८ वैशाख २०८१ शनिबार
शिक्षा

यस कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सकिएनः शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका हुन्। उनले पाठ्यपुस्तक छाप्ने कागज अन्तर्राष्ट्रिय बजारबाट ल्याउनुपर्ने र सो को आपूर्ति हुन नसक्दा छपाईमा ढिलाइ भएको बताए।

त्यसैगरी पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री लिमिटेडका कर्मचारीहरु स्थानीय तह निर्वाचनमा जानुपर्ने स्थिति भएका कारण पनि असर परेको उनले उल्लेख गरे। मन्त्री पौडेलले पाठ्यपुस्तक उपलब्ध गराउन १५ दिन मात्रै ढिला भएको दाबी गरे।

मन्त्री पौडेलले बालविकास शिक्षकलाई संघीय सरकारबाट २ हजार रुपैयाँ थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको बताए। उनले हाल विद्यालयमा कार्यरत पूर्व प्राथमिक शिक्षक, कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइएको जानकारी दिँदै सो सेवा शर्त निर्धारण भए पश्चात सोही अनुरुप कर्मचारीको तलब निर्धारण हुने गरी अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइने पनि बताए।

त्यसैगरी उनले संघीय शिक्षा ऐनको मस्यौदा तयार भैसकेको र सहमतिका लागि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक छलफल भैरहेको बताए। सहमतिपछि सदनमा प्रस्तुत गरिने उनले बताए।

मन्त्री पौडेलले विद्यालय तह पूरा गर्दा विद्यार्थीमा कुनै प्रकारको व्यावसायिक सीप प्रदान गरी शिक्षालाई रोजगारमूलक बनाउन १ लाख विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गरिने बताए। त्यस्तै युवालाई छोटो अवधिको रोजगारमूलक तालिम दिने कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

विद्यालय तहमा नै विद्यार्थीलाई व्यवसाय प्रति आकर्षित बनाउन सिक्दै कमाउँदै कार्यक्रम चालु वर्ष १४० विद्यालयमा सुरु गरिएको र आगामी वर्ष थप १००  विद्यालयमा विस्तार गर्नेगरी थप बजेट विनियोजन गरिने उनले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App