२१ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

टोकियो– गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हाल जापानमा अध्ययनरत ३० जना जेहेन्दार जापानी भाषा विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्था एनआरएनए जापानले समस्या न्यूनिकरणमा अग्रसरता देखाएको हो। 

जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज वा विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ। तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जनालाई मासिक ३ मान (३० हजार नेपाली रुपैयाँ) बराबरको छात्रवृत्ति प्रदान गर्न लागिएको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिए।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले अक्टोबर १५ भित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ। जापानको जुनसुकै क्षेत्रमा भाषा स्कुल अध्ययनरत बिद्यार्थीले आवेदन दिन सक्नेछन्। छात्रवृत्तिको लागि छनौट भइसकेपछि सम्बन्धित बिद्यार्थीको व्यक्तिगत बैंक खातामार्फत प्रत्येक महिना ३० हजार जापानी येनका दरले रकम प्रदान गरिने छ। उक्त विद्यार्थीले छात्रवृत्ति लिन शुरू गरेपछि जापान सरकारको नियम अनुसार २८ घण्टा भन्दा बढी समय काम गर्न पाउने छैनन्।

गत जुन १९ तारिक एनआरएनए जापान अध्यक्ष टाशी वांग्दी लामा र ईन्टरनेशनल ह्युम्यान रिसोर्स नेटवर्कसंग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत योसिहारु कोमियामा बीच भएको दोहोरो सम्झौतालाई कार्यान्वयन गर्दै पहिलोपटक उक्त संस्थामार्फत एनआरएनए जापानले हाललाई ३० जना नेपाली जेहेन्दार तथा लगनशील बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो।

यसको प्रभावकारिता बढेमा आगामी दिनमा यो सेवा अझै थप गर्दै लैजाने एनआरएनए अध्यक्ष टाशी वाग्दी लामाले बताए। लामाका अनुसार सन २०१८ भित्रै यो सुबिधा शुरु गरिने छ।

छात्रवृत्ति छनौट गर्दा बिद्यार्थीको बायोडाटा, नेपालमा अध्ययन गरेको प्रमाणपत्र र हाल अध्ययनरत स्कुलको हाजिर प्रतिशत संगै सम्बन्धित बिद्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेजसंग सम्पर्क समेत गरेर सोधिने हुनाले छनौट प्रक्रिया पारदर्शी हुने एनआरएनए प्रवक्ता बस्नेतको दाबी छ।

प्रकाशित: १७ आश्विन २०७५ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App