७ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

ताप्लेजुङमा ९७ प्रतिशत जनसंख्या साक्षर

ताप्लेजुङलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ। प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रताप्रकाश हाङ्गामले ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

यसअघि साक्षरता अभियान जिल्ला समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र अनुसारका प्रक्रिया र प्रावधान पूरा भएकोले ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्न प्रस्ताव गरेका थिए।

साक्षर नेपाल वर्ष २०७६ को अवधारणा अनुसार कुनै स्थानीय तह वा जिल्लामा बसोबास गर्ने १५ वर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका/जिल्ला घोषणा गर्न सकिने छ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख एवम्  साक्षरता अभियान जिल्ला समन्वय समितिका सदस्य सचिव योगेश्वर भट्टराईका अनुसार यहाँ १५ वर्ष र सो भन्दा माथिको उमेर समूहका ९६.४५ प्रतिशत जनसंख्या साक्षर भएका छन्।

उनका अनुसार यहाँ १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या १ लाख २ हजार ३ सय १९ रहेको छ। त्यसमध्ये ९८ हजार ५ सय १४ जना साक्षर भएका छन्। यो समूहका ३ हजार ७ सय २२ जना अझै साक्षर हुन बाँकी रहेको र उनीहरुलाई अबको वर्षदिन भित्र साक्षर बनाउन अभियान चलाइने साक्षरता अभियान जिल्ला समन्वय समितिले जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भट्टराईका अनुसार फक्ताङ्लुङ गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या ११ हजार ४ सय ५२ रहेकोमा १० हजार ९ सय २८ जना साक्षर भएका छन्। त्यहाँ ५ सय २४ जना अझै साक्षर हुन बाँकी रहेको छ।

यस्तै सिरिजङ्गा गाउँपालिकामा यो समूहका १० हजार २ सय ३२ जनसंख्यामध्ये ९ हजार ९ सय ६१ जना साक्षर भइ २ सय ७१ जना निरक्षर रहेका छन्। आठराइ त्रिबेणी गाउँपालिकामा यो समूहका ७ हजार ९ सय ५६ जनसंख्या रहेकोमा ७ हजार ६ सय २९ जना साक्षर र ३ सय २७ जना निरक्षर रहेका छन्।

मैवाखोला गाउँपालिकामा उक्त समूहका १२ हजार ८९ जनसंख्यामध्ये ११ हजार ५ सय ५६ जना साक्षर भएका छन्। त्यहाँ ६ सय ३० जना निरक्षर रहेको पालिकाको तथ्याङ्क अनुसार देखिएको भट्टराईले बताए।

यस्तै मिक्वाखोला गाउँपालिकामा उक्त समूहका ५ हजार ९ सय ६१ जानसंख्यामध्ये ५ हजार ७ सय ४९ जना साक्षर भइ २ सय १२ जना निरक्षर रहेको तथ्याङ्क रहेको छ। पाथीभरा याङ्वरकमा १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार २ सय ८७ जनसंख्यामध्ये ११ हजार ९ सय ६१ जना साक्षर भइ ३ सय २६ जना निरक्षर देखिएका छन्।

मेरिङ्देन गाउँपालिकामा उक्त समूहका ८ हजार ३ सय ४९ जनसंख्या रहेकोमा ८ हजार ३ सय ९२ जना साक्षर भइ ४ सय ५ जना निरक्षर रहेका छन्। यस्तै सिदिङ्वा गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समूहका ८ हजार २ सय ११ जनसंख्या रहेकोमा ७ हजार ८ सय ५ जना साक्षर भइ ४ सय ६ जना अझै निरक्षर देखिएका छन्।

यो समूहका निरक्षरलाई साक्षरताको अभियानमा सामेल गराउन तथा यो उमेर समूहका बाँकी निरक्षरहरुलाई समेत साक्षर बनाउने अभिभारा पूरा गर्नु अबको दायित्व रहेको कार्यक्रमका प्रमुख अथिति एवम् प्रदेशका मन्त्री हाङ्गामले बताए।

कार्यक्रममा पूर्व राज्यमन्त्री मणि लामा, प्रदेशसभाका सांसदद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवा, फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे, आठराइ त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराई, फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका अगुवा, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृतहरु, विभिन्न पालिकाका वडाध्यक्षसहितका जनप्रतिनिधिहरु, नेपाल शिक्षक महासंघ, जिल्ला प्याब्सनसहित पेशागत संघसंगठनका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।

वक्तृत्वकलामा बिजु भइन् प्रथम  

'साक्षर नेपाल, समृद्धिको आधार' शीर्षकमा पालिकास्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगितामा फुङ्लिङस्थित भानुजन माविकी बिजु राई प्रथम भइन्। यस्तै फक्ताङलुङ गाउँपालिका स्थित सिँवा माविकी जानुका लामगादे द्वितीय हुँदा पाथीभरा याङ्वरक गाउँपालिकास्थित थेचम्बु माविका सौगात बिष्ट तृतीय भए।

प्रथम हुनेले नगद ८ हजार, द्वितीय हुनेले ७ हजार र तृतिय हुनेले नगद ६ हजार रुपैयाँका साथ प्रमाणपत्र पाए। नौं स्थानीय तहमध्ये सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका बाहेक वक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य ४ पालिकाका सहभागी विद्यार्थीलाई समेत प्रोत्साहन स्वरुप नगद तथा प्रशंसापत्र दिइएको थियो।

वक्तृत्वकलाका लागि निमित्त जिल्ला समन्वय अधिकारी मुक्तिनाथ सुवेदी, जिल्ला सह न्यायधिवक्ता पुष्पराज बाँस्तोला र नापी अधिकृत विज्ञान बञ्जरा रहेको निर्णायक समिति बनेको थियो।

पालिका र सामुदायिक सिकाइ केन्द्रले पाए प्रमाणपत्र

साक्षर जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यहाँका सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई प्रशंसापत्र प्रदान गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भट्टराईका अनुसार ताप्लेजुङका १७ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन्।

कार्यक्रममा विभिन्न जातीय झाँकी प्रस्तुत गरिएको थियो भने विभिन्न विद्यालयले अप्रतियोगी नृत्य समेत प्रस्तुत गरेका थिए। उद्घाटन समारोह अघि जातीय झाँकीसहित नगरपरिक्रमा गरेर जिल्ला समन्वय समितिको प्रांगणमा घोषणा समारोह भएका थियो। 

प्रकाशित: २३ चैत्र २०७८ १२:२६ बुधबार

ताप्लेजुङ साक्षर जिल्ला घोषणा