऔषधि प्रतिरोधी (एमडिआर) क्षयरोगीको सघन र निरन्तर मिश्रित यस्तो उपचार विधि भिœयाउने नेपाल ३८ औं देश हो ।
दुई वर्षसम्म कडा खालका सुई र अन्य औषधि दिनुपर्ने, प्रत्येक दिन स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा मात्रै औषधि दिनु नपर्ने झन्झटिलो उपचार विधिको सट्टा नवीवनतम विधि ल्याएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । नेपालमा १८ केन्द्र र ८६ उपकेन्द्रबाट वार्षिक करिव ५ सय बहुऔषधि प्रतिरोधी क्षयरोगीको उपचार भइरहेको छ ।
बहुप्रतिरोधी क्षयरोग भएका बिरामीबाट क्षयरोग सारेमा बहुप्रतिरोधी नै सर्ने भएकाले यस्ता बिरामीको उपचार बढी जोखिमयुक्त र संवेदनशील मानिन्छ । क्षयरोगका बिरामीको औषधि अनियमित हुँदा, औषधि कमसल पर्दा र अन्य सावधानी नअपनाए औषधिले काम नगर्ने क्षयरोग एमडिआर विकास हुन्छ । कुल जनसंख्यको ४५ प्रतिशतमा क्षयरोगको किटाणु हुने अनुमान छ । प्रतिरोध क्षमता कमजोर भएको अवस्थामा रोगका लक्षण देखिन थाल्छ । केन्द्रका अनुसार प्रत्येक वर्ष करिव ४५ हजार नयाँ क्षयरोगी देखिने अनुमान भएपछि ३२ हजार हाराहारीमा मात्रै उपचारको दायरामा आउने गरेका छन् ।
तुलनात्मक रूपमा अझै प्रभावकारी मानिने नयाँ पद्धति (सर्टर ट्रिटमेन्ट रेजिमेन)बाट औषधिको साइडइफेक्ट र औषधिबाट उत्पन्न हुने विशाक्तता र विरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्दा हुने झन्झटमा पनि कमी आउने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदारनरसिंक केसीले बताए ।
हाल प्रचलनमा रहेको उपचार विधिमा २० देखि २४ महिनामध्ये १२ महिनासम्म इन्जेक्सन र प्रत्येक औषधि दिनुपर्नेमा नयाँ विधिबाट ४ महिना मात्रै इन्जेक्सन र बाँकी ५ महिना औषधि गरेर ९ महिनाको उपचार हुन्छ । यस्तो उपचारले ठीक नभए दुई वर्षे उपचार विधिमै जानुपर्ने क्षयरोग विशेषज्ञ डा. प्रमोद भट्टले बताए । ‘केही पुराना औषधिसहित नयाँ औषधि र इन्जेक्सनको कम्बिनेशन मिलाएर यो विधिबाट उपचार हुन्छ,’ भट्टले भने ।
परम्परागत उपचार विधिको सफलता दर पनि अन्य देशको तुलनामा नेपालमा राम्रो देखिए पनि लामो र झन्झटिलो उपचार पद्धति भएकाले बिरामीलाई निकै अप्ठेरो परेकोले विश्व स्वास्थ्य संगठनको मान्यतमा नेपाल भिœयाएको डा. केसीले बताए ।
यो विधि लागू गर्नका लागि आवश्यक निर्देशिका, उपचार प्रोटोकल र स्वास्थ्यकर्मीलाई तालिमसमेत दिइसकेको र आगामी सोमबारदेखि नै लागू गरिने केन्द्रले जनाएको छ । सुरुमा काठमाडांै, विराटनगर, बुटवल र नेपालगन्ज गरी चार ठाउँबाट यो उपचार सेवा सुरु गरिने तथा अन्य जिल्लामा समेत विस्तार गर्दै लगिने डा. केसीले बताए । केन्द्रका अनुसार कार्यक्रमका लागि दामियन फाउन्डेसन बेल्जियमले सहयोग गरेको हो । फाउन्डेसनका नेपाल प्रतिनिधि डा. सुशील कोइराला क्षयरोगको उपचारमा यो विधि कोसेढुंगा सावित हुने बताए ।
अर्का विशेषज्ञ डा. भावना श्रेष्ठका अनुसार ९ महिनाको उपचार अवधिमा पनि यस विधिको प्रभाव र परिणामको सफलता दर ८५ प्रतिशतसम्म रहेको बताइन् । सरकारले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ । लक्ष्य कार्यान्वयनको आधार बनाउने पहिलो पटक ५५ जिल्लाका ९९ क्लस्टर छुट्याएर रोगको निदान र परीक्षण गरी बृहत् सर्वेक्षणसमेत सुरु गरिएको सरकारको भनाइ छ ।
नेपालमा २०५३ सालदेखि क्षयरोगका बिरामीलाई उपचार केन्द्रमा ल्याएर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छोटो अवधिको उपचार विधि डट्स सुरु गरिएको थियो । विस २०५८ सालदेखि डट्स विधिलाई देशभर विस्तार गरेपछि क्षयरोगीको संख्यामा उल्लेख्य कमी आएको थियो । उपचारका हुने त्रुटी एवं बिरामीबाट हुने हेलचœयाइँजस्ता कारणले औषधिले काम नगर्ने क्षयरोगसमेत बढ्दै गएको थियो । सो रोक्नका लागि २०६२ सालदेखि बहुऔषधि प्रतिरोधी क्षयरोगको उपचार विधि नेपालमा सुरु भएको थियो ।
पछिल्लोपटक बहुप्रतिरोधी उपचारले समेत काम गर्न छाडेपछि एक्टेन्सिभ्ली ड्रग रेसिस्टेन्स (एक्टेडिआर) क्षयरोगमा परिणत हुन्छ । नेपालमा यस्ता क्षयरोगीको संख्या समेत बढ्दै गएको छ ।
प्रकाशित: १७ पुस २०७४ ०३:३९ सोमबार