१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

चितवनमा रगत अभाव भएपछि झापादेखि आयात

चितवनमा रगतको अभाव भएपछि झापा लगायतका १३ जिल्लाबाट ल्याउने गरिएको छ। रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार बार्षिक ७ हजार यूनिटको हाराहारीमा बाहिरी जिल्लाबाट रगत ल्याउने गरिएको हो।

‘चितवनमा रगतको अभाव दिनहुँ हुन्छ। हामीले झापा, पोखरा लगायत जिल्लादेखि रगत ल्याउनुपरेको छ,’ जिल्ला समन्वय समिति चितवनले राखेको अन्तरक्रिया कार्यक्रममा रगतको अवस्था सुनाउँदै उनले भने ‘दैनिक ५ देखि ७ हजार यूनिट बार्षिक बाहिरबाट नै आउने गरेको छ।’ चितवनमा हाल झापा, बारा, रौतहट, सर्लाही, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लम्जुङ, कास्की लगायतका जिल्लाबाट रगत ल्याउने गरिएको उनले बताए। उनका अनुसार चितवनमा बार्षिक १५ हजार रगत अभाव अपुग हुने गरेको छ।

‘चितवनका अस्पतालमा रगतको माग ५० हजार यूनिट छ। हामीले बाहिरी जिल्लाबाट ल्याएर पनि ४० हजार यूनिटको हाराहारीमा रगत संकलन गर्न सकेका छौँ,’ उनले भने ‘१५ हजार यूनिटको हाराहारीमा जिल्लामा प्रत्येक बर्ष रगतको अभाव हुन्छ।’

चितवनमा अन्य जिल्लाको तुलनामा रगतको माग अधिक छ। यहाँ दुई ठूला मेडिकल कलेज, संघीय अस्पताल, क्यान्सर अस्पताल र दुई दर्जनको हाराहारीमा निजी अस्पताल रहेका छन्। अर्को तर्फ दैनिक जसो हुने सवारी दुर्घटनाका कारण बिरामीको चाप उच्च छ। जिल्लामा पूर्व पश्चिम राजमार्गको बारा, पर्सा, रौतहट, सर्लाही सम्मका दुर्घटनाका विरामी आउने गर्दछन्। क्यान्सरका बिरामी भारत लगायतका अन्य मुलुकबाट समेत आएको पाइन्छ। सुत्केरी महिलाहरुका लागि पनि उत्तिकै रगतको अभाव हुन्छ। अस्पताल र विरामीको संख्या बढ्दा रगतको माग अनुसार पु¥याउन कठिन भएको रेडक्रस सोसाइटी चितवनका सभापति हरीप्रसाद पौडेल बताउँछन्।

‘रगतको व्यवस्थापन गर्न सकेनौँ भने अस्पताल र चिकित्सक भएको अर्थ हुँदैन,’ उनले भने ‘यसमा स्थानीय पालिकादेखि निजी अस्पतालहरुको रक्तदानका लागि जनचेतना अभिबृद्धि गर्ने कुरामा ध्यान जानुपर्दछ।’ स्थानीय तहले रक्तदान गर्ने व्यक्तिलाई खाजाको व्यवस्था गर्नुपर्ने उनले बताए।

रेडक्रसले भरतपुर अस्पताल, क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा रगत वितरण गर्ने यूनिटहरु स्थापना गरेको छ। संकलन गर्ने मेसिन कम हुँदा समस्या भएको उनले बताए। ‘रगतको मागलाई धान्न एक पोका रगतले तीन जना व्यक्तिलाई पुग्ने गरि प्रशोधन गर्न सकिन्छ। त्यसका लागि स्तरीकृत मेसिनको आवश्यक पर्छ,’ पौडेलले भने, ‘यस्ता मेसिन खरिद गर्ने बजेट नहुँदा समस्यामा छौँ।’

रेडक्रसले रगत प्रशोधन र प्याकेजिङ शुल्क भनेर लिने रकम २०६६ सालदेखि बृद्धि गरेको छैन। अहिलेको मंहगीको समयमा खर्च धान्न नै कठिन भएको उनले बताए। अहिले स्थानीय तहले रगत संकलनलाई भन्दा पनि पूर्वाधार निर्माणलाई बढी ध्यान दिएका छन्। आगामी बजेट तथा नीतिमा रक्त संकलनमा प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न उनले स्थानीय तहलाई सुझाव दिए। बागमती प्रदेश सरकारले रगत निःशुल्क गरेको छ। तर, स्थानीय तहले आफ्नो वडासम्म यो विषय पु¥याउन नसकेको उनले बताए।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजि महत्तोले माडीमा रक्तसंकलन केन्द्र बनाउन लगेको बताएकी छन्। ‘माडी अस्पतालमा शल्यक्रियादेखि रगत दिने लिने काम भइरहेको छ,’ उनले भनिन्, ‘संकलन केन्द्रको अभाव छ। यस तर्फ हामी अगाडि बढ्दैछौँ।’ उनले नगरपालिकाको बजेट न्यून हुँदा समस्या भएको बताइन्। ‘सरकारले स्थानीय तहलाई सम्पूर्ण अधिकार दिएको भनेको छ। तर, बजेट केन्द्रमा मात्र थुपारेको देखिन्छ,’ उनले भनिन् ‘३१ करोडले हामी कति काम गर्न सक्छौँ। शिक्षा, स्वास्थ्य, कृर्षि, पयर्टन, खेलकुद सबै हेर्न परेको छ।’

जिल्ला समिति चितवनले राखेको अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी लगायतको उपस्थिती रहेको थियो। उनीहरुले रगतको मागलाई ध्यान दिएर आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने बताएका थिए। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रममा भएको थियो।  

प्रकाशित: २४ जेष्ठ २०८० १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App